close

दरवाङमा २० शय्याको आइसोलेसन तयार

दरवाङमा २० शय्याको आइसोलेसन तयार

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिकाले कोरोना भाइरसका संक्रमितको उपचार र व्यवस्थापनका लागि २० शय्या क्षमताको आइसोलेसन निर्माण गरेको छ । गाउँपालिका केन्द्र दरवाङको छ्यारछ्यारेस्थित बहुउद्देश्यीय सभाहलमा आइसोलेसन निर्माण गरेको हो ।


यसअघि गत कात्तिकमा जनप्रिय माविको भवनमा स्थापना गरिएको आइसोलेसन र कोरोना अस्पतालका सामग्री प्रयोग गरेर सभाहलमा आइसोलेसन तयार पारेको उपाध्यक्ष खरमाया बिटालुले बताइन् ।

 

३ महिनाका लागि स्थापना भएको कोरोना अस्पताल भर्ना गरिएका चिकित्सक र स्वास्थ्यकर्मीको करार सेवावधि सकिएपछि तथा कोरोना संक्रमिट भेटिन छाडेपछि माघमा बन्द भएको थियो ।

 

पछिल्लो समय दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि आइसोलेसन पुनस्र्थापना गरिएको हो । आइसोलेसनमा अक्सिजन सिलिन्डर, औषधीलगायत कोरोना संक्रमितको उपचारमा प्रयोग हुने सामग्री ब्यवस्थापन गरिएको छ ।

 

दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक र गाउँपालिकाका स्वास्थ्यकर्मीलाई परिचालन गरेर आइसोलेसनमा भर्ना हुने संक्रमितको उपचार गरिने गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । उनका अनुसार इलाका प्रहरी कार्यालय दरवाङबाट आइसोलेसनको सुरक्षा व्यवस्थापन हुनेछ । 

 

गाउँपालिकाको केन्द्र, सुरक्षाकर्मी, चिकित्सक र स्वास्थ्यकर्मीको पहुँच हुने, व्यवस्थाकीय हिसाबले सहज हुने भएकाले बहुउद्देश्यीय सभाहललाई आइसोलेसन बनाइएको हो । गाउँपालिका र प्रदेश सरकारको साझेदारीमा हालै सभाहल निर्माण भएको थियो ।

 

संक्रमण दर तीव्र रूपमा फैलिन थालेपछि म्याग्दीका स्थानीय तहहरूले कोरोना अस्पताल पुनः सञ्चालन गर्न थालेका छन् । बेनी नगरपालिकाले बेनी अस्पताल परिसरमा निर्माणाधीन भवनमा २० शय्या क्षमताको आइसोलेसन निर्माण गरिरहेको छ ।

 

यसअघि शैक्षिक तालिम केन्द्रको भवनमा सञ्चालित आइसोलेसनका सामग्री प्रयोग गरेर अस्पताल परिसरमा केही दिनमै आइसोलेसन सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिए । नगरपालिकाले बेनीको हिलसाइडस्थित माउन्ट एभरेस्ट आवासीय माविको पुरानो भवनमा प्रि-आइसोलेसन सञ्चालन गरेको छ । 

 

धवलागिरि, मंगला र रघुगंगा गाउँपालिकाले यसअघि स्थापना गरिएको ५/५ शय्या क्षमताको कोरोना अस्पताललाई नै निरन्तरता दिएका छन् । अन्नपूर्ण गाउँपालिकाले नारच्याङस्थित नेपाली सेनाले प्रयोग गरेर छाडेको भवनमा स्थापना गरेको कोरोना अस्पताल पुनः सञ्चालनको तयारी गरेको छ ।

 

गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवालले तत्काल मौजुदा स्वास्थ्यकर्मीबाट सञ्चालन गरिने कोरोना अस्पतालका लागि चिकित्सक र नर्स नियुक्त गर्न लागिएको बताए ।