जुम्लामा स्थापना भयो फुजी स्याउकाे नेपालकै ठूलो बगैँचा

३० हजार बिरुवा रोपिए


  • change font
  • change font
  • change font

जुम्ला- जुम्लाको मुख्य आम्दानीको स्रोत भनेकै स्याउ खेती हो । यहाँका कृषक यही खेतीबाटै आत्मनिर्भर हुने गरेका छन् । जुम्लाको गुठीचौर गाउँपालिका वडा नम्बर ५ काँडाखोला जलजलामा नेपालकै ठुलो फुजी स्याउ बगैँचा स्थापना गरिएको छ ।

 

गुठीचौर एग्रो फार्म प्रालिका अध्यक्ष मीनबहादुर भण्डारीले उच्च घनत्व जातको आधुनिक स्याउ बगैँचा निर्माण गरेका हुन् । झन्डै ८ करोड रुपैयाँ लगानीमा बगैँचा निर्माण गरिएको हो । कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव डा.राजेन्द्रप्रसाद मिश्रले फुजी स्याउ रोपेर बगैँचा स्थापनाको घोषणा गरे ।

 

उनले भने, ‘निषेधाज्ञाको समय बगैँचामै नआउनुपर्ने हो तर जसरी डाक्टरले बिरामीलाई छाड्न सक्दैन, मैले पनि किसानलाई छाड्न सकिनँ । बगैँचामै पुगेर किसानलाई हौसला दिनु दायित्व ठानेँ ।’ 


सचिव मिश्रले स्याउ रोपेसँगै उक्त बगैँचामा एकै पटक ३० हजार फुजी स्याउ रोपिएको हो । सचिव मिश्रले भने, ‘यो नेपालको ठूलो स्याउ बगैँचा मात्र होइन, कृषि तालिम केन्द्रका रूपमा स्थापित हुनुपर्छ । अनुसन्धान केन्द्र बनाउन लाग्नुपर्छ । यो बगैँचा नेपालको स्याउ उत्पादनका लागि मुख्य स्रोत बन्नेछ ।’

 

सचिव मिश्रले भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले स्याउको प्रशोधन, बजारीकरण, कृषि सडक लगायतका प्राविधिक सहयोग गर्न सक्ने बताए । 

 

‘समय क्रमसँगै थातथलो बिर्सने, स्याउबाट पैसा कमाएर सुर्खेत, नेपालगञ्जमा घर बनाउने कार्य विगतदेखि नै भएको थियो’, सचिव मिश्रले थपे, ‘कृषिले कमाएको पैसा घरघडेरीमा लगानी गर्ने चलन छ । स्याउको बगैँचा सुधारमा लगाएको भेटिँदैन । किसानले खेतीपाती भित्र्याउँदा एउटा अंश माटोलाई पनि दिनुपर्छ भन्ने ख्याल गर्नुपर्छ ।’

 

सचिव मिश्रले गुठीचौर गाउँपालिका वडा नम्रब ५ का मीनबहादुर भण्डारीलाई नमुना कृषकको संज्ञा दिए । सचिव मिश्रले भने, ‘यो फार्मले धेरैलाई रोजगारी दिएको छ । यहाँको आर्थिक समृद्धिको बलियो आधार हुनेछ ।’ 

 

बगैँचामा बाटोघाटो जोडिएकाले बजारीकरणमा पनि समस्या नहुने सचिव मिश्रको भनाइ छ । कर्णालीमा लगानी भित्र्याउनेलाई सम्मान गर्नुपर्ने उनले बताए ।

 

गत चैतदेखि बगैँचा स्थापनाको तयारी थालिएको थियो । लकडाउन अवधिभर बगैँचाको पूर्वाधार निर्माणदेखि बिरुवा रोप्ने तयारीसम्मका काम भए । लकडाउनले उद्योगधन्दा, सिर्जनशील काम बन्द भए । तर, त्यही लकडाउनको बीचमा ठूलो बगैँचा निर्माण भयो । 

 

गुठीचौर एग्रो फार्मका सहजकर्ता दानबहादुर बुढाले भने, ‘यो बगैँचा स्थापनाले पूर्णता पाएसँगै केही आशाका किरण पलाए । यहाँका स्थानीयले रोजगारी पाए । फुजी स्याउको विशाल बगैँचा जुम्लामा स्थापना भएको सन्देश फैलाउने अवसर मिल्यो । अर्काे वर्ष २० हजार बिरुवा रोप्ने तयारी गरेका छौँ ।’ स्याउ सुपरजोन जुम्लाले बिरुवा र सिँचाइमा लगानी गर्ने प्रतिबद्धता जनाएको उनले बताए । 

 

डेढ लाख वर्गमिटर जग्गामा स्याउ खेती 


बगैँचामा स्याउ रोप्नुअघि बगैँचाको आकार प्रकार तयार भयो । बगैँचा निर्माणका लागि ८७ जनाले जग्गा लिजमा दिए । १ लाख ५० हजार वर्गमिटर जग्गामा पूर्वाधारसहितको सुविधासम्पन्न स्याउ बगैँचा निर्माण भएको छ । 

 

३० वर्षसम्म जग्गा लिजमा लिएर स्याउ बगैँचा बनेको हो । बगैँचा स्थापनाका लागि झन्डै ८ करोड रुपैयाँ खर्च भइसकेको छ । 

 

स्थानीय युवालाई रोजगार 


बगैँचामा दैनिक डेढ सयदेखि अढाई सयसम्म कामदारले रोजगार पाएका छन् । १ जना आयोजना प्रमुख, लेखापाल २ जना, ओभरसियर १ जना, स्टोर किपर २ जना, हेल्पर १२ जना, जेटिए ४ जना र चौकीदार ४ जना राखिएको छ । २ जना सहजकर्ता, ३ जना चालक र ३ जना सहचालक राखिएको छ । 

 

गाउँमै नेपालकै ठुलो बगैँचा स्थापना भएपछि स्थानीय खुसी छन् । स्याउ बगैँचामा काम पाउनुका साथै स्याउ फलाउन प्रेरणा मिल्ने उनीहरूले सुनाए ।

 

लगानीकर्ता मीनबहादुर भण्डारीले जडीबुटी व्यापार गर्दा कमाएको रकमले आफ्नै भूमिमा स्याउ बगैँचा स्थापना गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘यो स्याउ बगैँचामा अर्गानिक मलको प्रयोग हुनेछ ।’ २३ लाख रुपैयाँमा मल खरिद गरेर बिरुवामा राखिएको उनको भनाइ छ ।

 

‘बगैँचाबाट हुने आम्दानी शिक्षा, स्वास्थ्यसँगै सामाजिक कार्य र पारिवारिक समृद्धिमा लगाउँछु,’ मीनबहादुरले भने । कृषि सचिव मिश्रले लगानीकर्ता भण्डारीलाई बगैँचामै सम्मान गरे । उनीसहित बगैँचा निर्माणका लागि जग्गा उपलब्ध गराउन सहयोग गर्ने गुठीचौर वडा नम्बर ५ फोइगाउँका ईश्वरीप्रसाद चौलागार्इं र रुद्रलाल धिताललाई पनि सम्मान गरिएको थियो ।

 

जग्गामा २ हजार ६ सय फुजी स्याउका बिरुवा रोपेर परीक्षण गरिसकिएको छ । । यसमध्ये २ हजार २ सय बिरुवाले फल दिँदै आएका छन् । जुम्लामा बगैँचा निर्माण गर्नुअघि लगानीकर्ता भण्डारीले नेपालका ठूला बगैँचामा पुगेर अवलोकन गरेका थिए ।

 

जुम्लाको झन्डै ३ हजार ४ सय ५० हेक्टरमा स्थानीय जातको स्याउ उत्पादन हुँदै आएको छ । पछिल्लो समय फुजी जात स्याउको व्यावसायिक रूपमा खेती भइरहेको छ ।