close

नागरिकलाई सुविधा दिन बेँसीसहरमा टोकन प्रणाली

नागरिकलाई सुविधा दिन बेँसीसहरमा टोकन प्रणाली

Trulli
ADVERTISEMENT

लमजुङ- लमजुङको बेँसीसहर नगरपालिकाले स्थानीय सरकारको कामलाई थप व्यवस्थित बनाउन र कोभिड-१९ का बेला भीडभाड कम गराउन सेवाग्राहीका लागि टोकन प्रणाली लागू गरेको छ । नागरिकलाई प्रशासनिक सेवा सहज रूपमा वितरण गर्न नगरपालिकाले टोकन प्रणाली सञ्चालनमा ल्याएको हो ।

 

टोकन प्रणालीको शुक्रबार पोखराबाट शिक्षा शाखामा काम लिएर आएका सेवाग्राही सुरेश राई र बेँसीसहर नगरपालिका वडा नम्बर १ उदिपुरबाट लेखा शाखामा काम लिएर आएका तीर्थराज अधिकारीलाई टोकन हस्तान्तरण गरी नगरप्रमुख गुमानसिंह अर्याल र उपप्रमुख लक्ष्मीदेवी अधिकारीले सुरु गरे ।

 

कार्यक्रममा नगरप्रमुख अर्यालले टोकन प्रणालीले सेवा प्रवाह छिटो, व्यवस्थित र सुरक्षित हुने विश्वास व्यक्त गरे ।  ‘कोरोना कहरका बेला भीडभाडमा काम गर्नेभन्दा आफ्नो पालोमा बसेर काम गर्नुपर्ने अवस्था छ । नागरिकको सहजताका लागि यो सेवा सुरु गरेका हौँ’, अर्यालले भने । 

 

प्रमुख प्रशासकीय अधिकृत लीलावल्लभ न्यौपानेले पहिला आउने वा सम्पर्क गर्ने सेवाग्राहीलाई प्राथमिकताका आधारमा टोकन नम्बर दिइने र सेवा लिन आउने समयसमेत निर्धारण गरी जानकारी गराइने भएकाले नगरपालिकाबाट प्रवाह हुने सेवा व्यवस्थित हुने बताए ।

 

सेवा सुरु भएको समय, सेवा सम्पन्न भएको समय र फिर्ता हुनुको कारणसहित टोकन तयार गरिएको उनले जानकारी दिए । ‘कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न र बचाउन सुरक्षित, व्यवस्थित र स्वास्थ्य मापदण्डसहितको सेवा प्रदान गर्न टोकन प्रणालीले सहयोग पु¥याउनेछ’, प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने । 

 

टोकन प्रणालीसँगै नगरपालिकाले सबै सेवा कार्यालयको बाहिरी झ्यालबाटै लिन मिल्ने गरी व्यवस्थापन गरेको छ । माथिल्लो तलामा जानुपर्ने अवस्थामा पालिकाभित्रैका कर्मचारीले काम गरिदिएर बाहिरै ल्याइदिने व्यवस्थासमेत नगरले गरेको छ । 

 

सेवा लिन नगरपालिकाले अनिवार्य केही नियम बनाएको छ । हरेक सेवाग्राही र कर्मचारीले मास्क लगाएको हुनुपर्ने, कार्यालय प्रवेश गर्नुपूर्व थर्मल गनमार्फत तापक्रम जाँच गराउनुपर्ने, कार्यालय प्रवेश गर्नुपूर्व परिसरबाहिर व्यवस्था गरिएको ठाउँमा साबुनपानीले हात धुनुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने र सेवा बाहिरी झ्यालबाट लिनुपर्नेलगायत नियम बनाइएको बेँसीसहरका प्रेस सल्लाहकार कृष्ण केसीले बताए ।