close

हलेसी तुवाचुङमा ३२ बेडको आइसोलेसन तयार

हलेसी तुवाचुङमा ३२ बेडको आइसोलेसन तयार

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले होटलमै ३२ बेडको आइसोलेसन सेन्टर तयार पारेको छ । कोभिड-१९ को महामारीलाई लक्षित गर्दै नगरपालिकाको वडा नम्बर ७ महादेवस्थानमा ३२ बेडको आइसोलेसन सेन्टर निर्माण गरिएको हो ।

 

सक्रिय संक्रमितलाई राखेर उपचार गर्ने व्यवस्थाका लागि रोयल होटलको १६ वटै कोठामा आइसोलेसन सेन्टर बनाइएको हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राईले बताए । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) खोटाङको १३ वैशाखको बैठकको निर्णयअनुसार नगरपालिकाले बिहीबार होटलमा आइसोसेलन सेन्टर बनाएको हो ।

 

पानी, बिजुली र इन्टरनेटको शुल्क तिर्ने गरी सञ्चालक प्रेम श्रेष्ठले आइसोलेसन बनाउन नगरपालिकालाई होटल उपलब्ध गराएका हुन् ।  नगरपालिकाको वडा नम्बर ५ दुर्छिमस्थित स्वास्थ्य चौकीमा स्थापना गरिएको अस्थायी कोभिड अस्पतालको ५ बेडको आइसोलेसन अपुग हुने भएकाले हलेसीमा ३२ बेडको आइसोलेसन सेन्टर थप गरिएको नगरप्रमुख राईले बताए ।

 

कोभिड-१९ को महामारी फैलिएको अवस्थामा नगरपालिकाका कोरोना संक्रमितलाई सुरक्षितसाथ राख्ने र उपचार गर्ने व्यवस्थाको पूर्वतयारीमा आइसोलेसन सेन्टरमा बनाइएको नगरपालिकाले जनाएको छ । आइसोलेसन सेन्टरमा अक्सिजनको पर्याप्त व्यवस्थापन भने गरिएको छैन । संक्रमणबाट जटिल भएका बिरामीका लागि भने अक्सिजन अभाव नहुने नगरप्रमुख राईले दाबी गरे । 


नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिरहेको अवस्थामा जिल्लाका १० वटै स्थानीय तहले आ-आफ्नै तरिकाले आइसोलेसन सेन्टर निर्माण गरिरहेका छन् ।

 

कोभिड-१९ का सक्रिया संक्रमितलाई राखेर उपचार गर्ने व्यवस्थाका लागि कतिपय स्थानीय तहले पुराना आइसोलेसन सेन्टरलाई नै नयाँ आइसोलेसन सेन्टरका रूपमा ब्युँताएका छन् भने कतिपय स्थानीय तह नयाँ आइसोलेसन सेन्टर निर्माणमा जुटेका छन् । 


ऐँसेलुखर्कमा आउजाउ ठप्प 

 

कोभिड-१९ को महामारीलाई दृष्टिगत गर्दै खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले पालिकाभित्रको आवागमन ठप्प बनाएको छ ।  गत २२ वैशाखको विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार गाउँपालिकाले शनिबार बिहानदेखि लकडाउनकै शैलीमा यातायातका सवारी साधन ठप्प बनाएको हो ।

 

कोभिड-१९ को रोकथाम तथा नियन्त्रणको प्रयासस्वरूप वैशाख मसान्तसम्मका लागि सवारी साधन वा पैदल यात्रामार्फत पालिका भित्रिन र बाहिरिन रोक लगाइएको ऐँसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले बताए ।

 

ऐँसेलुखर्क गाउँपालिकाले वैशाख मसान्तसम्मका लागि गाउँपालिकाअन्तर्गतका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय, वित्तीय संघ-संस्थाको अति आवश्यकबाहेकका सम्पूर्ण कामकाज बन्द गरेको जनाएको छ ।

 

पालिकाभन्दा बाहिरबाट विशेष परिस्थितिमा आएका व्यक्तीलाई अनिवार्य १४ दिन होम आइसोलेसनमा राख्ने, होम आइसोलेसनमा बसे÷नबसेको निगरानी सम्बन्धित वडाका स्वास्थ्यकर्मी, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीयले गर्ने तथा होम आइसोलेसन उल्लंघन गरेको पाइए प्रहरी परिचालन गरेर नियन्त्रणमा लिएर संक्रामक रोग ऐनअनुसार कारबाही गर्ने गाउँपालिकाले जनाएको छ । 

 

यस्तै, कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री खरिदका लागि गाउँपालिकाको कोभिड-१९ कोष शीर्षकबाट भुक्तानी दिने, विद्यार्थीको भौतिक उपस्थितिमा हुने पठन-पाठन बन्द गर्ने र वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरण गर्दै विद्यालय प्रशासन नियमित सञ्चालन गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।