close

कोरोना कहरका बीच मुगेली किसानलाई जौ बाली भित्र्याउने चटारो 

कोरोना कहरका बीच मुगेली किसानलाई जौ बाली भित्र्याउने चटारो 

Trulli
ADVERTISEMENT

मुगु- हिमाली जिल्ला मुगुमा लगाइने हिउँदे अन्नबाली जौ, गहुँको यो वर्ष उत्पादन दोब्बरले घटे पनि कोरोना कहरका बेला किसानलाई भने जौ बाली भित्र्याउने चटारो परेकोछ । मुगुका लेकाली भेगमा लगाइने हिउँदे अन्नबाली जौ, गहुँ र उवा यो वर्ष हिउँदमा हिउ र फागुन, चैतमा पानी नपर्दा गत वर्षभन्दा उत्पादनमा कमी आउने देखिएको हो । 

 

मुगुको कुल ३ लाख २३ हजार ४ सय ५० क्षेत्रफलमध्ये अन्न तथा खेतीयोग्य १९ हजार ३ सय ४० क्षेत्रफलको जमिनमा लगाइएको अन्न बाली राम्रो सँग उत्पादन भए मात्र स्थानीयले कम्तीमा ६ महिना बढी जीवन निर्वाह गर्ने गर्छन् ।

 

अन्य बाँकी महिना व्यापार, व्यवसाय, रोजगार, जडीबुटी र मजदुरी गरेरै जीवन चलाउने गरेका छन् ।  गर्त वर्षभन्दा यो वर्ष हिउँदमा हिमपात नपर्दा जौ, गहुँ सबैभन्दा बढी उत्पादन हुने छायानाथ रारा नगरपालिकाको कार्कीवाड, चैना, पिना, बालै, टोप्ला, ताल्चा, सोरु गाउँपालिकाको सिप, तारापानी, कालै सोरुकोट, कच्र्चे, भीई, नार्थुपमा उत्पादनमा कमी आउने देखिएको स्थानीय कृषि कार्यालयले बताएका छन् ।


यस्तै, खत्याड गाउँपालिकाको गम्था, सेरी, श्रीकोट, रोल, रातापानी, सुकाढिक, खमाले, मुगु कामारोङको छाइल, चिमाथ, माग्री, पापु, महलगायत स्थानमा लगाइएको अन्नबालीको उत्पादन दोब्बरले कम भएको स्थानीय कृषक सुनाउँछन् ।


मुगुलगायत अन्य हिमाली जिल्लामा गरिने खेती प्रायः अकासे पानीको भरमा हुने गरेको छ । यो वर्ष हिउँदमा पानी र हिउँ नपर्दा किसानले लगाएका अन्नबाली सुकेका छन् । 

 

‘गत वर्षभन्दा यो वर्ष दोब्बर कम उत्पादन भएको छ । उत्पादित जौ, गहुँ पूरै सुकेका छन् । गत वर्ष ६/७ महिना जौ र गहुँ खाएर चलेका थियौँ । यो वर्ष निकै उत्पादन कम भएपछि बाँकी समय कसरी अन्नबाली जुटाउने भन्ने चिन्ता थपिएको छ,’ छायानाथ रारा नगरपालिका वडा नम्बर ५ की उनसरा मल्ल भन्छिन् । 

 

गत वर्ष ५–६ थुनको एउटा खेतमा अन्न उब्जिने गरेकामा यो वर्ष १/२ डाला पनि नभएको उनले सुनाइन् । सिँचाइ हुने ठाउँमा थोरै उत्पादन भएको छ भने पानी नभएको सुक्खा जमिनमा उत्पाद नै लिन नपाइएको वडा नम्बर ५ का कृषक खुम्मेनी शाहीले बताइन् । 

 

‘यो वर्ष खडेरीले अन्न उत्पादन निकै कम भएको छ । सबैभन्दा जौ, गहुँ उत्पादनको बाला लाग्ने समय पानी नपर्दा मुगुमा गत वर्षभन्दा अन्न उत्पादन कम हुने देखिएको जिल्ला कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख कमल सुनारले बताए ।