close

आफ्नै गाडी समेत नागरिकलाई दिएका मेयर न्यौपानेले भने– ‘नागरिकको जीवनप्रति अति संवेदनशिल छौं’ 

आफ्नै गाडी समेत नागरिकलाई दिएका मेयर न्यौपानेले भने– ‘नागरिकको जीवनप्रति अति संवेदनशिल छौं’ 

Trulli
ADVERTISEMENT

तनहुँ– व्याँस नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने, उपमेयर मिरा जोशी र प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले चढ्दै आएको गाडी कोरोना संक्रमितका लागि प्रयोग गरिने नगरले जनाएको छ । 

 

गाउँबाट सदरमुकामस्थित अस्पतालसम्म बिरामी ओसार पसारमा कार्यमा सहज होस् भनेर यस्तो निर्णय गरिएको व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले बताए ।

 

मुलुकमा देखिएको अक्सिजन अभावका कारण कोरोना संक्रमितको मृत्यु बढिरहेकोमा चिन्ता व्यक्त गर्दै मेयर न्यौपानेले यसलाई आत्मसाथ गर्दै धैर्यता, सचेतता र सतर्कताका साथ आत्मबल दह्रो बनाएर कोरोना जित्न आग्रह गरेका छन् । ‘जीवन बाँच्ने र बँचाउने अभियानमा नगरपालिका संवेदनशिल भएर लाग्नेछ’ मेयर न्यौपानेले भने ।

 

व्याँस नगरपालिकाले आफ्नै नयाँ एम्बुलेन्स खरिदका लागि १२ लाख ९५ हजारको सम्झौता गरिसकेको छ भने वडा नं ९, १० र १४ मा  थप एम्बुलेन्स खरिदको प्रकृया अगाडि बढिरहेको छ । तर, हाल भने नगरसँग एक मात्र एम्बुलेन्स रहेकोले सेवा प्रदान गर्न कठिनाई नहोस् भनेर आफुहरुले चढ्दै आएको गाडी दिन लागिएको मेयर न्यौपानेले स्पष्ट पारे । 

 

हालसम्म जिल्लामा रहेका सकृय संक्रमितको संख्या २१७ रहेको र व्यास नगरपालिकामा मात्रै ५८ जना संक्रमित देखिएकोले गम्भीर भएर सर्तकता अपनाउन नगरपालिकाले अनुरोध गरेको छ । 

 

सोमबार र बिहीबार गरी हप्ताको दुई दिन निःशुल्क पिसिआर परिक्षण गर्ने व्यवस्था मिलाएको पनि नगरले जनाएको छ । कोरोनाको कुनै लक्षण देखिए व्यास नगरपालिकाको  हटलाईन नम्बर ०६५–५६००३३ मा सम्पर्क गर्न सम्पूर्ण नगरवासीलाई अनुरोध गरेको छ ।