close

मदन भण्डारी लोकमार्ग: ९५ प्रतिशत भौतिक प्रगति

मदन भण्डारी लोकमार्ग: ९५ प्रतिशत भौतिक प्रगति

Trulli
ADVERTISEMENT

उदयपुर- सामरिक महत्त्वको निर्माणाधीन राष्ट्रिय गौरवको आयायोजना मदन भण्डारी लोकमार्गको काम ९५ प्रतिशत सकिएको छ । बन्दाबन्दीसँगै मजदुर अभाव भए पनि तोकिएको समयमै योजनाको काम सक्ने लक्ष्य राखिएको हो । सरकारको उच्च प्राथमिकतामा रहेको पूर्व-पश्चिम जोड्ने वैकल्पिक सडक मदन भण्डारी लोकमार्गको निर्माण तीव्र गतिमा भइरहेको हो । 


मदन भण्डारी लोकमार्गको पूर्वी खण्ड उदयपुरको चौदण्डीगढी नगरपालिकाको बसाहादेखि सिन्धुलीको भीमानसम्म १३५ किलोमिटर छ । अहिलेसम्म पूर्वी खण्डको सडकमा ९५ प्रतिशत काम सम्पन्न भएको छ ।

 

बसाहादेखि सदरमुकाम गाईघाट हुँदै सिन्धुलीको भीमानसम्म (दोस्रो चरणको कालोपत्रे) अस्फाल कंक्रिट निर्माण सम्पन्न भइसकेको निर्माण कम्पनी जेड आइइसी लामा एन्ड शर्मा ज्वाइन्ट भेन्चरका प्रोजेक्ट म्यानेजर सीताराम दाहालले जानकारी दिए । उनले भने, ‘कामदारको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै सामाजिक दूरी कायम गरेरै काम अगाडि बढाइरहेका छौँ ।’

 

निर्माण कम्पनीले जिम्मा लिएको लोकमार्गको १२६ किलोमिटरमध्ये पुलको भागबाहेक स्थानमा ६ सेन्टिमिटर उचाइको डेन्स बिटुमिन्स कंक्रिट ११ मिटर चौडाइमा र दोस्रो चरणमा ४ सेन्टिमिटर उचाइको ७ मिटर चौडाइमा अस्फाल्ट कंक्रिट ( दोस्रो चरण) को कालोपत्रे भइसकेको जानकारी दाहालले दिए । 

 

मदन भण्डारी लोकमार्गको धरान-चतरा-गाईघाट-कटारी हुँदै सिन्धुलीको भीमान खण्डमा १३५ किलोमिटर सडक पर्दछ । यो खण्डमा ११ मिटर चौडाइमा ६ सेन्टिमिटर उचाइको डेन्स बिटुमिन्स कंक्रिट (पहिलो चरण) र ७ मिटरमा ४ सेन्टिमिटर अस्फाल्ट कंक्रिट (दोस्रो चरण) को कालोपत्रे गर्ने गरी जेडआइइसी शर्मा लामा ज्वाइन्ट भेन्चरले ७ अर्ब ३६ करोड ९९ लाख ८४ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।

 

सिन्धुलीको भीमानदेखि उदयपुरसम्मको खण्डमा पर्ने सडकमा हाल १३५ किलोमिटर कालोपत्रे भइसकेको मदन भण्डारी लोकमार्ग आयोजना कार्यालय गाईघाटका इन्जिनियर शंकर पौडेलले बताए । २०७३ मा धरान-चतरा-गाईघाट-कटारी-सिन्धुली-हेटौँडा सडक आयोजनाको नाममा आयोजना सुरु भएको थियो । गत वर्षको मन्त्रिपरिषद्को निर्णयानुसार सडकको नामकरण गरिएको हो ।

 

‘सडक योजनाको अहिलेसम्म ९५ प्रतिशत कामको भौतिक प्रगति भइसकेको छ’, म्यानेजर दाहालले भने, ‘चालू आवको असार मसान्तभित्र शतप्रतिशत काम सक्ने हाम्रो लक्ष्य छ ।’ 


तर, कोरोना महामारीपछिको बन्दाबन्दीका कारण ६ महिना काम बन्द हुँदा लक्ष्यअनुसार काम गर्न नसकिएको उनको भनाइ छ । बन्दाबन्दी नभएको भए चालू आर्थिक वर्षको सुरुमै योजनाको काम सम्पन्न गरी हस्तानन्तरण गर्ने योजना रहेको उनले बताए ।
 
स्थानीय प्रशासन र स्थानीय तहले दिएको निर्देशनअनुसार सामाजिक दूरी कायम गरेर कामदारको दैनिक स्वास्थ्य परीक्षण गर्दै काम अगाडि बढाएको उनको दाबी छ । ‘फागुन, चैत, वैशाख, जेठ निर्माण व्यवसायीका लागि पिकआवर हो । यतिखेर अन्य महिनाभन्दा ३ गुणा बढी काम हुने समय हो’, दाहालले भने । 

 

बन्दाबन्दीले भनेजस्तो कामदार ल्याउन नसक्दा सोचेजस्तो काम हुन नसके पनि चालू आर्थिक वर्षभित्रै कालोपत्रे सम्पन्न गर्ने योजना रहेको उनले जानकारी दिए । मौसमले साथ दिए मेसिनबाट गरिने डेन्स बिटुमिन्स कंक्रिट (पहिलो चरण ) र अस्फाल्ट कंक्रिट (दोस्रो चरण) को कालोपत्रे दैनिक १ किलोमिटरका दरले गर्ने साधन रहेको दाहालले बताए । 


आउँदो बर्खायामलाई लक्षित गरेर निर्माणाधीन राष्ट्रिय महत्त्वका योजनाका साथै स्थानीय, प्रदेश र संघीय सकारबाट प्राप्त रकममा सम्झौता भइसकेका योजनाका काम सुरु गर्न लागिएको त्रियुगा नगरप्रमुख बलदेव चौधरी बताउँछन् । उनले भने, ‘बन्दाबन्दीको पालना र निर्माण दुवैलाई उत्तिकै महत्त्व दिनुपर्ने अवस्था छ ।’

 

सदरमुकाम गाईघाटस्थित पुरानो गाईघाट (पिजी) चोकमा सडक चौडाइ विवादका कारण झन्डै १ वर्ष सडक निर्माण रोकिनुले पनि ढिलाइ हुन पुगेको हो । स्थानीयले सडकभित्र पर्ने संरचना र घरटहरा भत्काउन नमान्दा सडक निर्माण रोकिएको थियो ।

 

राष्ट्रिय लोकमार्गको मापदण्डअनुरूप सडकको चौडाइ ५० मिटर हुने भए पनि मदन भण्डारी लोकमार्गलाई सरकारले ३० मिटर कायम गरेको छ । तर, हालका लागि सडकको चौडाइ ५० मिटर नभए पनि सडक निर्माणसँगै भविष्यमा ६२ मिटर सडक हुनेछ । 

 

राष्ट्रिय लोकमार्ग बनाउने निर्णयसँगै यसको मापदण्ड ५० मिटर हुने कानुनी प्रावधान रहेको सडक विभाग बताउँछ । यो आयोजनालाई २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । सडक निर्माण गरिने अधिकांश क्षेत्रमा वन क्षेत्र पर्ने भएकाले केही समस्या सिर्जना भएको छ ।

 

रूख कटानमा प्रक्रिया लामो हुँदा समय लाग्ने गरेकाले पनि ढिलाइ भएको हो । सडक निर्माणसँगै कालोपत्रे र पुल गरी दुवैको काम ९५ प्रतिशत सकिएको छ ।


मदन भण्डारी लोकमार्गमा नयाँ ट्रयाक खोल्नेभन्दा पनि पहिले नै सञ्चालनमा रहेका सडकलाई स्तरोन्नतिको काम बढी रहेको छ । पूर्व-पश्चिम लोकमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी लोकमार्गपछि यो पूर्व-पश्चिम जोड्ने चौथो लोकमार्गका रूपमा रहेको छ ।