close

बाँस व्यापारीको ढुवानी मार्ग बन्दै सप्तकोसी

बाँस व्यापारीको ढुवानी मार्ग बन्दै सप्तकोसी

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुर, खोटाङ र भोजपुर जिल्लाको सीमा भएर बग्ने सप्तकोसी नदीमा जोखिम मोलेरै बाँसको ढुवानी गरिँदै आएको छ । कोसी किनारा तथा पहाडी भेगको बाँसले तराई क्षेत्रमा उचित मूल्य पाउन थालेपछि व्यापारीले सप्तकोसीलाई ढुवानीको माध्यम बनाएका हुन् । पहाड भेगमा खेर गइरहेको बाँस तराईका बजारमा माग बढेपछि बाँस ढुवानी गर्ने माध्यम सप्तकोसी बनेको हो । 


गाउँका बाँसलाई बजार लैजाने एउटै बाटो हो, सप्तकोसी । ‘गाउँमा सडक आइपुगेको छैन । आइपुगेका सडकमा साना सवारी साधन मात्र सञ्चालन भइरहेका छन्’, उदयपुरको बेलका नगरपालिका वडा नम्बर ६ का रत्नशेर राईले भने, ‘बाँसका घनालाई काठमा कसेर फल्याकजस्तै बनाएर सप्तकोसीमा तैराउँदै लैजानुपर्छ ।’


रोजगारीको समस्या र परम्परागत खेतीले राम्रो प्रतिफल दिन नसकेपछि आयआर्जनका लागि जोखिम मोलेरै सप्तकोसीमा बाँस ढुवानी गर्न बाध्य हुनुपरेको उनको भनाइ छ । कोसीमा बाँस बगाएर व्यापार गरी रोजगारी गर्नेहरू अहिले धेरै भेटिन थालेका छन् । सप्तकोसीमा बगाउँदै लगेको बाँस चतराघाट, कोसी ब्यारेज पुर्‍याएर बिक्री गर्ने गरेको राईले सुनाए ।

 

कमजोर आर्थिक अवस्थाकै कारण ७ वर्षदेखि बाँसको व्यापार गर्दै आएका खोटाङ फाक्टाङका पूर्णबहादुर खत्री भन्छन्, ‘पहाडी क्षेत्रका गाउँबस्तीबाट सस्तो मूल्यमा बाँस किनेर जोखिमपूर्ण अवस्थामा कोसीमा बगाउँदै ढुवानी गरी चतराघाटसम्म ल्याएर बिक्री गर्दा मुनाफा राम्रो हुन्छ । तर, बाँस बगाउँदा आफ्नो ज्यान भने जोखिममा हुन्छ ।’

 

जोखिमपूर्ण तवरले बाँसको व्यापार गर्नु रहर नभएर बाध्यता भएको बेलका नगरपालिका वडा नम्बर ६ मैनामैनीका हर्कजीत राईले बताए । ‘एकातिर घरको आर्थिक अवस्था कमजोर छ भने अर्कातिर बेरोजगारी समस्याले कोसीमा बाँस डुबाउनुपरेको छ’, उनले भने । पहिला गाउँमा प्रतिघना २५ रुपैयाँमा पाइने बाँस आजभोलि १ सय २० रुपैयाँ पुगेको उनले जानकारी दिए । 


‘कोसीमा बाँस डुबाउँदै व्यापार गर्ने व्यापारी अचेल गाउँ-गाउँमा पुग्न थालेका छन्’, उदयपुर मैनीटारका राम राईले भने, ‘गाउँमा मूल्य बढे पनि व्यापार बढेरै गएको छ । गाउँमा सयले किने यता ल्याएर २०० देखि ३५० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।’ 

 

एक पटकमा १ सय २० वटा सम्मको बाँसको घनालाई डोरीले एउटै चाङमा बाँधेर कोसीमा बगाउँदै चताराघाटसम्म ल्याउँदा दोब्बर नाफा हुने भएपछि व्यापारीको आकर्षण बढेको हो ।

 

‘जोखिमपूर्ण भए पनि ४ जनाको समूहले १ सातामा कम्तीमा २० हजार रुपैयाँसम्म कमाउन सक्छौँ’, बाँस व्यापारी गणेश केसीले भने, ‘कोसी आसपासमा हिउँद लागेपछि बाँसको सिजन सुरु हुन्छ । बर्खायाम सुरु भएपछि बन्द हुन्छ । कोसीमा बगाएर चताराघाट पुर्‍याएर बिक्री गर्न २ दिन लाग्छ ।’

 

कात्तिकदेखि वैशाखसम्म कोसीमा पानीको वहाब कम हुने समय बाँसको व्यापार फस्टाउने गरेको उनीहरू बताउँछन् । कोसीमा डुबाउँदै बिक्री गर्ने बाँसले दर्जनौँलाई स्वरोजगार बनाएको उनीहरूको अनुभव छ । यसरी बनाइएको चाङलाई २ जनाले कोसीको वहाबमा हेलिँदै लैजानुपर्छ ।