close

धवलागिरिले बनायो ताकमका आइसोलेसन 

धवलागिरिले बनायो ताकमका आइसोलेसन 

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिकाले आइसोलेसन पुनः सञ्चालनमा ल्याएको छ । घट्टेखोलास्थित सामुदायिक भवनमा स्थापना गरिएको आइसोलेसन ताकम माविको भवनमा स्थानान्तरण गरेर पुनः सञ्चालनमा ल्याइएको हो । गत कात्तिकमा स्थापना गरिएको आइसोलेसन अस्पताल भएको ताकममा सारेर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । 

 

अध्यक्ष थमसरा पुनले गाउँपालिकाले कोरोना अस्पताल सञ्चालन गर्न गत पुसमा ३ महिनाका लागि नियुक्त गरिएका चिकित्सकको करार अवधि थपेरेर कोरोना संक्रमितको उपचारमा परिचालन गरिएको बताइन् । 

 

१० शय्या क्षमताको आइसोलेसनमा अक्सिजनलगायत कोरोना संक्रमितको उपचारका लागि आवश्यक औषधी, जनशक्ति र औजार व्यवस्थापन गरिएको छ । डा. एकराज भण्डारीले १ जना संक्रमितले आइसोलेसनबाट सेवासमेत लिइसकेको जानकारी दिए । 

 

बिहीबार १ जना श्वासप्रश्वासमा समस्या देखिएपछि बेनी रिफर गरिएका लुलाङका शंकास्पद एक व्यक्तिको शिवाङ पुग्ने क्रममा ज्यान गएको थियो । ५१ वर्षीय ती पुरुषका भाइको केही दिनअघि कोरोना संक्रमणका कारण पोखरामा उपचारका क्रममा निधन भएको थियो । 

 

३७ वर्षीय ती पुरुष कतारबाट घरमा आइपुगेको २ दिनमै श्वासप्रश्वासमा समस्या देखिएपछि बेनी हँदै उपचारका लागि पोखरा गएका थिए । आइसोलेसन सञ्चालनका लागि गाउँपालिकामा रहेका मौजुदा स्वास्थ्यकर्मीलाई परिचालन गरिएको छ । 


गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सम्झना खाती क्षेत्रीका अनुसार ताकम र लुलाङ कोरोना संक्रमणबाट प्रभावित छन् । ताकममा १४, मुनामा २, धारापानीमा २ र लुलाङमा ७ जना संक्रमित भएका छन् । 

 

‘ताकममा नयाँ संक्रमित थपिए पनि तिनमा पखाला, ज्वरो र रुघाखोकीको लक्षण छ’, डा. भण्डारीले भने ‘लुलाङका संक्रमितमा बढी मात्रामा श्वासप्रश्वासको समस्या देखिएको छ ।’ ताकमबाट संकलन गरिएको २४ वटा स्वाब नमुनाको नतिजा आउन बाँकी छ । पिसिआर परीक्षणमा ढिलाइ हुँदा नतिजा आउँदासम्म कतिपय संक्रमित निको भइसक्ने अवस्था छ । जटिल अवस्थाका शंकास्पद बिरामीको कोरोना परीक्षणलाई एन्टिजेन विधि अपनाइएको छ । 

 

आइसोलेसनबाट बेनी रिफर गरिएका १ जना निको भएका छन् । चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोली आइतबार एन्टिजेन विधिबाट कोरोना परिक्षण तथा सचेतना अभिवृद्धिका लागि दोस्रो पटक लुलाङ जाँदै छन् । 

 

कोरोना नियन्त्रणका लागि धवलागिरि गाउँपालिकाले संक्रमितको पहिचान, व्यवस्थापन, सुरक्षित उपचार र फैलिन नदिन जनचेतना अभिवृृद्धि गर्ने रणनीति लिएको छ । सामान्य अवस्थाकालाई होम आइसोलेसन, लक्षण देखिएकालाई पालिकाको आइसोलेसन र जटिल अवस्थाकालाई बेनीमा रिफर गर्ने गरिएको छ । संक्रमितलाई स्वास्थ्य संस्था र अस्पताल पुग्न २ वटा निजी गाडी भाडामा लिएर सेवा दिएको छ । 

 

गाउँपालिकाको गाडी पनि स्वास्थ्यकर्मीलाई बोक्न, स्वास्थ्य सामग्री ढुवानीमा परिचालन गरिएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक क्षेत्री र लुलाङ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी रोशनी भण्डारी कोरोना संक्रमित भएका थिए । उनीहरू कोरोना जितेर संक्रमितको सेवामा परिचालन भएका छन् । 


विवाह, किरिया, छेवार, व्रतबन्ध, पूजाआज जस्ता सांस्कृतिक कार्यमा भएको जमघट, निषेधाज्ञापछि सहरी क्षेत्रबाट गएकाहरू एकान्तबास नबस्दा धवलागिरिमा कोरोना संक्रमण फैलिएको हो । 

 

२३ वैशाखदेखि गाउँपालिका, वडा, विषयगत शाखा कार्यालयको अति आवश्यकबाहेकको सेवा बन्द गरेर सबै शक्ति कोरोना नियन्त्रणमा लगाएको गाउँपालिकाले जनाएको छ । १० जेठसम्म स्थानीय प्रशासनले जिल्लाव्यापी निषेधाज्ञा गरेको छ । 

 

स्वास्थ्य सुरक्षाको मापदण्ड पालना, निषेधाज्ञाको पूर्ण कार्यान्वयनका साथै सचेतना फैलाउन वडाका जनप्रतिनिधि, युवा क्लब, आमा समूह, राजनीतिकर्मी र शिक्षकसमेत परिचालन भएका छन् । विकास आयोजनालाई भने स्थानीय स्तरमा उपलब्ध मजदुर परिचालन गरेर स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर निरन्तरता दिइएको छ ।