close

९ महिनादेखि थन्किएको भेन्टिलेटर सञ्चालनमा ल्याउँदै त्रियुगा 

९ महिनादेखि थन्किएको भेन्टिलेटर सञ्चालनमा ल्याउँदै त्रियुगा 

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको त्रियुगा नगरपालिकाको समन्वयमा जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको भेन्टिलेटर सञ्चलान गरिने भएको छ । जनशक्ति अभावमा ९ महिनाअघि जडान गरिए पनि थन्किएर बसेको भेन्टिलेटर त्रियुगा नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय गाईघाटले सञ्चालन गर्न लागेका हुन् ।

 

कोभिडकै बिरामीलाई लक्षित गरी प्रदेश सरकारको सहयोगमा गत भदौ पहिलो साता जिल्ला अस्पताल गाईघाट उदयपुरमा जडान गरिएका २ वटा भेन्टिलेटर जनशक्ति अभावमा प्रयोगविहीन थिए । 

 

कोरोना संक्रमणमा नागरिकलाई स्वास्थ्योपचार सेवा पु¥याउन त्रियुगा नगरपालिकाले जनशक्ति व्यवस्थापन गरेपछि भेन्टिलेटर सञ्चालन हुन लागेको हो । ५ शय्या आइसियुसहित २ शय्या भेन्टिलेटरको व्यवस्था गरिएको छ ।


कोभिड संक्रमित भेन्टिलेटर अभावमा मृत्यु रोज्न बाध्य भइरहेको अवस्थामा त्रियुगामा जनशक्ति नहुँदा थन्किएको भेन्टिलेटर स्थानीय तहको समन्वय र सहकार्यमा सञ्चालन हुन लागेका हुन् ।

 

जिल्ला अस्पताल गाईघाटमा भने झन्डै वर्ष दिनअघि जडान भएका भेन्टिलेटर त्यत्तिकै थन्किएर बसेका थिए । प्रदेशबाट प्राप्त १ करोड रुपैयाँबाट जडान गरिएका भेन्टिलेटर एनेथेसिया (लठ्याउने) डाक्टरको अभावमा सञ्चालनमा ल्याउन सकिएको थिएन ।

 

तर, कन्सल्टेन्ट डाक्टरको व्यवस्था गरिदिएपछि भेन्टिलेटर सञ्चालनमा आएको त्रियुगाका नगरप्रमुख बलदेव चौधरीले जानकारी दिए । बढ्दो संक्रमलालाई लक्षित गरी भेन्टिलेटर सञ्चालन गर्ने प्रबन्ध मिलाइएको उनले बताए । 

 

‘अस्पतालका रहेका २ वटा भेन्टिलेटर सञ्चालन गर्दा कोभिड कहरमा संक्रमितले जिल्लामै उपचार पाउन सक्ने भएकाले प्राविधिक व्यवस्था गरी तत्काल सञ्चालन गर्दै छौँ’, नगरप्रमुख चौधरीले भने, ‘गम्भीर कोभिडका बिरामीले जिल्ला बाहिर भेन्टिलेटर नपाएको गुनासो आएपछि हामीले समन्वय गरी प्राविधिकको व्यवस्था गरेका हौँ ।’ 

 

सामान्य कोभिड संक्रमितलाई आइसोलेसनमा उपचार गर्न उदयपुरका ८ वटै स्थानीय तहको प्रयास र लगानीमा उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ बेलटारमा उदयपुर कोभिड अस्प्ताल सञ्चालनमा आइसकेको छ । 


त्रियुगा नगरपालिकाले सोमबारदेखि कोभिड संक्रमितको घरघरै पुगेर औषधी उपलब्ध गराउने, नगरपालिकाको १६ वटै वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्रमा अक्सिजनसहितको ५÷५ आइसोलेसन बेड तयारी गर्ने, प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थामै एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाएको छ ।

 

नगरका असहाय, विपन्न गरिब तथा अपांगता भएकालाई निःशुल्क एम्बुलेन्स व्यवस्था गरिएको नगरप्रमुख चौधरीले बताए । शुक्रबार एकै दिन वडा नम्बर १६ मा ६० जनामा कोभिड संक्रमण भेटिएपछि वडा सिल गरिएको वडाध्यक्ष मानबहादुर राईले जानकारी दिए ।


 जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीका अनुसार शनिबारसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या ३७९ पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले बताएको छ ।