close

कोरोना नियन्त्रणमा जुट्यो तानसेन (भिडियो खबर)

अक्सिजन प्लान्ट जोडिँदै

कोरोना नियन्त्रणमा जुट्यो तानसेन (भिडियो खबर)

अक्सिजन प्लान्ट जोडिँदै

ADVERTISEMENT

पाल्पा- पाल्पाको तानसेन नगरपालिकाले कोरोनाको रोकथाम, नियन्त्रण र संक्रमितको स्वास्थ्य उपचारका लागि ५० शय्याको अक्सिजनसहितको आइसोलेसन निर्माण गरेको छ ।

 

नगरपालिकाले देशव्यापी बढेको अक्सिजन अभावलाई रोकी अक्सिजनमा आत्मनिर्भर हुन अक्सिजन प्लान्टको योजना समेत सुरु गरेको छ । तानसेन नगरपालिकाले कोरोना रोकथामतथा नियन्त्रणको लागि अक्सिजनसहितको आइसोलेसन सञ्चालनमा ल्याएको छ ।

 

पाल्पा अस्पतालसँगको सहकार्यमा तानसेन नगरपालिकाले पाल्पा अस्पतालमा अक्सिजनसहितको ३० शय्या, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको अयोध्याप्रसाद स्मृतिभवनमा  १० शय्या, अर्गली बहुमुखी क्याम्पसमा १० शय्या गरी जम्मा ५० शय्याको अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो । 

 

नगरपालिकाले भुसल डाँडामा आवश्यक परे १० देखि २० शय्यासम्मको आइसोलेसन सञ्चालनमा ल्याउने तयारी अनुरूप काम अघि बढाएको छ ।  नगरपालिकाले पछिल्लो समय देखिएको अक्सिजनसहितको सिलिन्डर अभावलाई पूर्ति गर्न अक्सिजन प्लान्टको अध्ययनसमेत सुरु गरेको छ । साथै,नगरपालिकाले नगरभर निःशुल्क एम्बुलेन्स सेवासमेत सञ्चालन गर्ने भएको छ । 

 

नेपाली सेनागोरख दल गणका प्यारामेडिक्स, जिल्ला अस्पताल, मिसन अस्पतालसँगको समन्वयमा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको हो । नगरपालिकाले होम आइसोलेसनको बसाइलाई हटाउँदै चिकित्सकसहितको स्वास्थ्यकर्मीको निगरानीमा रहेको आइसोलेसनको बसाइलाई प्रोत्साहनगरिने तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले बताए ।

 

स्थानीय सरकारले कोभिड महामारीमा आफ्नो सबै शक्ति रोकथाम र नियन्त्रणका लागि लगाएका छन् । तानसेन नगर क्षेत्रको ठूलो जनसंख्यालाई कोभिडबाट जोगाउन पाल्पा अस्पतालसँगको समन्वयमा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको छ । विपद्को घडीमा अस्पताल र नगरपालिकाको आवश्यक सहकार्यमा आइसोलेसन सेन्टर बनाइएको पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद गैरेले जानकारी दिए ।

 

नगरबासी र समग्र तानसेन नगरपालिका भित्रका विभिन्न ठाउँमा बसोबास गर्ने नागरिकको सुरक्षालाई ध्यानमा राखेर नगरपालिकाले सुविधा सम्पन्न आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । पाल्पा अस्पताल, त्रिभुवन बहुमुखी क्यामपस, स्थानीय दक्ष चिकित्सक, बुद्धिजीवीलगायतको सहकार्यमा आइसोलेसन सञ्चालनमा ल्याइएको तानसेन नगरपालिकाका प्रशासकीय अधिकृत पिताम्बर पाण्डे बताउँछन् । 

 

कोभिडको दोस्रो लहर सुरु हुना साथ तानसेन नगरपालिकाले कोभिडको नियन्त्रणका लागि वडा-वडामा पुगेर एन्टिजेन परीक्षणलाई कायमै राखेको छ । समुदायस्तरमा फैलिसकेको कोरोनालाई कन्ट्याक्ट ट्रेसिङ गरेर कोरोना परीक्षण जारी नै राखेको छ । नगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले दैनिक औसतमा एक सय जनासम्मको परीक्षण गर्ने गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झवीन्द्र न्यौपानेले जानकारी दिए ।

 

तानसेन नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणको लागि पर्याप्त देखिने गरी काम गरेको छ । आवश्यक स्रोत-साधन र जनशक्ति व्यवस्थापन गर्ने क्रममा आइसोलेसन सेन्टर सञ्चालनमा भने केही ढिला भएकै हो । तर ढिलै भएपनि अक्सिजन र डाक्टरसहितको कोभिड आइसोलेसन निर्माणले संक्रमितको उपचारका लागि फाइदा पुग्ने अपेक्षा गरिएको छ ।