close

यस वर्ष पनि थाहाकाे प्रसिद्ध बाराही जात्रा प्रभावित हुने

बाराही जात्रा नगर्न थाहानगरको आग्रह

यस वर्ष पनि थाहाकाे प्रसिद्ध बाराही जात्रा प्रभावित हुने

बाराही जात्रा नगर्न थाहानगरको आग्रह

Trulli
ADVERTISEMENT

मकवानपुर- मकवानपुरको थाहा नगरपालिकामा प्रत्येक तीन वर्षमा लाग्ने प्रसिद्ध बाराही जात्रा कारोना महामारीका कारण यस वर्ष पनि प्रभावित हुने भएको छ । अघिल्लो जात्रा सकिएको तीन वर्ष पुगेपछि गत वर्ष नै बाराही जात्रा हुनुपर्ने भए पनि कोरोना महामारीको कारण रोकिएको थियो । 

 

नगरपालिकामा कोरोना सङ्क्रमण बढिरहेको र जात्रा चलाउँदा थप जोखिम  हुने भएकोले यस वर्ष पनि जात्रा रोक्न आग्रह गरिएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताए । तिथिअनुसार बाराही जात्रा यही जेठ १५ गतेदेखि १७ गतेसम्म पर्दछ । 

 

सामान्य अवस्थामा बाराही जात्रामा स्थानीय क्षेत्रसहित छिमेकी जिल्लाबाट समेत हजारौँको सङ्ख्यामा भक्तालुहरु सहभागी हुने गर्दछन् । त्यसैगरी स्थानीय नेवार समुदायले नियमित पूजा लैजाने गर्दछन् भने भाकलअनुसार हजारभन्दा बढी व्यक्तिले बलि दिने गर्दछन् । यो जात्रा नगरपालिकाको बज्रबाराही माईको थानमा लाग्ने गर्दछ । 

 

नगरपालिकाले जात्रा स्थगन गर्न आग्रह गरे पनि जात्राका धामीझाँक्री र पुजारीहरुले भने कुनै पनि हालतमा जात्रा गर्नैपर्ने अडान राखेका छन् । जात्रामा बलि दिन भक्तालुहरुले भाकल गरी पशुपक्षी पालिरहेको चार वर्ष भइसकेकाले पनि जोखिम न्यूनीकरणका उपाय अपनाएर जात्रा गर्नुपर्ने उनीहरुको अडान छ ।

 

जात्रामा बाराही माईलाई बलि दिन पालेको राँगा गत वर्ष जात्रा नभएपछि वडा कार्यालय तथा स्थानीय गुठियारहरुबाट दानापानीको व्यवस्था गरी पालिँदै आएको छ । धर्म-संस्कृति र परम्पराअनुसार जात्रा सञ्चालन गर्नैपर्ने भए विधि मात्र पुर्‍याएर व्यवस्थापन गर्ने गरी प्रस्ताव गर्न नगर प्रमुख विष्टले सम्बद्ध समुदायलाई आग्रह गरेका छन् ।