close

हरेक अस्पतालले अक्सिजन प्लान्ट जडान गर्नैपर्छ: मुख्यमन्त्री पौडेल

हरेक अस्पतालले अक्सिजन प्लान्ट जडान गर्नैपर्छ: मुख्यमन्त्री पौडेल

Trulli
ADVERTISEMENT

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रत्येक अस्पतालले कोभिड संक्रमितका बिरामीलाई उपचार सेवामा सहजीकरण गर्न अस्पतालको व्यवस्थापनलाई चाँडोभन्दा चाँडो अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएका छन् । 


पौडेलले प्रदेशका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख र स्थानीय तहका प्रमुखसँग आइतबार साँझ भर्चुअल संवाद गर्दै प्रत्येक अस्पतालले उपचार सेवालाई उच्च प्राथमिकतामा राखेर संक्रमित बिरामीलाई उपचार सेवा प्रदान गर्न स्थानीय प्रशासन र जिल्ला समन्वय समितिका प्रमुखबीच समन्वय तथा सहकार्यका साथ अघि बढ्न आग्रह गरेका छन् ।

 

अक्सिजन प्लान्टको जडान गर्न र अन्य आवश्यकीय व्यवस्थापन मिलाउन प्रदेश सरकारले बजेट विनियोजन गरिसकेको र समुदाय स्तरमा अनावश्यक भीडभाड हुन नदिन स्थानीय निकायलाई जनशक्ति परिचालन गर्न मुख्यमन्त्रीले आग्रह गरेका छन् ।


भर्चुअल संवादमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले प्रत्येक जिल्लाका गाउँटोलबीच जनचेतना फैलाउन र बिरामीलाई सम्भावपूर्ण व्यवहार गर्न स्थानीय निकायले घरदैलो अभियान सञ्चालन गर्न मन्त्रालयले नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरेको उल्लेख गरीन् ।

 

बस्नेतले प्रदेश सरकारको संक्रमण रोकथामलाई पहिलो प्राथमिकतामा राखेर अस्पताललाई अक्सिजन सिलिन्डर, आवश्यकीय चिकित्सक र स्वास्थ्यकर्मी तथा पिसिआर परीक्षणको दायरा बढाउन सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयलाई बजेट निर्देशित गरिसकिएको पनि जानकारी दिइन् ।

    
प्रदेश सरकारले १३ वटै जिल्लाका अस्पतालमा आइसियु कक्ष र भेन्टिलेटर कक्षको व्यवस्थापन मिलाइएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तमराज सेढाईंले जानकारी दिए ।  १३ वटै जिल्लाका मेडिकल सुपरिटेन्डेन्ट र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखसँग पनि मुख्यमन्त्री पौडेलले कोभिड अस्पतालमा बिरामीको उपचार भइरहेको विषयमा जानकारी लिएका थिए ।