close

कोरोनासँग लड्न के गर्दैछन् दिप्रुङ, हलेसी र साकेला ? 

कोरोनासँग लड्न के गर्दैछन् दिप्रुङ, हलेसी र साकेला ? 

Trulli
ADVERTISEMENT

 


खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कोभिड–१९ बाट संक्रमितको मृत्यु भएको अवस्थामा दाहसंस्कार गर्ने स्थान निर्धारण गरेको छ । 

 

कोरोना महामारी रोकथाम तथा नियन्त्रण नगस्तरीय समन्वय समितिका संयोजक एवं नगरप्रमुख इवन राईको अध्यक्षतामा आइतबार हलेसीमा बसेको बैठकले होम आइसोलेसन वा नगरपालिकाले बनाएको संस्थागत आइसोलेसनमा संक्रमितको मृत्यु भएपछि गरिने दाहसंस्कार गर्ने स्थानबारे छुट्टाछुट्टै व्यवस्था गर्ने निर्णय गरेको हो । 

 

होम आइसोलेसनमा संक्रमितको मृत्यु भए आफन्तको इच्छाअनुसार स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर दाहसंस्कार गर्न अनुमति दिने तर नगरपालिकाले बनाएको संस्थागत आइसोलेसनमा संक्रमितको मृत्यु भए नेपाली सेनाको सहयोगमा घाटमा लगेर जलाउने वा पाखामा पुरेर सदगद गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको नगरप्रमुख राईले जानकारी दिए । 

 

घाटमा लगेर जलाउने संस्कार भएका संक्रमितको शव दूधकोसी किनारको महादेवबेँसीमा लगेर जलाइने र जमिनमा गाड्ने संस्कार भएका संक्रमितको शव भने हलेसीको तिल्केचौरमा पु¥याएर सदगद गर्ने टुंगो लगाइएको छ ।

 

‘संक्रमणका बेला दाहसंस्कारसम्बन्धी समस्या आउन सक्छ । सोही कारण होम आइसोलेसनमा संक्रमितको मृत्यु भए आफन्तको इच्छाअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर दाहसंस्कार गर्न दिइन्छ,’ नगरप्रमुख राईले भने, ‘यदि नगरपालिकाले बनाएको आइसोलेसन सेन्टरमा संक्रमितको मृत्यु भए संस्कारअनुसार घाटमा लगेर जलाउने वा पाखामा गाड्ने गरी स्थान निर्धारण गरिएको छ ।’ 


अत्यावश्यकबाहेकका सेवा बन्द 

 

हलेसी तुवाचुङ नगरपालिकाले नगरपालिका, वडा कार्यालय एवं सेवा केन्द्रबाट प्रवाह हुँदै आएको सेवा प्रवाह अर्को सूचना जारी नभएसम्म बन्द गरेको छ । 

 

नयाँ भेरियन्टसहितको कोरोना भाइरसको महामारीलाई दृष्टिगत गर्दै २० वैशाखदेखि स्वास्थ्य संस्थाबाहेकका सबै सरकारी कार्यालयको सेवा बन्द गरेको नगरपालिकाले पुनः अर्को सूचना जारी नभएसम्म सेवा बन्दको अवधि थपेको हो ।

 

नगरपालिकाका प्रशासन शाखाका कर्मचारी, सुरक्षा गार्डलगायत ४ जनालाई संक्रमण पुष्टि भएपछि आइतबारदेखि लागू हुने गरी नगरपालिका र नगरभित्रका ११ वटा वडा कार्यालय, सेवा केन्द्रलगायतको अत्यावश्यकबाहेकका सेवा बन्दलाई पुनः अर्को सूचना जारी नभएसम्म निरन्तरता दिने निर्णय गरिएको हो ।बैठकले नगरपालिकाको सीमानाका सिललाई पनि निरन्तरता दिने निर्णय गरेको छ । 


बैठकले आउँदै गरेको दिवाली, साकेलाजस्ता पर्वलाई औपचारिकताका लागि मात्र मनाउन, सरकार र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले जारी गरेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डलाई कडाइसाथ पालना गर्ने÷गराउने निर्णय गरेको छ । 

 

साकेलामा सिल 

 

कोभिड–१९ को संक्रमण दर तीव्र गतिमा बढेपछि साकेला गाउँपालिकालाई थप साताव्यापी सिल गरिएको छ । कोभिड–१९ बाट संक्रमित भेटिएपछि कोभिड संकट व्यवस्थापन समितिको गत २५ वैशाखको निर्णयअनुसार साताव्यापी सिल गरिएको गाउँपालिकालाई पुनः आइतबारदेखि लागू हुने गरी थप कडाइसाथ सिल गरिएको हो ।

 

कोभिड–१९ को संक्रमण दर तीव्र गतिमा फैलिरहेको पाइएकाले गाउँपालिकाभित्र आउजाउ गर्न नपाउने गरी पालिका पूर्ण सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत रविन मगरले बताए । 

 

सिल गरिएसँगै साकेलामा प्रवेश गर्न र बाहिरिन कडाइ गरिएको छ । गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्काले जारी गरेको सूचनामा आइतबारदेखि नै आफ्नो कार्यालयको आन्तरिक, प्रशासनिक कामकाज र अत्यावश्यकबाहेक अन्य सेवा प्रवाह बन्द गरिएको जनाइएको छ । 

 

यसअघिको साता दिन कार्यालयबाट अघोषित रूपमा सेवा प्रवाह बन्द गरिएकामा आइतबारदेखि भने घोषणा गरेरै अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत मगरले जानकारी दिए । गाउँपालिकाले यस अवधिमा पालिकाभित्र भीडभाडका बीच हुने भोजभतेर, समीक्षा, गोष्ठी, तालिम नगर्न/गराउन अनुरोध गरेको छ । 


गाउँपालिकाले यसअघि संक्रमित क्षेत्रबाट आउने पालिकाबासीले सम्बन्धित वडा कार्यालयमा पिसिआर रिपोर्ट पेस गर्नुपर्ने र कम्तीमा १० दिनसम्म होम आइसोलेसनमा बस्नुपर्ने, बढीमा १० जनाको उपस्थितिमा मात्र विवाह, व्रतबन्ध, पास्नी, दिवालीजस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रम गर्ने/गराउने, त्यस्ता कार्यक्रममा गाउँपालिकाभन्दा बाहिरका आफन्तलाई नबोलाउने, बोलाउनै परे पिसिआर परीक्षण गरेको नेगेटिभ रिपोर्ट लिएर मात्र आउन निमन्त्रणा गर्ने÷गराउने व्यवस्थाका लागि सूचना जारी गरेको थियो ।

 

दिप्रुङमा जमघट गरेर चाडवाड मनाउन रोक 


कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि दिप्रुङ चुइचुम्मा गाउँपालिकाले घरभन्दा बाहिर जमघट गरेर चाडवाड मनाउन रोक लगाएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कोभिड संक्रमण तथा नियन्त्रण कार्यदलको आइतबार बसेको बैठकले घरबाहिर जमघट गरेर नाचगान, भोजभतेर, विवाह, व्रतबन्ध, दिवाली, साकेला, उभोलीजस्ता विभिन्न जातजाति तथा धर्मावलम्बीको धार्मिक तथा सांस्कृतिक कार्यमा रोक लगाउने निर्णय गरेको हो ।

 

गाउँपालिका अध्यक्ष तथा कोभिड संक्रमण तथा नियन्त्रण कार्यदलका संयोजक भूपेन्द्र राईको अध्यक्षतामा बसेको बैठकले जातीय संस्कार र संस्कृतिलाई भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर आ–आफ्नो घरमा मनाउने व्यवस्थाका लागि आग्रह गरेको छ ।