close

बाटाे न वाहन, डोजरले बाेक्छ संक्रमितको शव 

बाटाे न वाहन, डोजरले बाेक्छ संक्रमितको शव 

Trulli
ADVERTISEMENT

तनहुँ- आइतबार राती साढे ८ बजे देवघाट गाउँपालिका वडा नम्बर ५ की ६८ वर्षीया महिलाको मृत्यु भयो । कोरोनाको शंका लागेपछि आइतबार दिउँसो उनको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएको थियो ।


सोमबार बिहान आएको पिसिआर रिपोर्टमा उनलाई कोरोना पोजेटिभ पुष्टि भयो । कोरोना पुष्टिपछि सामान्य अवस्थामा जस्तै आफन्तले शव बोकेर घाटमा पुर्‍याउन सक्ने अवस्था थिएन । कारण थियो, कोरोना संक्रमणको जोखिम ।

 

मृतक महिलाको शव डोजरले बोकेरै त्रिशूली घाटमा पुर्‍याइयो । स्वास्थ्य मापदण्ड पालना गरी परिवारका सदस्यले नै शव जलाए । 


शव वाहन नहुँदा मृतकका आफन्तको डोजरमा लगेर व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले बताए । ‘शव वाहन आवश्यक छ । चाउचाउ बिस्कुट किनेजस्तो होइन’, उनले भने, ‘यो अलि दुर्गम ठाउँ भएको हुँदा जहाँ जे छ, त्यसैलाई म्यानेज गर्ने हो । वडा नम्बर १, २, ३, ४ असाध्यै दुुर्गम ठाउँ हुन् । त्यहाँ संक्रमितको मृत्यु भए पिपिई लगाएर आफन्तले शव बोकेर लैजाने हो । शव वाहनको कुनै अर्थ छैन ।’ 

 

शव वाहन खरिद गर्ने योजना नै नरहेको अध्यक्ष थापाले स्पष्ट पारे । गाउँपालिकाको आफ्नै एम्बुलेन्ससमेत नभएको उनले सुनाए । कोरोना संक्रमित बोक्न गाउँपालिकाले रेडक्रसको एम्बुलेन्ससँग सम्झौता गरेको छ ।

 

एम्बुलेन्स खरिदका लागि भने आगामी आर्थिक वर्षमा बजेट व्यवस्था गर्ने योजना रहेको उनले बताए । जिल्लाका १० वटै स्थानीय तहमा शव वाहन छैन । कोरोनाको माहामारी बढेपछि व्यास नगरपालिकाले भाडाको शव वाहन सञ्चालनमा ल्याएको छ । 

 

प्रमुख जिल्ला अधिकारी सागर आचार्यका अनुसार जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराले सञ्चालन गर्ने गरी अर्को शव वाहन व्यवस्थापन हुँदै छ ।

 

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्दै गएपछि शव वहान अभाव खड्किएको आचार्य बताउँछन् । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले सूर्य नेपालले दिन लागेको गाडीलाई शव वाहन बनाएर सञ्चालनमा ल्याउने निर्णय भएको उनको भनाइ छ । 

 

‘सूर्य नेपालसँग व्यावसायिक उत्तरदायित्व वहन गर्दै शव वाहन उपलब्ध गराउन भनेका थियौँ । यो बेला शव वाहन ल्याउन अलि गाह्रो भएकाले एउटा गाडी शव वाहनको रूपमा प्रयोग गर्ने गरी दिन भनेका छौँ । त्यसैलाई जिपी श्वासप्रश्वासमा राखेर सञ्चालनमा ल्याउँछौँ’, उनले भने ।