close

अक्सिजन उत्पादन क्षमता बढाउँदै चितवनका अस्पताल

अक्सिजन उत्पादन क्षमता बढाउँदै चितवनका अस्पताल

Trulli
ADVERTISEMENT

चितवन- अक्सिजन अभाव हुन थालेपछि चितवनमाका अस्पतालले प्लान्टको क्षमता विस्तार गर्न थालेका छन् । बाहिरी जिल्लाबाट अक्सिजन आउन छाडेपछि मागअनुसार अक्सिजन पुर्‍याउन कठिन भएपछि चितवन मेडिकल कलेज र भरतपुर अस्पतालले प्लान्ट विस्तार गर्न लागेका हुन् । 

 

कोरोनाको उपचार गराइरहेका दुई सरकारी र दुई मेडिकल कलेजमा आफ्नै प्लान्ट भएपनि बिरामीको सङ्ख्या बढेपछि उद्योगबाट अक्सिजन ल्याउनु पर्ने बाध्यता रहेको थियो । पुरानो मेडिकल कलेजले गैँडाकोटमा रहेको आफ्नो प्लान्टलाई विस्तार गर्दैछ । अस्पतालका अनुसा २४ घण्टामा ४०० सिलिण्डर उत्पादन हुँदै आएकामा २०० सिलिण्डरको क्षमता थप गर्न लागिएको हो । यसै हप्ता थप उत्पादन गर्ने तयारी गरिएको अस्पताल प्रशासनले जनाएको छ । सो मेडिकल कलेजमा हाल दैनिक ३०० सिलिण्डर आवश्यक पर्ने गर्दछ । 

 

त्यसतै चितवन मेडिकल कलेजले एक दिनमा ६००  सिलिण्डर उत्पादन हुने नयाँ प्लान्ट ल्याउँदै छ । हाल अस्पतालको प्लान्टले २०० सिलिण्डर हाराहारीमा अक्सिजन उत्पादन गर्दै आएको छ । बिरामीको चाप बढेपछि हाल दैनिक ४०० सिलिण्डर अक्सिजनबाहिरबाट ल्याउनुपरेको छ । 

 

भरतपुर अस्पतालले नयाँ प्लान्ट थप गर्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयबाट १२ करोडको बजेट आउने भएकाले छिट्टै प्रक्रिया अघि बढाइँदै छ । अस्पतालमा दैनिक थप २४० सिलिण्डर उत्पादन हुने गरी प्लान्ट जडान गर्न लागिएको हो  । भरतपुर अस्पतालमा हाल रहेको प्लान्टले दैनिक ७५ सिलिण्डर अक्सिजन उत्पादन गर्छ भने खपत २०० भन्दा बढी रहेको छ ।

 

स्वास्थ्य कार्यालय चितवनका अनुसार दैनिक एक हजार २०० सिलिण्डर जिल्लाका अस्पतालहरूमा आवश्यक पर्दछ । यहाँका चार अस्पताल र एउटा निजी उद्योगको गरी ८८० सिलिण्डर मात्रै उत्पादन हुँदै आएको छ । दैनिक ३२० सिलिण्डर अक्सिजन जिल्लामा अपुग भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।