close

कुइनेमंगले जोड्न तात्यो गाउँपालिका, अक्करे भीरमा चल्दैछन् ५ डोजर

कुइनेमंगले जोड्न तात्यो गाउँपालिका, अक्करे भीरमा चल्दैछन् ५ डोजर

Trulli
ADVERTISEMENT

म्याग्दी– म्याग्दीको रघुगंगा गाँउपालिकाको केन्द्र मौवाफाँटदेखि दर्मिजा, चिमखोला र कुइनेमंगले जोड्ने सडक आयोजना निर्माण सुरु भएको छ ।

जिल्लाकै जोखिमयुक्त मानिने दग्नामको भीर छिचोलेर भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने कुइनेमंगलेलाई सडक सञ्जालमा जोड्न आयोजना सुरु गरेको रघुगंगा गाउँपालिकाले जनाएको हो ।

चिमखोला र कुइनेमंगले भएर बग्ने जलविद्युत् आयोजना र प्रदेश सरकारसँगको साझेदारीमा अक्करे भीरमा चट्टानी पहाड फुटाएर दुर्गम गाउँलाई सडक सञ्जालमा जोड्न आयोजना निर्माण सुरु गरेको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

‘अजिंगर भीरमा सडक खन्न यो वर्ष गाउँपालिकाले १ करोड ५० लाख र गण्डकी प्रदेश सरकारले ५० लाख विनियोजन गरेको छ’, अध्यक्ष भण्डारीले भने, ‘पहिलो चरणमा जलविद्युत् आयोजनामार्फत ट्रयाक खोल्ने काम भइरहेको छ ।’

जलविद्युत् आयोजनाहरूसँग ट्रयाक निर्माणका लागि सरकारको बराबर लगानी गर्ने सम्झौता भएको छ ।मौवाफाँट–दग्नाम–दर्मिजा हुँदै चिमखोला जोड्ने सडक रघुगंगा गाउँपालिकाको गौरवको आयोजना हो । मौवाफाँटदेखि दग्नाम हुँदै अजिंगर भीर ५ किलोमिटर र चिमखोलादेखि दर्मिजासम्म करिब ४ किलोमिटर सडकको ट्रयाक खुलिसकेको गाउँपालिकाका सबइन्जिनियर कमल चोखालले जानकारी दिए ।

गाउँपालिका, प्रदेश सरकार र जलविद्युत् आयोजनाले फरक–फरक ठाउँमा काम गर्ने उनले बताए । ‘चिमखोला र कुइनेमंगलमा निर्माणको क्रममा रहेका जलविद्युत् आयोजनाहरूको सहयोगमा नेपाली सेनाको निगरानीमा विस्फोटक पदार्थको प्रयोग गरेर चट्टान फुटाउन थालिएको छ’, उनले भने ।

दर्मिजा र दग्नाम दुवै तर्फबाट ५ वटा डोजरका साथै मजदुर परिचालन गरेर ट्रयाक खन्ने काम भइरहेको दर्मिजाका  सुविन शेरपुञ्जा बताउँछन् । ‘अजिंगर भीरमा करिब १ किलोमिटर ट्रयाक खुलेपछि रघुगंगा–४, दर्मिजा– ७ को चिमखोला र ८ वडाको कुइनेमंगले सीधा सडक सञ्जालमा जोडिनेछन्’, उनले भने, ‘भीरमा करिब डेढ सय मिटर ट्रयाक खोलिसकिएको छ ।’

गत आर्थिक वर्ष प्रदेश सरकार र संघीय सरकारले पनि दग्नाम–दर्मिजा–चिमखोला सडक आयोजनालाई रकम विनियोजन गरेका थिए ।

२०६७ मा स्थानीय, तत्कालीन जिविस र गाविसको ६० लाख लागतमा निर्माण भएको भगवती, बेग–चिमखोला हँुदै घ्यासीखर्क जोड्ने ५६ किलोमिटर दूरीको सडक घुमाउरो, प्राविधिक हिसाबले अनुपयुक्त, जोखिमयुक्त र लामो दूरीको भएकाले विकल्पमा नयाँ सडक निर्माण हुन लागेको हो ।

स्थानीयले हाल गाउँमा सडक पुगे पनि यातायात सुविधा भने पाएका छैनन् । सदरमुकाम बेनी र गाउँपालिका केन्द्र मौवाफाँट आउजाउ गर्न दग्नाम–दर्मिजाको पैदलमार्ग प्रयोग गर्नुपर्ने बाध्यता रहेको कुइनेमंगले खरिबोटका खिमबहादुर छन्त्याल बताउँछन् ।

सडकमा गाडी चढ्दा पूरै दिन लाग्ने तर हिडेर ५÷६ घन्टामै बेनी आउन सकिन्छ । दर्मिजा, चिमखोला र कुइनेमंगलेका करिब १ हजार घरधुरी भीरपहरा, जंगल र खोल्साखाल्सीमा जोखिम मोलेरै हिँड्नुपर्ने बाध्यता छ ।

बिरामी पर्दा र अन्य कामले सदरमुकाम आउजाउका लागि पैदल यात्रा गर्नुपर्छ । खच्चर, भरिया र ट्याक्टरबाट गरिने ढुवानी भाडा महँगो पर्ने स्थानीय बताउँछन् ।

निर्माणाधीन सडक पुरानोभन्दा आधा छोटोका साथै सुरक्षित र सस्तो पनि हुनेछ । अजिंगर भीरमा सडक बनेपछि सो क्षेत्रको जनजीवन सहज बन्नुका साथै राहुघाट र आसपासका नदीमा निर्माणको अनुमति लिएर बसेका जलविद्युत् आयोजनाले गति लिने रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।