close

कोसेली बोकेर संक्रमित भेट्न घरघरमै पुग्दैछन् जनप्रतिनिधि 

कोसेली बोकेर संक्रमित भेट्न घरघरमै पुग्दैछन् जनप्रतिनिधि 

Trulli
ADVERTISEMENT

तनहुँ– देशभर कोरोना भाइरसको दोस्रो लहर तीब्र गतिमा फैलिरहेको छ । दैनिक हजारौँ संक्रमित थपिएका छन् । सयौँले ज्यान गुमाएका छन् । कोरोनाबाट बच्न अस्पतालको शय्यामा हजारौँ संक्रमित छट्पटाइरहेका छन् ।

 

कोरोना जित्ने औषधी संक्रमितको आत्मबल हो ।  पोषिलो खानपिनले पनि रोग प्रतिरोधात्मक क्षमता बढाएर कोरोनालाई परास्त गर्न सघाउँछ ।

 

केन्द्र सरकार र जनप्रतिनिधिले उपचारमा समेत दासिनता देखाइरहेका वेला संक्रमितको मनोबल बढाउन शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मी आईसोलसनमा बसेकाहरुको घर–घरमा पुग्ने गरेका छन् । उनीसँगै वडाका जनप्रतिनिधि र स्वास्थ्यकर्मी पनि हुन्छन् । 

 

वडाध्यक्ष रेग्मी नेतृत्वको टोली संक्रमितलाई स्वास्थ्य लाभको कामना गर्दै पौष्टिक आहर र स्वास्थ्य सामाग्री कोशेली बाँडछन् ।  होम आइसोलेशनमा रहेका संक्रमितको स्वास्थ्य अवस्था बारे जानकारी लिदै भिटामिन सि, भिटामिन वि कम्प्लेक्स, मास्क, स्यानीटाइजर, थर्मोमिटर, अक्सिमिटर, ग्लोब्स, प्यारासिटामोल,  हर्लिक्स र जुस दिने गरेको रेग्मीले जनाए । 

 

घरमा पुग्दा संक्रमितले स्वास्थ्यको मापदण्ड पालना गरे नगरेको पनि निरीक्षण हुने उनको भनाइ छ । कोरोना पुष्टि भएपछि संक्रमितको आत्मबल बढाउन जरुरी रहेको वडाध्यक्ष रेग्मी बताउँछन् । 

 

उनी भन्छन्, ‘होम आईसोलेसनमा बसेकालाई छिमेकीले पनि नकारात्मक दृष्टिकोणले हेर्छन् । यस्तो बेला त सबैजना मिलेर आत्मबल बढाउन लाग्नुपर्छ । तसर्थ हामीले संक्रमितको घर–घरै पुगेर भेट्ने अभियान चलाएका हौँ ।’ 

 

आफुहरु संक्रमितको घरमा पुगेर भेट्दा समाजमा कोरोना संक्रमितलाई गर्ने व्यवहारमा परिवर्तन आउने रेग्मीले बताए ।


यो वडामा हालसम्म १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये २ जना निको भएका छन् । १४ जना सक्रिय संक्रिमत छन् । १० जना होम आईसोलेसनमा रहेको वडा सदस्य सृजना विकले जानकारी दिइन् । 

 

कोरोना भाईरसको संक्रमणदर तिब्र गतिमा फैलदै गएपछि वडामै आईसेलेसन बनाउने तयारी समेत गरिएको छ । केही दिन अहिलेको दरमा संक्रमण फैलदै गएमा नगरपालिकाको आईसोलेसनमा संक्रमितको चाप धान्न नसक्ने अवस्था नहुने भएकाले वडामै आईसोलेसन बनाउन लागिएको हो । 

 

हिमाली टोलको सामुदायिक भवनलाइ आइसोलेसन बनाउन तयारी अवस्थामा राखिएको छ । ‘आईसोलेसन तयारी अवस्थामा छ । घरमा बस्न नमिल्ने सामान्य अवस्थाका संक्रमितलाई आइसोलेसनमा राख्नेछौँ’, वडा सदस्य विकले भनिन् । यस्तै, वडाले दिर्घ रोगीको औषधी खरिद गर्न सहजीकरण समेत गर्दै आएको छ ।