close

दाताले दिँदा एम्बुलेन्स, सञ्चालनमा आउँदा यात्रु बाेक्ने जिप !

दाताले दिँदा एम्बुलेन्स, सञ्चालनमा आउँदा यात्रु बाेक्ने जिप !

Trulli
ADVERTISEMENT

बागलुङ- दातासँग एम्बुलेन्स भनेर ल्याइएको गाडी भाडाको सवारीमा परिणत गरिएको छ । बागलुङको जैमिनी नगरपालिका वडा नम्बर २ दमेकमा जापानको सामाजिक संस्था ‘सन्स वल्र्ड भिजन’ ले एम्बुलेन्स भनेर अनुदानमा दिएको बोलेरो जिप सार्वजनिक सवारीको रूपमा प्रयोगमा ल्याइएको हो ।

 

२०७५ वैशाख पहिलो साता एम्बुलेन्सका रूपमा दाताले हस्तान्तरण गरेको जिप १ महिना नबित्दै सार्वजनिक सवारीको रूपमा प्रयोगमा ल्याइएको हो । संस्थाले स्थानीय सरस्वती प्राथमिक विद्यालयले सञ्चालन गर्ने गरी उक्त जिप हस्तान्तरण गरेको थियो ।

 

विद्यालय भवन निर्माण गरिदिएको संस्थाले एकै पटक भवन र बोलेरो हस्तान्तरण गरेको थियो । ६५ लाख उपलब्ध गराएको संस्थाले ४० लाख विद्यालय भवन र २५ लाख रुपैयाँ एम्बुलेन्स खरिदका लागि हस्तान्तरण कार्यक्रममा सन्स वल्र्ड भिजनका कार्यकारी प्रमुख काजु योसी यामानाले बताएका थिए । हस्तान्तरणको केही समयपछि दाताले एम्बुलेन्सका लागि आवश्यक रकम नदिएको भन्दै जिपलाई सार्वजनिक सवारीको रूपमा प्रयोग गरिएको हो ।

 

उक्त जिप साविकको दमेक गाविस वडा नम्बर ६ मा निर्माणाधीन लक्ष्मीनारायण पञ्चदेव मन्दिरको नाममा दर्ता छ । एम्बुलेन्स भनेर ल्याएको जिप मासिक भाडा असुल्ने गरी लक्ष्मीनारायण पञ्चदेव मन्दिर व्यवस्थापन समितिले व्यक्तिलाई सञ्चालनको जिम्मेवारी दिएको स्थानीय होमनाथ सापकोटाले बताए । ‘मलाई सम्झना छ, पोखराको यादव ब्रदर्सबाट पूरा पैसा तिरेर जिप ल्याइएको हो,’ सापकोटाले भने, ‘अहिले पूरा पैसा नआएको भन्नु गलत हो ।’


कोरोना महामारीको समय सम्भावित परिस्थितिमा एम्बुलेन्स आवश्यक पर्ने भन्दै स्थानीयले दाताले दिएको एम्बुलेन्स खोजी गरेका छन् । एम्बुलेन्स खोजी हुँदा सार्वजनिक सवारी बनेको रहस्य बाहिर आएको हो । 

 

अहिले उक्त जिप दमेकदेखि बागलुङका यात्रु ओसारपसारमा प्रयोग हुँदै आएको छ । ‘दाताले १० लाख रुपैयाँ मात्रै दिएको हो । बाँकी रकम मन्दिरले खर्चेको छ,’ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेम सापकोटा भन्छन्, ‘भन्सार छुटमा एम्बुलेन्स ल्याउने प्रक्रिया रोकिएपछि सोही जिप मन्दिरले सञ्चालनमा ल्याएको हो । एम्बुलेन्स ल्याउन तयार भएका फाइल अहिले पनि प्रशासनमा अड्किएका छन् ।’


जैमिनी नगरपालिका कार्यपालिका सदस्यसमेत रहेका सापकोटाकै पहलमा विद्यालय भवन निर्माण र एम्बुलेन्स खरिदका लागि आएको थियो । जापानमा रहेका सोही ठाउँका विष्णु सापकोटाले संस्थासँग समन्वय गरेर ६५ लाख रुपैयाँ गाउँ भित्र्याएका थिए । 


हस्तान्तरण कार्यक्रममा ३५ लाखको भवन र २५ लाख रुपैयाँको जिप भनेर विवरण सार्वजनिक गरेकाहरूले नै अहिले भवनका लागि ५५ लाख खर्च भएको दाबी गर्न थालेका छन् । सार्वजनिक सवारीको रूपमा प्रयोग भएको जिपबाट हुने आम्दानी मर्मत र मन्दिरको ऋण चुक्तामा खर्च हुने गरेको सापकोटाले बताए ।

 

‘बिरामी लग्नुपरे आधा भाडा छुट हुन्छ । वडाभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क बोक्ने गरेका छौँ,’ सापकोटाले भने, ‘एम्बुलेन्स भनेको होइन, मन्दिरले चलाउने गरी ल्याइएको हो ।’ दमेकका स्थानीय भने मासिक ३५ देखि ४० हजार रुपैयाँ लिने गरी व्यक्तिलाई चलाउन दिएको दाबी गर्छन् ।

 

एम्बुलेन्स भनेर ल्याएको सवारी भाडामा सञ्चालन हुँदै आएको विषयमा आफूलाई जानकारी नभएको वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले बताए । जैमिनी नगरपालिकालाई समेत जानकारी गराएको मन्दिरले बताए पनि एम्बुलेन्स वा मन्दिरको सार्वजनिक सवारी हो भन्ने विषयमा नगरले खोजी गरेको छैन ।

 

गाडी हस्तान्तरण कार्यक्रममा नगरप्रमुख इन्द्रराज पौडेल, संविधानसभा सदस्य प्रकाश शर्मा पौडेललगायतले दमेकले एम्बुलेन्स पाएको भन्दै खुसी व्यक्त गरेका थिए ।