close

तनहुँमा सरकारीबाहेकका निर्माण कार्यमा रोक 

तनहुँमा सरकारीबाहेकका निर्माण कार्यमा रोक 

Trulli
ADVERTISEMENT

तनहुँ- तनहुँ प्रशासनले विकास निर्माण कार्यमा कडाइ गरेको छ । कोरोनाको जोखिम बढ्दै गएपछि बुधबारदेखि सरकारी योजना तथा आयोजनाबाहेकका निर्माण स्थगित गर्न आदेश जारी गरेको हो । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको निर्णयबमोजिम जारी यो आदेश १५ जेठसम्म लागु हुने तनहुँ प्रशासनले जानकारी दिएको छ ।

 

आदेश पालना गराउन व्यक्ति, संघ-संस्था, पेसाकर्मी, व्यवसायी र जिल्लावासीलाई अनुरोध गरिएको छ । आदेशको उल्लंघन गरे संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही गर्ने चेतावनी दिइएको छ ।

 

व्यक्तिगत निर्माणका कामले कोरोना संक्रमणको जोखिम बढेपछि कडाइ गर्नुपरेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए । ‘लाइन लागेर घर ढलानका काम गर्ने । न मास्क छ, न त स्वास्थ्य सुरक्षाका उपाय अपनाइएको छ । कसैले नटर्ने । जिम्मेवार बनाउनै सकिएन’, उनले भने । 

 

सरकारी योजनाका ठेक्का पाएका निर्माण व्यवसायी र व्यवस्थापकलाई जिम्मेवार बनाएर काम गर्न दिइने उनले बताए । तनहुँमा पहिलो चरणमा २२ वैशाखदेखि र दोस्रो चरणमा थप १५ जेठसम्मका लागि निषेधाज्ञा जारी छ ।

 

निषेधाज्ञाभर जिल्लामा अत्यावश्यकबाहेकका सेवा क्षेत्र बन्द छन् । खाद्यान्न, तरकारी, फलफूल, दुध, माछामासु, दाना, पशुपक्षीको उत्पादन र बिक्री वितरणका लागि बिहान ५ देखि ९ बजेसम्म समय तोकिएको छ ।


बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेवा पनि स्वास्थ्य मापदण्ड पालना गरी न्यूनतम कर्मचारीको उपस्थितिमा आन्तरिक कार्य सञ्चालन भएका छन् ।