close

चौदण्डीगढीमा एन्टिजेन किट सकियो, रोकिए परीक्षण

चौदण्डीगढीमा एन्टिजेन किट सकियो, रोकिए परीक्षण

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको चौदण्डीगढी नगरपालिकामा कोरोना परीक्षणका लागि आवश्यक पर्ने एन्टिजेन्ट किट सकिएको छ । किट सकिएसंँगै परीक्षण रोकिएको छ ।

 

नगरपालिकाले ५ सय किट खरिद गर्ने भने पनि किट नपाएपछि १ ५० थान खरिद गरेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

 

पिसिआर किट पनि २०० थान खरिद गरिएकामा १०० थान मात्र बाँकी रहेको नगर स्वास्थ्य शाखाका उप–संयोजक तेजबहादुर पोखरेलले जानकारी दिए ।

 

एन्टिजेन बेस टेस्टिङ र पिसिआर परीक्षणले शरीरमा भाइरसको संक्रमण रहे-नरहेको पहिचान गर्छ । एन्टिजेन्ट किट ल्याउनेबारे पहल भइरहेको चौदण्डीगढी नगरपालिकाका नगरप्रमुख खगेन्द्र राईले बताए । 

 

एन्टिजेन्ट र पिसिआर परीक्षणका लागि प्रयोगशाला, विशिष्टकृत उपकरण, विभिन्न किट, धेरै थरिका केमिकल तथा जनशक्ति आवश्यक पर्छ । 

 


गाईघाट जिल्ला अस्पताललाई ४१ थान अक्सिजन सिलिन्डर 

 

गम्भीर खालका कोभिड बिरामीको संख्या बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न स्थानमा संकलन गरिएका ४१ थान अक्सिजन सिलिन्डर जिल्ला अस्पताल गाईघाटलाई बुझाएको छ ।

 

अक्सिजन अभावमा देशका विभिन्न अस्पतालमा कोभिड संक्रमितको अकालमै ज्यान गइरहेका बेला प्रहरीले संकलन गरेका ४१ थान अक्सिजन सिलिन्डर गाईघाट अस्पताललाई बुझाइएको हो । 

 

बढ्दो संक्रमणलाई ध्यानमा राखेर जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले तयारीलाई तिव्रता दिएको छ । दैनिक रूपमा कोभिड भेरिएन्ट संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले बजारमा विभिन्न स्थानमा संकलित अक्सिजन सिलिन्डर अस्पताललाई बुझाएको हो । 

 

प्रहरीले संकलन गरेको २४ थान खाली र १७ थान भरी अक्सिजन सिलिन्डर जिल्ला अस्पताललाई बुझाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक एसपी भीमबहादुर दाहालले बताए । 

 

बजारमा रहेका खाली वा भरेका अक्सिजन सिलिन्डर भए अस्पताललाई बुझाउन सरकारले गरेको निर्देशनअुनसार विभिन्न व्यक्ति तथा संस्थाबाट ती सिलिन्डर संकलन भएको हो । उदयपुर अस्पतालमा दिनदिनै संक्रमितको संख्या बढ्दै गएपछि अक्सिजन अभाव हुन नदिन जिल्ला अस्पताल र जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले प्रयास गरिरहेका छन् । 

 

जिल्ला अस्पताल गाईघाटमा तत्काललाई अक्सिजन समस्या हटेको छ । अस्पतालसँग २५ थान सिलिन्डर मौज्दात थियो । गम्भीर खाले बिरामी अस्पताल भर्ना भएर उपचाररत ५ मध्ये ३ जना संक्रमितलाई अक्सिजन दिएर उपचार गरिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. जीवनारायण मण्डलले जानकारी दिए । 

 

चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ को बेलटारस्थित उदयपुर कोभिड अस्पतालमा १२ थान, बेलटार नगर अस्पतालमा १० थान, लिमचुङको बाराहास्थित गाउँ अस्पतालमा ५ थान र कटारी नगरपालिकामा ३ थान अक्सिजन सिलिन्डर मौज्दात रहेको बताइएको छ ।  गाईघाटका निजी अस्पतालहरूमा पनि केही अक्सिजन सिलिन्डर रहेको जिल्ला अस्पताल गाईघाटले जनाएको छ ।

 

प्रशासनले जिल्लाका ८ वटै स्थानीय तहलाई अक्सिजनको व्यवस्थामा जुटन परिपत्र गरेको थियो । सदरमुकाममा ५० शय्याको जिल्ला अस्पताल गाईघाट, चौदण्डीगढी नगरमा ६० शय्याको उदयपुर कोभिड अस्पताल र ८ वटै स्थानीय तहमा १० देखि १५ शय्यासम्मका नगर तथा गाउँ अस्पताल सञ्चालन गर्ने तयारी थालिएको छ । 

 

कटारीमा १५ शय्याको अस्पताल, चौदण्डीगढीमा कोभिड अस्पतालबाहेक १५ शय्याको नगर अस्पताल तथा बेलकामा १० शय्याको नगर अस्पतालसहित ताप्ली, उदयपुरगढी, लिमचुङबुङ तथा रौतामाई गाउँपालिकामा पछिल्लो समय १०/१० शय्याको गाउँ अस्पताल सञ्चालनमा ल्याइए पनि अक्सिजन पर्याप्त छैन ।