close

सुकुम्बासी बस्तीमा चल्यो डोजर : आन्दोलनकारीले तोडे जनप्रतिनिधिका घर

सुकुम्बासी बस्तीमा चल्यो डोजर : आन्दोलनकारीले तोडे जनप्रतिनिधिका घर

Trulli
ADVERTISEMENT

उदयपुर– स्थानीय सरकारले निषेधाज्ञाकै बीच सुकुम्बासी बस्तीमा डोजर चलाएपछि कटारी बजार तनावग्रस्त बनेको छ । वर्षौंदेखि भोगचलन गर्दै आएको सुकुम्बासी बस्तीमा एक्कासि डोजर चलाएपछि प्रभावित स्थानीय आन्दोलित भएका हुन् ।

 

आन्दोलन नियन्त्रण गर्न स्थानीय प्रहरीले नसकेपछि जिल्लाबाट थप सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले बताए । आन्दोलनकारीलाई रोक्न प्रहरीले आधा दर्जन अश्रुग्यास प्रहार गरेको थियो । 


सुकुम्बासी बस्तीमा डोजर चलाएपछि आन्दोलनकारीले नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ, नगर उपप्रमुख भीमकुमारी राउत, वडाध्यक्ष कृष्णबहादुर दनुवार र इन्जिनियर ओम मिश्रको घर घेरा हालेर तोडफोड गरेका छन् । 

 

कटारी नगरपालिका वडा नम्बर ४ सिम्लेस्थित नगरपालिका भवन बनाउन छुट्याइएको जग्गामा स्थानीयले रातारात घर बनाएपछि सुरक्षाकर्मीको सहयोग लिएर घर भत्काइएको हो ।


सार्वजनिक जग्गा कित्ता नं. १०८, ७८ र १८८ मा २ बिघा ६ कठ्ठा जग्गामा निषेधाज्ञाको मौका छोपेर रातारात घर बनेपछि नगरपालिकाले घर भत्काइदिएको रिसमा स्थानीयले उपद्रव गरेको कटारी इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

 

नगरपालिकाले घर भत्काएको भन्दै उनीहरूले नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, इन्जिनियरविरुद्ध नाराबाजी गर्दै बजार परिक्रमा गरेका
थिए । कटारी नगरपालिका वडा नम्बर ४ सिम्लेका मानबहादुर दनुवार, सन्तबहादुर सुनुवारको घर नगरपालिकाले भत्काएको भन्दै स्थानीय आक्रोशित बनेका हुन् ।

 

मानबहादुर दनुवार मृत्यु भएको बुधबार मात्रै ३ दिन भएको र आफन्तहरू शोकमा रहेका बेला नगरपालिकाले घर भत्काएपछि ठूलो संख्यामा स्थानीय उपस्थित भई नाराबाजी गरेका थिए । 

 

पीडित सन्तबहादुर सुनुवार भूमि अधिकार मञ्च उदयपुरका अध्यक्षसमेत हुन् । उनको घर नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष कृष्णबहादुर दनुवार र इञ्जिनियर मिश्रको उपस्थितिमा भत्काइएको थियो ।

 

नगरपालिकाले बिनाजानकारी महामारीको समय लाखौँ रुपैयाँ खर्चिएर बनाएको घर भत्काएको आरोप सुनुवारको छ । वर्षौंदेखि उपभोग गर्दै आएको जग्गामा घर निर्माण गर्दा स्थानीय सरकारले ज्यादती गरेको उनको तर्क छ ।

 

‘सार्वजनिक सम्पत्ति संरक्षण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परिपत्र गरेकाले घर भत्काइएको हो । पटक– पटक खाली गर्न सूचना जारी गर्दा अटेरी गरेकाले प्रहरीको सहयोगमा भत्काएका हौँ’, नगरप्रमुख श्रेष्ठले । बस्तीका झन्डै आधा दर्जन घर भत्काइएपछि सुकुम्बासी आन्दोलित बनेको स्थानीय खम्बबहादुर दनुवारले जानकारी दिए ।


प्रमुख जिल्ला अधिकारी सेढाईंले आन्दोलनमा भीड बढेकाले जिल्लाबाट थप सुरक्षाकर्मी पठाएको जानकारी दिए । ‘जनप्रतिनिधिका घर, गाडी तोडफोड भएको जानकारी आएको छ,’ उनले भने, ‘जिल्लाबाट थप सुरक्षाकर्मी पठाउँदै छौँ ।’