काठमाडाैं- आज भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनकाे मतदान सम्पन्न भएको छ । हेटौंडाको भुटनदेवी माविमा भएको मतदानमा कुल तीन सय ४७ मतमा तीन सय ३७ मत खसेको छ । प्रदेशतर्फ एक सय पाँच मत खसेको छ भने स्थानीय तहतर्फ दुई सय ३८ मा दुई सय ३२ मात्रै मत खसेको हो ।
स्थानीय तहतर्फ सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका निमा ग्यान्जेन शेर्पा अध्यक्ष र उपाध्यक्ष कोपिला पण्डित अनुपस्थित थिए । त्यसतै दोलखाको बिगु गाउँपालिकाका अध्यक्ष युगदिष्ठिर खड्का पनि मतदानमा उपस्थित भएनन् ।
त्यसतै अनुपस्थित हुने पालिकाका जनप्रतिनिधिमा दोलखाकी मैलुङ गाउँपालिकाकी उपाध्यक्ष कल्पना भण्डारी (एमाले), धादिङको खनियाबास गापाका अध्यक्ष रणबहादुर तामाङ (कांग्रेस), सुनिल प्रजापति भक्तपुरका प्रमुख (नेमकिपाका) थिए ।
प्रदेश सांसदतर्फ दोलखाकी प्रदेश सांसद् हिमाली गोले, (माओवादीबाट निर्वाचित) र विवेकशील नेपाली दलका ३ सांसद बिराज भक्त्त श्रेष्ठ, शोभा शाक्य र रमेश पौड्याल अनुपस्थित रहे । उपनिर्वाचनको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन मिलाइएको छ ।
प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठका अनुसार मतगणनाको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन गरिएको हो । मतदानस्थल भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यम (जुम) मार्फत सार्वजनिक गर्ने योजना बनाइएको छ ।
मतगणना साँझ ५ बजेदेखि शुरु हुनेछ भने आजै बेलुकासम्ममा नतिजा आइसक्ने निर्वाचन आयोगले जनाएको छ ।