close

निषेधाज्ञाले रोजीरोटी गुम्यो, भोकै बस्नुपर्ने बाध्यतामा मजदुर (भिडियो खबर)

निषेधाज्ञाले रोजीरोटी गुम्यो, भोकै बस्नुपर्ने बाध्यतामा मजदुर (भिडियो खबर)

ADVERTISEMENT

बैतडी-कोरोना भाइरसको संक्रमण निरन्तर बढीरहेको छ । संक्रमण बढेसँगै अहिले ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाका कारण सबैभन्दा असर मजदुर वर्गलाई परेको छ । पहिलो पटक देशव्यापी लकडाउन हुँदा मजदुरका लागि स्थानीय सरकार र केन्द्र सरकारले राहत कार्यक्रम ल्याएका थिए । तर, यो पटक त्यो पनि छैन ।

 

रोजीरोटी गुमेको छ । दैनिक ज्यालादारी काम गर्ने श्रमिकलाई बिहान र बेलुकाको छाक टार्न धौधौ परिरहेको छ । स्थानीय तहले आफूसँग भएको बजेट कटाएर कोरोना रोकथाममा प्रयोग गरेका छन् । थप बजेट नहुँदा राहत दिन सकिरहेका छैनन् । यस्तो अवस्थामा मजदुर भने रोगले भन्दा भोकले मर्ने हो कि भन्ने चिन्तामा छन् । 


बैतडीको दशरथचन्द नगरपालिकाकी पार्वती लोहार निषेधाज्ञा अघिसम्म ज्यालादारी मजदुरी गर्थिन् । कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै जिल्लामा निषेधाज्ञा जारी भयो । निषेधाज्ञासँगै उनको दैनिकीमा असर परेको छ । अरु त महामारीको समयमा घर बाहिर निस्कनै छोडे ।

 

उनलाई घरबाहिर ननिस्की सुख छैन । अहिले निषेधाज्ञाले उनको खुसी हरेको छ । दैनिक छाक टार्न पनि समस्या भएको छ । उनी जस्तै नगरपालिकाका कयौँ मजदुर वर्ग अचेल पाएको दिन खाना खाने नत्र भोकै सुत्ने गरेका छन् । पार्वतीको जस्तै पीडा खेम र राजु लोहारको पनि छ ।

 

यो समुदायका अधिकांश मानिस निर्माण क्षेत्रमा कार्यरत छन् । मजदुरी गर्छन् । कोही मिस्त्रीको काम गर्छन् । तर अहिले कोरोना कहरका बेला भौतिक निर्माण ठप्प छन् । मजदुर वर्गले बिगत १ बर्षयता राम्रोसंग मजदुरी गर्न पाएका छैनन् । यसैमा सामाजिक सुरक्षा भत्ता समेत नपाउँदा समस्या भएको  बालबच्चालाई के खुवाएर पाल्ने चिन्ता बढेको छ । 

 

नगरपालिकाका अधिकांश दलित परिवार दैनिक मजदुरी गर्दछन् । कसैको घर बनाउनुपरे उनीहरू नै चाहिन्छ । तर अहिले राजु लोहारको घरमा दैनिक जीविकोपार्जनका लागी समस्या भएको छ । 

 

मजदुर वर्गलाई बिगतमा लकडाउन भएका बेला भने धेरथोर राहत बितरण गरिएको थियो । तर फेरी मजदुवर्ग राहतको पर्खाइमा छन् । तर उनिहरुले अहिलेसम्म राहत भने कतैबाट पाएका छैनन् । स्थानीय सरकार पनि रकम अभाव हुँदा केही गर्न नसकिएको बताउँदै आएको छ । 

 

कोरोनाको प्रकोप फैलिएको सुरुमा गत वर्ष भने केही स्थानीय तहले मजदुरवर्गलाई राहत पनि दिएका थिए । यसपटक फेरी मजदुरलाई राहत दिनुपर्ने अवस्था आइसकेको छ । हो, कुनै पनि कारणले कामकाज रोकिदाँ मजदुरवर्ग समस्यामा पर्ने गर्दछन् ।

 

यसपटक कोरोना भाइरसको प्रकोपका कारण निशेधाज्ञा हुदाँ मजदुर वर्ग समस्यामा परेका छन् । उनीहरु मध्ये धेरै मजदुर वर्गलाई कतैबाट राहत पाइन्छ की भन्ने अपेक्षामा छन् । के उनीहरूको बारेमा कसैले सोच्नुपर्दैन ?