close

ज्वरोले थलियो सिंगो गाउँ, न स्वास्थ्यकर्मी न परीक्षण

ज्वरोले थलियो सिंगो गाउँ, न स्वास्थ्यकर्मी न परीक्षण

Trulli
ADVERTISEMENT

जाजरकोट– जाजरकोट जिल्लाका अधिकांश गाउँमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ । 

 

जिल्लाका कुशे, नलगाडलगायतका गाउँपालिकाका अधिकांश जनतामा ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्नेलगायतका समस्या देखिएको स्थानीयवासी बताउँछन् ।

 

कन्ट्याक ट्रेसिङमा परेकाको समेत कोरोना परीक्षण नहुँदा गाउँभरी कोरोना फैलिएको स्थानीयको आशंका छ । 

 

त्यस्तै नलगाड नगरपालिकाको कैना, हल्चौर, टट्टा, रामीडाँडा, धौलाकोटलगायत गाउँमा पनि ज्वरोका बिरामी बढेका छन् । तर उनीहरु कसैको कोरोना परीक्षण भएको छैन् । जनप्रतिनिधिका अनुसार स्थानीयवासी उपचारका लागि स्वास्थ्य चौकीसमेत पुगन सकेका छैनन् । ‘गाउँमै जडीवुटी खाँदै बसेका छन्, राज्यले पनि कोरोना परीक्षणमा चासो देखाएन, हामीले केही गर्न सक्ने अवस्था पनि छैन,’ नलगाड गाउँपालिका–२ का एकजना जनप्रतिनिधि भन्छन् । 

 

हल्चौरका स्थानीय हरिबहादुर खत्रीका अनुसार अधिकांशलाई कोरोनाको आशंका गरिएपनि परीक्षण भएको छैन । विरामी परेकाहरु झारफुक र जडीबुटीको उपचारमा भर परेर बसिरहेका छन् । 


पानी पर्न थालेपछि बिरामी बढिरहेको उनी बताउँछन् पालिकाभित्र ७० भन्दा वढी घरका मान्छे बिरामी परेका छन् ।  तर गाउँमा भएको एकमात्र स्वास्थ्यचौकीमा औषधि सकिएको छ भने स्वास्थ्यकर्मीसमेत छैनन् । 

 

जनप्रतिनिधिले भने परीक्षण र उपचारको काम शुरु भएको दाबी गरेका छन् । कोरोना परीक्षण र अन्य स्वास्थ्य समस्याको उपचारका लागि गाउँमा स्वास्थ्यकर्मीको टोली पठाएको कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेत दावी गर्छन । तर उनले भनेजस्तो स्वास्थ्य सुविधा भने जनताले पाएका छैनन् । 

 

भारतबाट आएका व्यक्तिवाट गाउामा कोरोना फैलिएको आशंका पालिका अध्यक्षको पनि छ । तर शंका लागेका व्यक्तिलाई परीक्षणमा भने पालिकाले समेत चासो देखाएको छैन । 

 

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म जम्मा ४ सय जनाको एन्टिजेन र ५ सय जनाको पिसिआर विधिवाट कोरोना परीक्षण गरिएको छ । तर नमूनाको रिपोर्ट समयमा नआउँदा संक्रमित भइसकेका व्यक्तिसमेत आइसोलेट हुन सकेका छैनन् । 

 

जाजरकोटमा हाल ५ सय जनाभन्दा वढी कोरोनाका सक्रिय संक्रमित छन् ।