close

दोलखाका शैक्षिक संस्था बन्द गर्न प्रशासनको निर्देशन 

दोलखाका शैक्षिक संस्था बन्द गर्न प्रशासनको निर्देशन 

Trulli
ADVERTISEMENT

दोलखा - जिल्लामा कोरोनाको लक्षणसहितका संक्रमित फेला परेपछि जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रको बैठकले बिहीबारबाट शैक्षिक संस्थाहरू पूर्ण रुपमा बन्द गर्न  निर्देशन दिएको छ । 


प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अध्यक्ष रमेशप्रसाद शिवाकोटीले शैक्षिक सहजीकरणका नाममा विद्यार्थीहरूलाई विद्यालयमै बोलाएर कक्षा  सञ्चालन गराएर अभिभावक र विद्यालय नै जवाफदेही बन्ने बताए । 


‘राज्यले तत्काललाई शैक्षिक संस्थाहरू बन्द गर भन्नुको अर्थ बालबालिकाको शिक्षा प्राप्तिको अधिकारलाई वञ्चित बनाउने उद्देश्य होइन । बालबालिकाको ज्यान जोखिममा पर्ने देखिएपछि विद्यालय शिक्षकहरूले यसबारे बुझ्नुपर्ने हो’, उनले भने ।


निर्देशन पालना नगरे जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले कारबाही प्रक्रियाि अगाडि बढाउने उनले चेतावनी दिए । जिल्लामा सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार पनि गर्न नपाइने उनले बताए । दोलखा प्रवेश गर्नेहरू अनिवार्य  क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले गरेको छ  ।


बैठकले कोरोना संक्रमण देखिएका ठाउँलाई सम्बन्धित स्थानीय तहले जोखिम विश्लेषण गरी आवश्यकताअनुसार अत्यावश्यकबाहेकका अन्य सबै सेवा बन्द गरी स्वास्थ्य कार्यालयको सहयोग र समन्वयमा नियन्त्रण तथा उपचारको व्यवस्था मिलाउने निर्णय गरेको छ ।


खुला स्थानमा मानिस भेला हुन, भीडभाड गर्न, सभा-जुलुस गर्न-गराउन निषेध गरिएको छ । मठमन्दिर, चर्चलगायत धार्मिक तथा सांस्कृतिक स्थलमा दैनिक नित्यपूजाबाहेकका गतिविधि सञ्चालन गर्न पाइने छैन भने बढी भीडभाड हुने उद्योग, कलकारखाना, व्यापार व्यवसायअन्तर्गतका स्वास्थ्य मापदण्डविपरीत हुने क्रियाकलापमा रोक लगाइएको छ ।


चाडपर्वलगायतका धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यमा जमघट गर्न पाइने छैन भने उद्योग, व्यापार, व्यवसाय, निर्माणलगायत काम पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न पाइने प्रजिअ शिवाकोटीले जानकारी दिए ।