close

गण्डकीका प्रत्येक पालिकालाई प्रदेश सरकारको ५ लाख

गण्डकीका प्रत्येक पालिकालाई प्रदेश सरकारको ५ लाख

Trulli
ADVERTISEMENT

कास्की– गण्डकी प्रदेश सरकारले स्वास्थ्य उपकरण खरिद र उपचारका लागि ७२ वटा स्थानीय तहलाई ५ लाख रुपैयाँका दरले बजेट दिने भएको छ । 

 

स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै पालिकामा ५ लाख रुपैयाँका दरले बजेट दिने निर्णय गरेका हुन् । यो रकमले स्वास्थ्य पूर्वाधार विकास गर्नुपर्नेछ । 

 

प्रदेशमा ८५ पालिका छन् । तीमध्ये ७२ वटालाई ३ करोड ६० लाख दिने निर्णय गरिएको हो । बाँकी १३ पालिकालाई आवश्यक्ताअनुसार तुरुन्तै बजेट पठाउने निर्णय भएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले बताए । ‘माग भए तत्काल पठाउने निर्णय भएको छ’, उनले भने ।

 

गुरुङले कोभिड महामारी नियन्त्रण, खोप, अक्सिजन प्लान्ट जडानमा जोड दिन कर्मचारीलाई निर्देशन दिए । ‘सरकारले स्वास्थ्य मन्त्रालय स्मार्ट बनाउने हो । अब स्मार्ट हेल्थको कार्यक्रम अघि बढाउने हो । जिल्ला अस्पतालहरूको सुदृढीकरण गर्ने हो’, उनले भने, ‘दोस्रो र तेस्रो लहरको कोभिड–१९ रोकथामका लागि खोप र अक्सिजन प्लान्टमा जोड दिनुस् । कोभिडका बिरामीको उपचार हुनुप¥यो ।’

 

पिसिआर रिपोर्ट २४ घन्टाभित्र उपलब्ध गराउने गरी संरचना मिलाउन निर्देशन दिए । होम आइसोलेसनमा बसेकाहरूलाई परामर्श र मेडिकल किट उपलब्ध गराउन उनको आग्रह छ ।

 

‘कोभिड–१९ रोकथाम र उपचारका लागि निजी अस्पताल र पालिकाहरूसँग समन्वयन गर्नुपर्छ’, उनले भने, ‘प्राविधिक कर्मचारीलाई प्रोत्साहन गर्नुपर्छ । यो संकटको बेला हो । सबैले सहकार्य गर्नुपर्छ ।’ केही दिनअघि मात्रै सामाजिक विकास मन्त्रालयबाट फुटाएर स्वास्थ्य मन्त्रालयको जिम्मेवारी गुरुङले सम्हालेका हुन् ।