close

विकासमा राजनीति: अदानचुली सडक निर्माण फेरि अवरुद्ध 

विकासमा राजनीति: अदानचुली सडक निर्माण फेरि अवरुद्ध 

Trulli
ADVERTISEMENT

हुम्ला- अघिल्लो आर्थिक वर्षदेखि विवाद हुँदै आएको लौठी-काँखे- बारीगाउँ हुँदै कगई जाने सडक निर्माण पुनः विवादमा परेको छ । गत २ जेठमा उपाध्यक्ष सौमती रावलको अध्यक्षतामा बसेको बैठकले गाउँमा कोरोना संक्रमितको संख्या बढेको भन्दै ९ जेठसम्म साताव्यापी पालिका सिल गर्ने निर्णय गरेको थियो ।

 

उक्त निर्णयपछि कोही पनि नागरिक एक गाउँबाट अर्को गाउँ जान नपाइने, सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको थियो ।तर निर्णयविपरीत उपाध्यक्ष रावलकै गाउँबस्तीका नागरिक जेसिबी लिएरै उक्त विवादित सडक खन्न लौठी गाउँको माथि पुगे ।


 
उनीहरू डोजरसहित जिरो प्वाइन्टमा पुग्नेबित्तिकै वडा नम्बर ४ लौठीका सबै नागरिकले भेला भएरै सडक गाउँको माथि भएर खन्न नमिल्ने भन्दै अवरोध पुर्‍याए । डोजरले करिब १० मिटरजति खनिसकेको थियो । त्यतिबेलै दुवै पक्षबीच भनाभन र हात हालाहालसमेत भएको स्थानीय हरिप्रसाद जैसीले बताए ।


अदानचुली गाउँपालिका वडा नम्बर ४ का जैसी, जयराज जैसीलगायत स्थानीय उपाध्यक्ष रावलको नेतृत्वमा आएको टोलीले गाउँलाई बाइपास गरी उपाध्यक्षको गाउँलाई सीधा पर्ने गरी सडक खन्न खोज्दा अवरोध गर्नुपरेको दाबी गर्छन् । 

 

जैसीले भने, ‘हामीले सडकको अवरोध गरेका होइनौँ । तर, उपाध्यक्षलगायत त्यहाँका नागरिकले गाउँको माथितिर सडक खन्दा तलका गाउँ, विद्यालयलगायतमा पुग्ने क्षतिप्रति हामी जिम्मेवार छौँ भन्ने कागज गराउन माग गरेका हौँ । उपाध्यक्षले हाम्रा माग सुनुवाइ नगरेसम्म सडक खन्न दिँदैनौँ मात्र भनेका हौँ ।’


 
उनीहरूले जबर्जस्ती गरेपछि उपाध्यक्ष समर्थकहरूले आफूहरूको समूहका महिलामाथि हातपात गरेको जिसीको दाबी छ । हात हालाहालका क्रममा केही महिलाका गरगहना हराएका छन् भने धेरैलाई चोट लागेको उनको भनाइ छ । कोरोना महामारीका बेला गाउँपालिकालाई सिल गरेर आफ्नाे घरतिरबाट बाटो लैजाने पालिका उपाध्यक्षको रबैया ठीक नभएको जिसी बताउँछन् ।

 

जेसीबीसहितको टोलीले उपाध्यक्षकै नेतृत्वमा उनलाई सहज हुने गरी सडक खनिन थालेको भने पनि रावल भने सो ठाउँमा नआएको बुझिएको छ । ‘उपाध्यक्षको गाउँका नागरिक आए तर उनी आए-आएको कसैले खुलाएनन्’, लौठीका स्थानीय भन्छन्, ‘रावलकै नेतृत्वमा सडक खनिएको हो ।’

 

स्थानीय जयराज शाही उपाध्यक्षले मान्छे लगाएर आफूलाई पायक पर्ने स्थानबाट सडक खन्न जबर्जस्ती गरेको प्रतिक्रिया दिए । तर, उपाध्यक्ष रावल नजिक मानिने दलराज शाहीले भने उपाध्यक्षलाई आफूले नभेटेको बताए । ‘बिहान फोन गर्दा बिरामी भएको बताउनुभएको थियो । आज सडक खन्ने बेला हामीले देखेनौँ । सबै गाउँले गए पनि त्यहाँ कुनै हातपात भएको छैन, गरगहना लुट्ने त परै जाओस्,’ शाहीले भने । 

 

अघिल्लो वर्ष गाउँपालिका अध्यक्षले शिलान्यास गरिसकेकाले विवाद नहुने ठानेर सडक खन्न निस्किएको शाहीको दाबी छ । तर, लौठी गाउँलेले आक्रमण गरेपछि प्रतिकार मात्र भएको उनको भनाइ छ ।

 

यस विषयमा जानकारी लिन उपाध्यक्ष रावललाई पटक पटक फाेन गरेपनि उनले फाे उठाइनन् । गाउँपालिका अध्यक्ष दल फडेरालाई सम्पर्क गर्दा भने उनले यस विषयमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए ।


 
कोरोनाको जारी निषेधाज्ञाका बेला सडक खन्ने नाममा भीडभाड जम्मा गरेर विवाद निम्तिएकाले त्यसो नगर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । ‘सडक निर्माण तत्काल रोक्न निर्देशन दिएका छौँ’, प्रजिअ अधिकारीले भने, अवस्था सामान्य भएपछि सबै पक्षलाई भेला गरेर सहमतिमा पुग्ने प्रयास हुनेछ ।’

 
गाउँपालिकाको केन्द्र श्रीनगरबाट लौठी र पाम्सको बीच भागमा सडक पुगेको छ । करिब २ वर्षअघि वडा नम्बर ४ ले विश्व खाद्य कार्यक्रमअन्तर्गतको ३० लाख रुपैयाँ बजेटले उपाध्यक्षको गाउँ माथिबाट सडक खन्नु उपयुक्त नहुने ठहर गरेको थियो ।

 

वडा नम्बर ४ का सबै गाउँबस्तीमा पुर्‍याउन पाम्स-र्‍याउल्यादेखी केही तल लौठी गाउँको बीचमा सडकको ट्रयाक खुलिइसकेको छ । लौठी गाउँमा सडक पार भइसकेपछि २-२ ठाउँबाट सडक लैजान उपयुक्त नहुने काँखे र बारीगाउँबासी बताउँछन् । 

 

लौठीको बीच गाउँ हुँदै सडक लगिए वडा नम्बर ६ र वडा नम्बर ५ कै कगईलाई छोटो र सीधा पर्ने अर्को पक्षको दाबी छ । वडा नम्बर ५ का वडाध्यक्षसहित ६ नम्बरका वडाध्यक्ष पनि तलैबाट सडक लैजानुपर्ने अडानमा छन् । यसअघि अदानचुलीले सडक तलैबाट खन्ने तर सबै गाउँमा पुर्‍याउन स्थान परिवर्तन गर्न सकिने बताएको थियो ।

 

पालिकाका अध्यक्ष फडेराले दुवै ठाउँको सडक शिलान्यास गरेका थिए । उपाध्यक्षको गाउँ जाने सडक शिलान्यास भएपछि वडा नम्बर ५ को कगई र वडा नम्बर ६ जाने सडक खन्न सुरु भएको थियो । आफ्नो गाउँतिर नपरेपछि अर्को पक्षले अवरोध गरेसँगै सडक निर्माण पुनः विवादमा परेको हो ।