close

दिप्रुङ चुइचुम्माका स्वास्थ्य कर्मचारी र प्रहरीको बिमा

दिप्रुङ चुइचुम्माका स्वास्थ्य कर्मचारी र प्रहरीको बिमा

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले कोभिड-१९ महामारीका बेला नागरिकको स्वास्थ्य सुरक्षाका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यका कर्मचारी र पालिका प्रहरीको बीमा गरिदिने निर्णय गरेको छ ।

 

कोभिड संक्रमण तथा नियन्त्रण कार्यदलको शुक्रबार बसेको बैठकले गाउँपालिकामा कोभिड-१९ महामारीविरुद्ध आफ्नो ज्यान जोखिममा राखेर दिनरात खटिएका स्वास्थ्यकर्मी र गाउँपालिका प्रहरीको १/१ लाख रुपैयाँको जीवन बिमा गरिदिने निर्णय गरेको हो । 

 

कोभिड-१९ महामारीका क्रममा अग्रपंक्तिमा खटिइरहेका स्वास्थ्यकर्मी र गाउँ प्रहरीको बिमाका लागि वडासदस्य अमृत गिरीलाई संयोजनको जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । कार्यदलको निर्णय अनुसार केही दिनभित्रै स्वास्थ्यकर्मी र गाउँ प्रहरीको बिमाको काम सुरु हुनेछ ।

 

ज्यान जोखिममा राखेर नागरिकको स्वास्थ्य सुरक्षामा खटिएका स्वास्थ्यकर्मी र गाउँ प्रहरीको प्रोत्साहन र सम्मानमा गाउँपालिबाट बिमा गरिदिन लागिएको पालिका अध्यक्ष राईले जानकारी दिए । 

 

बैठकले खाद्यान्न, निर्माण सामग्री र औषधि बोक्ने सवारी साधनका लागि पनि सवारी पास अनिवार्य गर्ने, विना सिफारिस र पासका सवारी साधन आवतजावतमा पूर्ण रूपमा रोक लगाउने, होम आइसोलेसनमा बसेको अवस्थामा स्वास्थ्यमा जटिल समस्या देखिए कोभिड अस्पताल याम्खा जानुपरे सम्पर्क गर्नुपर्ने सम्पर्क व्यक्ति तोकेको छ । 

 

संक्रमण परीक्षणका लागि समय तालिका 

 

दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष एवं कोभिड संक्रमण तथा नियन्त्रण कार्यदलका संयोजक भूपेन्द्र राईको संयोजकत्वमा बसेको बैठकले एन्टिजेन परीक्षण तालिका बनाएको छ । वडा-वडामा पुगेर एन्टिजेन परीक्षणको व्यवस्था गर्ने र परीक्षणको दायरा फराकिलो पार्ने लक्ष्यका साथ गाउँपालिकाले ९ देखि १२ जेठसम्म एन्टिजेन परीक्षणका लागि समय तालिका बनाएको हो । 

 

बैठकले ९ जेठमा दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर ७ टेम्माका लागि जयसरस्वती प्राविमा र वडा नम्बर १ याम्खाका लागि अस्थायी कोभिड अस्पतालमा याम्खामा, वडा नम्बर २ डाँडागाउँ र वडा नम्बर ५ सछितापोखरीमा १० जेठमा, वडा नम्बर ३ छोरम्बु र वडा नम्बर ४ बतासेका लागि ११ जेठ तथा वडा नम्बर ६ छितापोखरीमा १२ जेठमा एन्टिजेन परीक्षण तालिका तय गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । 

 

निषेधाज्ञावधि लम्बिँदै 

 

खोटेहाङ गाउँपालिकाले स्वास्थ्य संस्थाबाहेकका सरकारी तथा गैरसरकारी कार्यालयको सेवा प्रवाह बन्दका कार्यक्रमलाई लम्ब्याएको छ ।  कोभिड-१९ को दोस्रो लहरको महामारीलाई दृष्टिगत गर्दै ७ जेठसम्मका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको गाउँपालिकाले आगामी २० जेठसम्म त्यसलाई निरन्तरता दिने निर्णय गरेको हो ।

 

गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले आगामी २० जेठसम्म पालिकाभित्रका औषधी पसलबाहेकका सम्पूर्ण पसल, संघ-संस्था, शैक्षिक संस्था, होटल व्यवसाय, रेस्टुराँ, गेस्टहाउस बन्द गर्ने, हाटबजार, मेला, सामाजिक तथा सांस्कृतिक पर्व, भोजभतेर, पूजाआजा, विवाह, व्रतबन्ध, पास्नीलगायत भीडभाड हुने प्रकृतिका सबै क्रियाकलाप बन्द गर्ने÷गराउने निर्णय गरेको छ ।

 

यस्तै, निर्माण सामग्री, खाद्यान्न तथा पेट्रोलियम पदार्थ ढुवानी गर्ने साधनलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालन गर्ने, अत्यावश्यकबाहेकका अवस्थामा सबै प्रकारका सवारी साधन बन्द गर्ने निर्णय गरिएको खोटेहाङ गाउँपालिका अध्यक्ष प्रदीप राईले जानकारी दिए ।

 

सो गाउँपालिकाले वडा-वडामा रहेका विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाएर कोभिड-१९ विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, गाउँ भित्रिएका व्यक्तिको रेकर्ड, उनीहरूको स्वास्थ्य अवस्थालगायतका बारे बुझेर पालिकालाई सूचना उपलब्ध गराउने, विकास निर्माण, बाह्य हिँडडुल तथा आवतजावत कार्य बन्द गर्ने, अत्यावश्यक अवस्थामा घर बाहिर निस्कदा अनिवार्य रूपमा मास्क, पञ्जा, स्यानिटाइजर तथा साबुनपानीजस्ता स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्ने/गराउने निर्णय गरेको छ ।

 

यस्तै, कोभिड-१९ को दोसो लहरको महामारीलाई लक्षित गरी ऐँसेलुखर्क गाउँपालिकाले अत्यावश्यकबाहेकका सेवा थप साता दिनका लागि बन्द गरेको छ । शुक्रबार बसेको गाउँपालिका र विपद् व्यवस्थापन समितिको बैठकले कोभिड-१९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि पुनः शनिबारदेखि लागू हुने गरी आगामी १४ जेठसम्मका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

 

प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादवले जारी गरेको सूचनामा स्वास्थ्य संस्थाबाहेक सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय, व्यापार व्यवसाय, होटल, बैंक तथा वित्तीय संस्थालगायत बन्द गर्ने, जमघट र भेला हुने सम्पूर्ण कार्य स्थगित गर्ने, ऐँसेलुखर्कबाट चल्ने सम्पूर्ण यातायातका सवारी साधनको आवागमनमा रोक लगाइएको उल्लेख छ ।