close

संक्रमितका घर-घर पुग्दै महालक्ष्मीका नगरप्रमुख, उपप्रमुख 

संक्रमितका घर-घर पुग्दै महालक्ष्मीका नगरप्रमुख, उपप्रमुख 

Trulli
ADVERTISEMENT

धनकुटा- कोरोना संक्रमितको आत्मबल बढाउन धनकुटाको महालक्ष्मी नगरपालिकाका नगरप्रमुख पर्शुराम नेपाल र उप-प्रमुख मञ्जु अधिकारी संक्रमितको घरघरै पुग्न थालेका छन् । 

 

होम आइसोलेसनमा बसेका संक्रमितको स्वास्थ्य अवस्था बुझेर तिनलाई परामर्श दिँदै रोगसँग लड्ने आत्मबल बढाउन जनप्रतिनिधि संक्रमितको घर-घर पुग्न थालेका हुन् । उनीहरूले संक्रमितसँग भेट गरेरै खानेकुरा र स्वास्थ्य सामग्री पनि दिने गरेका छन् ।

 

कोरोना संक्रमण बढ्दै जाँदा धेरै संक्रमित घर-घरमै होम आइसोलेसनमा बसिरहेकाले तिनको घरमा पुग्ने र उनीहरूलाई रोगसँग लड्ने हौसला प्रदान गर्ने अभियान चलाइएको महालक्ष्मी नगरपालिका प्रमुख नेपालले बताए ।

 

‘अहिले अधिकांश कोरोना संक्रमितहरू होम आइसोलेसनमा बस्नुभएको छ । उहाँहरूको स्वास्थ्य अवस्थाबारे सोधपुछ गर्ने, सावधानी अपनाउनुपर्ने कुरा स्वास्थ्यकर्मीमार्फत बताउन लगाउने र औषधी, स्वास्थ्य सामग्रीसहित खानेकुरा पनि दिने गरेका छौँ,’ नगरप्रमुख नेपालले भने, ‘यसले गर्दा संक्रमितमा निरासा कम भई हौसला र रोगसँग लड्ने आत्मबल बढ्छ भन्ठानेर यो अभियान चलाएका हौँ ।’

 

संक्रमितलाई भेट्न नगरप्रमुख नेपाल, उपप्रमुख अधिकारी, स्वास्थ्य शाखा प्रमुख पर्शुराम थापा, जनस्वास्थ्य अधिकृत डिल्लीराम श्रेष्ठ र नगर प्रमुखका सचिवालय प्रमुख विष्णु दाहाल गाउँ-गाउँ खटिएका छन् । 


जनप्रतिनिधिले हरेक संक्रमितका घरमा पुगेर उनीहरूलाई डाबर च्यवनप्रास, हर्लिक्स, स्यानिटाइजर, केही थान मास्क र आवश्यक औषधी प्रदान गर्दै आएका छन् ।

 

हरेक संक्रमितको घर-घरमा पुगेर भौतिक दूरी कायम गरी कुराकानी गर्ने र सामग्री प्रदान गर्ने गरिएको उपप्रमुख मञ्जु अधिकारीले जानकारी दिइन् । महालक्ष्मी नगरको केन्द्र जितपुरबाट यो अभियान थालिएको छ ।

 

संक्रमित भएका सबै वडामा पुगेर उनीहरूसँग भेटघाट गरी सामग्री प्रदान गर्ने योजना रहेको उनको भनाइ छ । हाल महालक्ष्मीमा ३३ जना सक्रिय संक्रमित रहेको नगरपालिकाका जनस्वास्थ्य अधिकृत डिल्लीराम श्रेष्ठले जानकारी दिए । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि महालक्ष्मी नगरले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । 


महालक्ष्मी नगरका हरेक नागरिकका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यले होमियोप्याथिक औषधी पनि निःशुल्क वितरण भइरहेको छ । त्यस्तै, संक्रमितका लागि जितपुरमा अक्सिजनसहितको आइसोलेसन सेन्टर बनाइएको छ ।

 

संक्रमितलाई अस्पताल पुर्‍याउन एम्बुलेन्सको निःशुल्क व्यवस्था मिलाइएको छ । नगरबासीमा कोरोना संक्रमण पुष्टि भई गम्भीर अवस्था भएर आइसोलेसनमा उपचार गराउनुपरे २५ हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराइँदै आएको नगरप्रमुख नेपालले जानकारी दिए ।