close

पौने अर्ब लागतमा सुविधासम्पन्न प्रशासनिक भवन ठड्याउँदै पोखरा

पौने अर्ब लागतमा सुविधासम्पन्न प्रशासनिक भवन ठड्याउँदै पोखरा

Trulli
ADVERTISEMENT

कास्की- कास्कीको पोखरा महानगपालिकाले छुट्टै प्रशासनीक भवन बनाउने भएको छ । एउटै कामका लागि पोखराका ठाउँ–ठाउँमा रहेका शाखा कार्यालय डुल्नुपर्ने सेवाग्राहीलाई सहज बनाउन फराकिलो कार्यालय बनाउन लागिएको हो ।

 

अहिले पोखराको भवन निकै साँघुरो छ । पोखराको प्रमुख प्रशासकीय कार्यालय न्यूरोडमा छ । महानगरअन्तर्गतको सामाजिक विकास महाशाखा सिर्जनाचोकमा सारिएको छ । साँघुरो भएपछि स्वास्थ्य महाशाखा नयाँ बजार र न्यूरोडमा बीचमा राखिएको छ । कृषि महाशाखा बिरौटा र पशु महाशाखा रामघाटमा छ । 


स्वास्थ्य महाशाखा भाडामा छ । कृषि पनि हटाउन प्रदेशले उर्दी लगाएको छ । धेरैतिर कार्यालय हुँदा नागरिकले दुःख पाएका छन् । पहिलो कार्यपालिका बैठकले प्रशासनिक भवन बनाउने निर्णय गरे पनि कार्यान्वयन भएको थिएन ।


अन्तिम वर्ष महानगरले भवन शिलान्यास गर्न लागेको हो । ६ वटा महाशाखा राख्ने गरी नयाँ बजारस्थित पुरानो दमकल भएको ठाउँमा भवन बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । प्रशासकीय भवन रामघाटमा बन्नेछ । दमकलमा २४ करोड रुपैयाँ लागतको लिफ्टसहितको भवन बन्ने इन्जिनियर शिशिर अर्यालले जानकारी दिए ।

 

नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित राजस्व, लेखा, योजनालगायत शाखा, आयोग, प्रतिष्ठानलगायत कार्यालय राख्न रामघाटमा अर्को भवन बनाइने नगरप्रमुख मानबहादुर जिसीले बताए ।


भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भएको ठाउँमा सार्ने लागिएको हो । त्यहाँ २२ रोपनी जग्गा महानगरले आफ्नो नाममा मागेको छ ।

 

आवश्यक तयारी पूरा भए १४ जेठमा शिलान्यास हुनेछ । त्यहाँ ३ वटा भवन बन्नेछन् । भवन निर्माणका लागि करिब पौने अर्ब रुपैयाँ लाग्ने बताइए पनि अन्तिम स्टिमेट भने आइसकेको छैन । पोखराका जनप्रतिनिधिले ४ वर्षअघि १४ जेठमै पदवहाली गरेका थिए । सोही दिन नयाँ भवन शिलान्यास गर्न लागिएको हो । 


भवन निर्माणका लागि पोखरा महानगर वडा नम्बर १७ का वडाध्यक्ष तीर्थराज अधिकारीको संयोजकत्वमा जग्गा खोजबिन समिति गठन गरिएको थियो ।


सोही समितिले ३ ठाउँमा जग्गा प्रस्ताव गर्‍यो । नदीपुरस्थित नगर प्रशिक्षण केन्द्र, नयाँ बजारको प्रदर्शनी केन्द्र र माटेपानीको पशु कार्यालय भएको ठाउँमध्ये जुनसुकै उपयुक्त हुने सिफारिस समितिले जनाएको छ । 


सोही प्रतिवेदनको आधारमा पशु कार्यालयको जग्गा सबैभन्दा उपयुक्त देखिएको र त्यहीँ भवन बनाउन लागिएको नगरप्रमुख जिसी बताउँछन् ।