close

महोत्तरीको निषेधाज्ञा जेठ २० सम्मलाई थप

महोत्तरीको निषेधाज्ञा जेठ २० सम्मलाई थप

Trulli
ADVERTISEMENT

महोत्तरी- जेठ १ गतेदेखि १० गते मध्यरातसम्मलाई जारी गरिएको निषेधाज्ञा नसकिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जेठ २० गते मध्यरातसम्मका लागि जिल्लाभरि लागु हुने गरी पुनः १० दिन निषेधाज्ञा थप गरेको छ । 

 

जेठ १ गते दोस्रो पटक जारी गरिएको निषेधाज्ञाको अवधि आज मध्यरातसम्म कायम छँदै कार्यालयले जेठ २० गतेसम्मलाई पुनः थप गरेको हो । तेस्रो पटक जारी निषेधाज्ञा जेठ २० गते मध्यरासम्म कायम रहने जिल्लाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिएका छन् ।


जिल्लामा कोभिड-१९ संक्रमणको जोखिम कायम नै रहेको हुँदा भिडभाड र हिँडडुल रोक्न निषेधाज्ञाको अवधि थप गरिएको प्रशासन कार्यालयले बताएको छ । निषेधाज्ञाभर सार्वजनिक यातायातका साधन, होटल, हाटबजार सञ्चालन नहुने र  घुमफिर र भेला जमघट केही गर्न नपाउने गरी रोक लगाइएको छ । अत्यावश्यक सामग्री आपूर्ति गर्ने साधन (अस्पताल, औषधि पसल, दूध, खाने पानी, खाद्यान्न आपूर्ति गर्ने साधन, एम्बुलेन्स, शववाहनसहित) अत्यावश्यक सेवा भने सञ्चालन गर्न पाइने छ । 


यसअघि २०७७ सालको वैशाखदेखि कात्तिक मसान्तसम्म सङ्क्रमणले १८ जनाको ज्यान लिएको थियो । त्यसैगरी सो अवधिमा दुईहजार १४१ मा संक्रमण पुष्टि भएको थियो । तीमध्ये ९०० भन्दा बढीमा सक्रिय सङ्क्रमण देखिएको थियो । दोस्रो लहरको कोरोना भाइरसको संक्रमण बढी आक्रामक भएको र थोरै पनि लापरवाहीले संक्रमितको ज्यान जानसक्ने भएकाले पनि निषेधाज्ञा थप्न परेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।