close

सडकमा रोग, पेटमा भोक, सडक नै भयो सबैथोक

सडकमा रोग, पेटमा भोक, सडक नै भयो सबैथोक

Trulli
ADVERTISEMENT

सुर्खेत- जेठको उखरमाउलो गर्मी । सडकका रूखको छहारी । मध्य दिउँसोको टन्टलापुर घाममा पसिना चुहाउँदै सडकपेटीमा मकै पोलेर जीवन गुजार्नेहरूलाई कोरोना महामारीले लपट्नेभन्दा पनि भोक पेट भर्ने चिन्ता छ । मकै, काँक्रा, आरुबखडा र केरा बेच्ने उनीहरूलाई न कोरानाको डर छ, न त निषेधाज्ञाको त्रास ।

 

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरदेखि करिव २५ किलोमिटर पश्चिममा पर्ने बराहताल गाउँपालिकाको हुर्के गाउँमा गास जुटाउने विपन्न महिलाको दैनिक यसैगरी बित्ने गर्छ । आफ्नो परिवारको पेट पाल्न सिजनअनुसार सडकमा मकै पोलेर बेच्ने, बारीमा फलेका काँक्रा, केरालगायत फलफूल तथा तरकारी बेच्ने हुर्केका महिलाको दैनिकी हुने गर्छ ।

 

हुर्केका महिलालाई कोरोनाभन्दा भोकको चिन्ताको चपेटाले लपेटेको छ । उनीहरूलाई दिनभर यसरी काम नगरे बेलुकीको मुख जोड्न मुस्किल हुन्छ । 

 

‘सुर्खेतमा निषेधाज्ञा छ । कोरोना महामारीले सताएको थाहा छ । तर, घरमै बसेर खर्च चल्दैन,’ स्थानीय खगिसरा महताराले भनिन्, ‘केही वर्षयता यही सडकमै बसेर मकै पोल्दै बेच्दै आएकी छु ।’ मकै, फलफूल बेचेर कमाएको पैसाले परिवारको खर्च चल्ने गरेको उनले सुनाइन् । ‘रोगभन्दा भोकलाई पहिलो ठान्छु । दैनिक ३ हजार रुपैयाँसम्मको व्यापार हुने गर्छ’, खगिसरा भन्छिन् ।

 

प्रायः घरकै काममा व्यस्त रहने उनी सिजनका बेला मकै, काँक्रा, आरुबखडा तथा केरा बेचेर मनग्य आम्दानी गर्दै आएकी छन् । सोही रकमबाट घरखर्च तथा छोराछोरीको पढाइ खर्च कटाएर केही रकम बचत हुने गरेको उनी बताउँछिन् ।

 

कोरोना संक्रमणको जोखिम भएका बेला बाहिरबाट आउने जोसुकैलाई मकै बेच्दा डर लाग्दै भन्ने प्रश्नमा उनले भनिन्, ‘हामीलाई रोगभन्दा पहिले भोक मेटाउने चिन्ता छ । त्यसैले म मेरो मटियार (कुलदेवता) को विश्वास लिएर काम गरिरहेकी छुँ । गत वर्ष कोरोना महामारीका बेला पनि कुखुरा चढाएर मटियारलाई खुसी पारेँ । त्यसैले कोरोनाको त्रास भए पनि देवता सम्झिएर जोखिममा मकै पोलेर बेच्दै आएकी छुँ ।’ 

 

खगिसराजस्तै हुर्केका अन्य महिलाको सामूहिक जवाफ यस्तै हुने गर्छ । उनीहरू कर्म र धर्ममा विश्वास राख्छन् । स्थानीय वसन्ती बोहराका अनुसार कोरोना माहामारीले अन्य क्षेत्र ठप्प छन् । यो बेला अन्य कुनै काम पाइँदैन । पेट पाल्नकै लागि निषेधाज्ञाको बेला पनि गर्मीमा सडकमा बसेर मकै पोल्ने, तरकारी तथा फलफूल बेच्नुपरेको वेदना उनीहरू सुनाउँछन् ।

 

गाउँमा कृषियोग्य जमिन पर्याप्त छ । सिजनअनुसार मकै, केरा, काँक्रा, आरुबखडा, नासपाति, मौसमी तथा बेमौसमी तरकारी राम्रै उत्पादन हुन्छ । ‘घरमा खपत भएर बचेको सबै उत्पादन यसरी नै बेच्छौँ,’ वसन्तीले भनिन्, ‘घर खर्च चलाउन सडक यात्रुको भोक मेटाइरहेका छौँ ।’ एकातिर कोरोना संक्रमणको दोस्रो भेरियन्ट समुदाय स्तरसम्म फैलिँदै छ भने अर्कोतिर स्थानीयलाई काम नगरी खान पुग्दैन ।