close

दिक्तेल-खानीडाँडा-आहाले सडक:  म्याद गुज्रिएपछि ढलान सुरु 

दिक्तेल-खानीडाँडा-आहाले सडक:  म्याद गुज्रिएपछि ढलान सुरु 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको दिक्तेल-खानीडाँडा-आहाले सडक ढलान सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक लगानीमा सुरु गरिएको दिक्तेल-आहाले (१०.९७४ किलोमिटर) खण्डको डिबिएसटी कालोपत्रेको म्याद सकिएको १० दिनपछि दिक्तेल बजारको अस्पतालचोकबाट आइतबारदेखि आरसिसी ढलान सुरु गरिएको हो ।

 

दिक्तेलको अस्पताल चोकबाट खानीडाँडा विमानस्थल हुँदै रेग्मीटार पुग्ने सडकको प्रथम पटक थप भएको म्याद गत २९ वैशाखमा सकिएको थियो । निर्माण कम्पनी याक्थुङहाङ÷साप÷सिरुवा जेभीले ७ चैत २०७६ सम्मको सम्झौता म्याद गुजारेपछि गत २९ वैशाखसम्म म्याद थप गरिएको थियो ।

 

दिक्तेल बजारको हाटडाँडाका केशव बस्नेतको घरसम्म आरसिसी ढलान तथा सो स्थानदेखि आहालेसम्मको खण्डमा डिबिएसटी कालोपत्रे गरिने निर्माण कम्पनीका प्रतिनिधि खगेन्द्र राईले बताए । थप भएको म्याद सकिँदा पनि सडक कालोपत्रेको कामको भौतिक तथा वित्तीय प्रगति करिब ५० प्रतिशत पुगेको बताइएको छ ।

 

याक्थुङहाङ/साप/सिरुवा जेभीले ७ चैत २०७६ भित्र सम्पन्न गर्ने गरी १ असोज २०७५ मा सडक कालोपत्रेको सम्झौता गरेको थियो । दिक्तेलबाट खानीडाँडा विमानस्थल हुँदै उदयपुरको गाईघाट जोड्ने छोटो दूरीको मार्गका रूपमा स्थापित हुने सडक राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २१ करोड १ लाख ८८ हजार रुपैयाँमा कालोपत्रेको विभिन्न चरणको काम सुरु गरिएको थियो ।

 

निर्माण कम्पनीले नाली, रिटेनिङ वाल, ग्राभेल आरसिसी, साइड ड्रेन, ग्राभेलसहित ६.२५ मिटर चौडा हुने सडकको ३.७५ भागमा पिच गर्ने गरी कालोपत्रेको ठेक्का लिएको हो । १८ महिनाभित्र पूरा गर्ने गरी ठेक्का लागेको कालोपत्रेको काम १ मंसिर २०७५ मा विघटित प्रतिनिधिसभाका सांसद विशाल भट्टराईले शिलान्यास गरेका थिए ।

 

सुरुमा तीव्र गतिमा अघि बढाइएको सडक कालोपत्रेको काम क्रमशः सुस्त गतिमा अघि बढेपछि निर्माण कम्पनीको चौतर्फी आलोचना भइरहेको छ । 

 

सबैका आँखा सडकको गुणस्तरमा 

 

दिक्तेलको अस्पतालचोकबाट खानीडाँडा विमानस्थल हुँदै रेग्मीटार पुग्ने सडकको दिक्तेल-खानीडाँडा-आहाले खण्ड कालोपत्रेको काम सुस्त र गुणस्तरहीन भएको पाइएपछि स्वयं राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) को कार्यालय खोटाङले २०७६ मा केही समय कालोपत्रेको काम रोकेको थियो ।

 

कालोपत्रेको काम गरिरहेको निर्माण कम्पनी याक्थुङहाङ÷साप÷सिरुवा जेभीलाई गुणस्तरहीन काम रोक्न ६ दिनअघि मौखिक रूपमा जानकारी गराएको कार्यालयले ९ पुस २०७६ मा लिखित रूपमा पत्राचार गरेर पुनः काम रोक्न लगाएको थियो ।

 

माटो मिसिएको बालुवा तथा एक टिन सिमेन्टसँग १० टिन बालुवा, गिटी घोलेर सडकको काममा प्रयोग भइरहेको गुनासो आएपछि कार्यालय ‘एक्सन’ मा उत्रिएको थियो ।

 

त्यसबेला गुणस्तरहीन काम भएको पाइएपछि बालुवा, गिटीलगायत ‘स्याम्पल’ नै उठाइएको थियो । लगत्तै २३ पुस २०७६ मा प्रदेशसभा सांसद उषाकला राई (हाल सामाजिक विकासमन्त्री), प्रदेशसभा सांसद रामकुमार राई, जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङलगायतको टोली सडकको कामको स्थलगत अनुगमनमा गएको थियो ।

 

सडक कालोपत्रेको काममा ढिलासुस्ती भएपछि निर्माण कम्पनीका प्रमुख शिवप्रसाद चौंलागार्इंलाई ५ कात्तिक २०७६ मा दिक्तेलमा आयोजना गरिएको बैठकमा बोलाइएको थियो । तर, सो बैठकमा चौलागार्इंले गरेको प्रतिबद्धताअनुसार सडकको काममा प्रगति भएन ।

 

दिक्तेल-खानीडाँडा-आहाले खण्ड कालोपत्रेको काम सुस्त भएपछि निर्माण कम्पनी याक्थुङहाङ÷साप÷सिरुवा जेभीले गत चैतमा प्रतिनिधि परिवर्तन गरेको छ । सुरुमा कल्याण दाहाललाई प्रतिनिधि राखेको निर्माण कम्पनीले राईलाई प्रतिनिधि चयन गरेको हो ।

 

याक्थुङहाङ÷साप÷सिरुवा जेभीको प्रतिनिधि बनेका राईले ८ चैतामा सडक कालोपत्रेको बाँकी कामका लागि सम्झौता गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ 
(अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) को कार्यालय खोटाङका सूचना अधिकारी मणिराम ढकालले बताए ।

 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट हलेसी तुवाचुङ नगरपालिकाको राजापानीमा जोडिने दिक्तेल-रेग्मीटार सडक पूरा भएपछि दिक्तेलबाट उदयपुरको गाईघाट पुग्ने सबैभन्दा छोटो मार्ग खुल्ने दाबी गरिएको छ ।

 

हाल सञ्चालनमा रहेको दिक्तेल-महुरे-फोक्सिङटारभन्दा छोटो हुने भएकाले भविष्यमा दिक्तेल-रेग्मीटार सडक पूर्वी तराई आउजाउका लागि बढी प्रयोगमा आउने जिल्ला समन्वय समिति खोटाङका प्रमुख चामलिङले बताए । सडकले मनमाया राई खानीडाँडा विमानस्थललाई पनि छुने भएकाले दिक्तेलबाट विमानस्थल आउजाउ गर्ने स्थानीय लाभान्वित हुनेछन् ।