close

जनताको दरकारमा महेशको सरकार

संक्रमितलाई चार पटक खाना, विपन्नलाई १० हजार

जनताको दरकारमा महेशको सरकार

संक्रमितलाई चार पटक खाना, विपन्नलाई १० हजार

Trulli
ADVERTISEMENT

काठमाडौं- कोरोना महामारीबाट भवितव्य भएका नगरबासीलाई ढाडस दिन र संक्रमितको उपचार प्रबन्ध मिलाउन अहिले देशभरका स्थानीय सरकारका जनप्रतिनिधि मन, वचन र कर्मले नै क्रियाशील छन् । महामारी नियन्त्रणमा नेतृत्वदायी भूमिका कसरी लिन सकिन्छ भन्ने उदाहरण बनेका छन्, पाँचखाल नगरपालिका प्रमुख महेश खरेल ।

 

सीमित स्रोत-साधन, दक्ष चिकित्सक तथा स्वास्थ्य सामग्रीको अभावकाबीच आफ्ना नागरिकलाई कोरोना संक्रमणबाट जोगाउन र संक्रमितको उपचार गर्न स्थानीय जनप्रतिनिधिले गरिरहेको प्रयास प्रशंसनीय छ । नेतालाई जनताका सेवकका रूपमा लिने गरिन्छ । यसको उदाहरण स्थानीय जनप्रतिनिधिले देखाइरहेका छन् । 

 

महेशको सोच


जनताका असली सेवकका रूपमा सक्रिय भइरहेका जनप्रतिनिधि हुन्, काभ्रेको पाँचखाल नगरपालिका प्रमुख महेश खरेल । कोरोना भाइरसको दोस्रो लहर कडा रहेको बुझ्न खरेललाई धेरै समय लागेन । संक्रमित सिकिस्त हुने क्रम बढिरहेको थियो । देशभर अक्सिजन अभावका कारण संक्रमितले ज्यान गुमाउनुपरेका खबर सुनेर नगरप्रमुख खरेल पनि डराए । 


आफूलाई अभिभावक मानेर निर्वाचनमा जिताएका नगरबासीलाई विपद्का बेला मद्दत गर्न सकिएन भने पछि कसरी तिनका अगाडि पर्ने भन्ने चिन्ताले सताउने गरेको खरेल बताउँछन् । ‘मैले पहिलो जोड अक्सिजन जोहो गर्नमै लगाएँ,’ प्रमुख खरेल भन्छन्, नगरभित्रका ग्यारेज, कलकारखाना, कबाडी संकलन केन्द्रसम्म पुगेर आफैंले अक्सिजन सिलिन्डर खोज्ने काम गरेँ ।’ 


पछि फिर्ता गर्ने सर्तमा खरेलले अक्सिजन सिलिन्डर संकलन गरेका छन् । ‘म आफैँ गएर अक्सिजन सिलिन्डर छ भने दिनुस् भन्दा हुनेहरूले धक नमानी दिएका छन्,’ खरेल भन्छन्, ‘विपद्मा दुःख बाँड्न नगरबासी पनि तयार छन् ।’


सिलिन्डर पाउनेबित्तिकै नगरप्रमुख सबैभन्दा पहिला आफैं अगाडि सरेर काँधमा सिलिन्डर राखेर गाडीमा लोड गर्न दौडिइहाल्छन् । ‘यो असमान्य अवस्था हो । यस्तो बेला फिल्डमा खटिँदा जे आइपर्छ, त्यही गर्ने हो । जनताका लागि मैले भारी बोक्नु हुन्न भन्ने कहाँ लेखेको छ ?’ उनले भने । 


महेशको सरकार


जनप्रतिनिधिले आफ्ना नागरिकका लागि अहिले जे-जस्ता पहल लिएका छन्, यो हृदयदेखि नै आएर गरिएको हो । ‘मेरो मनैदेखि लागेर गरिएको काम हो,’ खरेलले भने । आफ्नो पहलकै कारण नगरबासीले आफू नजिक सरकार रहेको अनुभव गरेको उनको बुझाइ छ । 


गत बुधबार उनले २५ वटा अक्सिजन सिलिन्डर संकलन गरेका थिए । पछि फिर्ता गर्ने गरी लिइएका यी सिलिन्डरमा भरिएको अक्सिजनले संक्रमित निको भएर ठमठम घर फर्किंदा सिलिन्डर दिएर सहयोग गर्नेहरूले पनि सबैभन्दा ठूलो मानवीय धर्म कमाउने खरेल बताउँछन् । 

 

पाँचखालको आइसोलेसनमा अहिले १५ जना संक्रमितको उपचार भइरहेको छ । प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायलगायत जिल्लाका अन्य संयन्त्रबाट पनि सहयोग पाइरहेको उनले जानकारी दिए । 

 

पाँचखालले सञ्चालन गरेको आइसोलेसनमा छिमेकी पालिकाका संक्रमितलाई पनि राखिएको छ । काभ्रेकै मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकाका संक्रमितलाई पनि पाँचखालले उपचार गराइरहेको छ । अक्सिजन अभाव भएपछि सिन्धुपाल्चोक र दोलखाबाट आएका संक्रमितको पनि उपचार गरिरहेको उनले बताए । 

 

‘आइसोलेसनले धान्ने र अक्सिजन जुटाउन सक्दा आफ्नो पालिकाका संक्रमितलाई मात्रै उपचार गर्ने भन्ने कुरा आउँदैन,’ खरेल भन्छन्, ‘जनता जहाँका भए पनि उपचार पाउने उनीहरूको मौलिक हक हो । सोही कारण एकआपसमा समन्वय गरेर काम गरिरहेका छौँ ।’

 

महेशको प्रेरणा


नगरप्रमुख खरेलकी आमा ८ महिनाकी गर्भवती थिइन्, जसको गर्भमा थिए, महेश । ८ महिनाकी गर्भवती आमालाई गोरुले हानेपछि सिकिस्त भइन् । बुबा राजेन्द्र खरेल (पूर्वमन्त्री) नख्खु कारागारमा थिए ।

 

१ महिनापछि महेश जन्मिए । जब महेश हुर्कंदै गए, आमाले भोगेका पीडा सुन्दै गर्दा उनलाई बिरामी हुँदा जोकोहीले उचित उपचार पाउनुपर्ने कुराले मुटुमै छुन्छ । स्वास्थ्यजस्तो संवेदनशील विषयलाई खेलाँचीका रूपमा लिनुहुँदैन भन्ने उनलाई लाग्छ ।

 

महेशको अभाव


संक्रमितका लागि अक्सिजन सिलिन्डर बोक्दाबोक्दै खरेल आफैँ संक्रमित भएका छन् । संक्रमित भइसकेपछि खरेलले जनताको पीडा अझ नजिकबाट महसुस गरेका छन् । अहिले आफूलाई जस्तो पीडा भइरहेको छ, सारा संक्रमितलाई यस्तो पीडा भइरहेको महसुस गरेरै नगरबासीको उपचारका लागि उनले नगरपालिकाको टिम परिचालन गरिरहेका छन् ।

 

निको भएका संक्रमितले ‘महेश नभएको भए त मर्थें’ होला भनेर गर्ने ‘कमेन्ट’ ले उनलाई निकै भावुक बनाउँछ । ‘आफैं संक्रमित भएकाले मलाई पनि गाह्रो भइरहेको छ । तर, हरेक दिन आइसोलेसनमा उपचार गराइरहेका र घरमै रहेका संक्रमितलाई टेलिफोन गरेर ढाडस दिइरहेको छु,’ खरेल खुसी सुनिन्छन् ।

 

नगरपालिकाले कोरोना किट (थर्मोमिटर, १४ दिनलाई पुग्ने मास्क, सिटामोल, भिटामिन सी, स्यानिटाइजर, डेटोल साबुन संक्रमितको घरघरमै पुगेर वितरण गरेको छ । यस्ता किट नगरपालिकाको १३ वटै वडामा वितरण गरिएको छ । 

 

महेशको चिन्ता


‘८६ जनाको स्वाब टेस्ट गर्दा ७७ जनामा पोजेटिभ देखिएको थियो’, खरेल भन्छन्, ‘डढेलो जसरी फैलिएको संक्रमण रोक्न स्थानीय सरकारले गरेको प्रयत्नलाई संघीय सरकारले थोरै भए पनि हैँसे गरिदिएको भए संक्रमणको चेन ब्रेक गर्न सकिन्थ्यो । तर, संघले सिन्को बराबरको सहयोग दिएको छैन ।’

 

संघले सहयोग नगरेकामा प्रमुख खरेललाई आक्रोश छैन । ‘कर्मचारी व्यवस्थापन मात्रै गरिदिए पनि सजिलो हुने थियो,’ उनी भन्छन् । १ जना चिकित्सकलाई खरेलले आफ्नै पहलमा खोजेर आइसोलेसनमा खटाएका छन् । आइसियु र भेन्टिलेटरसहितको अस्पताल बनाउन सुरु गरिहाल्ने योजना उनको छ । 

 

अरूको मुख ताक्नेभन्दा पनि आफूसँग भएको स्रोत-साधन प्रयोग गरेर नगरबासीको ज्यानको रक्षा गर्ने अभियानमा खरेल लागिपरेका छन् । 

 

संक्रमितलाई दिनमा ४ पटक पौस्टिक खाना खुवाएर निःशुल्क उपचार गरिरहेको नगरपालिकाले अतिविपन्न संक्रमितलाई जनही १० हजार रुपैयाँ दिने निर्णय गरेको छ । नगरपालिकाको बजेटले नधान्ने अवस्थामा सहयोगी मन भएका व्यक्ति तथा व्यवसायीलाई विपन्न परिवारका लागि सहयोग गर्न आग्रह गरिएको उनले बताए ।

 

‘नगरबासीकै मतले तिनकै लागि काम गर्छु भनेर नगरप्रमुख भइसकेपछि उनीहरूका निम्ति नगरे कसका लागि गर्ने ? जनताको सेवा गर्छु भनेर राजनीतिमा लागेपछि यस्तो कठिन अवस्थामा जनताका लागि मद्दत नगरे कहिले गर्ने ?’ नगर प्रमुख भन्छन्, ‘यो बेला दायाँबायाँ केही नसोची महामारीको भुंग्रोबाट नागरिकलाई जोगाउने दायित्वको नेतृत्व जनप्रतिनिधिले लिनुपर्छ ।’

 

महेशको अनुरोध


‘परिस्थिति नियन्त्रणबाहिर जानलागिसक्यो । घरघरमा भाइरस पसिसक्यो । यो बेलानगरबासी जसरी हुन्छ घरभित्रै बसौँ । म आफू पनि संक्रमित छु । घरमै छु तर मेरो स्वास्थ्यसँगै तपाईं नगरबासीको स्वास्थ्यका लागि आवश्यक प्रबन्ध गर्न लागिरहेकै छु । तपाईं नगरबासी नआत्तिनुस्, जनप्रतिनिधि तपाईंसँगै छन्,’ नगरप्रमुख नगरबासीलाई अनुरोध गर्छन् ।