close

अक्सिजन प्लान्ट स्थापना गर्न गुल्मी अस्पताललाई ६० लाख हस्तान्तरण 

अक्सिजन प्लान्ट स्थापना गर्न गुल्मी अस्पताललाई ६० लाख हस्तान्तरण 

Trulli
ADVERTISEMENT

गुल्मी- गुल्मीमा अक्सिजन अभावका कारण नागरिकको ज्यान जान थालेपछि गुल्मेली पत्रकारले गुल्मी अस्पताललाई ६० लाख रुपैयाँको चेक प्रदान गरेका छन् ।


सोमबार गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डेय र मेसु डा. उत्तम पच्यालाई पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालसहितका पत्रकारले ६० लाख रुपैयाँको चेक प्रदान गरेका हुन् ।

 

पत्रकार महासंघ गुल्मीले जिल्लामा २५ वैशाखबाट अक्सिजन प्लान्ट जडान अभियान सञ्चालन गरेको थियो । 


सोही अभियानमार्फत संकलित ५० लाख र जिल्ला समन्वय समिति गुल्मीले पत्रकार महासंघलाई प्रदान गरेकोसहित ६० लाख रुपैयाँको चेक अक्सिजन प्लान्टका लागि अस्पताललाई प्रदान गरिएको अभियन्ता तारा भुसालले जानकारी दिए ।

 

पत्रकार महासंघले केही समयअघि अक्सिजन अभाव बढेपछि ५ लाख रुपैयाँ बराबरको ग्याससहितका २० वटा ठूला अक्सिजन सिलिन्डर अस्पतालाई प्रदान गरेको थियो ।


अहिले पनि सिलिन्डर भर्ने काममा महासंघले सहजकीरण गरिरहेको शाखाका सचिव प्रेम सुनारले बताए । त्यसबाहेक महासंघको आइसोलेसनमा रहेका सिलिन्डरसमेत तत्काल अस्पताल र बिरामी बाहिर रेफर गर्नुपर्ने अवस्थामा उपलब्ध गराइने गरेको जानकारी उनले दिए ।

 

पत्रकार महासंघका अध्यक्ष अर्यालले सरकारसँग समुदाय साझेदारी गरेर प्लान्ट निर्माणको काम थालिएको बताए । उनले अहिलेको कोभिडलाई मात्रै नभएर केही समयमै निर्माण हुने सय बेडको अस्पताल, स्थानीय तहमा निर्माण हुने १५ शय्याका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरूको अक्सिजन आपूर्तिलाई ध्यान दिएर डेढ करोड रुपैयाँ बढीको अक्सिजन प्लान्ट सञ्चालन गर्न थालिएको जानकारी दिए । 

 

अभियान समन्वय समिति संयोजक जनार्दन घिमिरेले सरकारी खरिद प्रक्रियाको ढिलासुस्तीप्रति नागरिकको शंका रहेकाले अक्सिजन सुनिश्चिचता नहुने बेलासम्म अभियान र दबाब सँगै अगाडि लैजाने बताए । यो अभियानमा देश-विदेशबाट करिब ७० लाख रुपैयाँ संकलन भएको शाखाका सचिव प्रेम सुनारले जानकारी दिए ।


गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न सरकारको १ करोड र आइसियुका लागि २ करोड रुपैयाँ विनियोजन भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको पहलमा उक्त रकम जुटेको हो ।

 

गुल्मी अस्पतालका प्रमुख डा.उत्तम पच्याले पत्रकारहरूले देशमै नमुना काम गरेको बताए । पत्रकारले लेख्ने र आलोचना मात्रै गर्दैनन्, नागरिकको सुख-दुःख र महामारीमा एक छन् भन्ने सन्देश दिएको उनको भनाइ छ । ‘अब छिट्टै सूचना प्रकाशन गरेर यथाशीघ्र प्लान्ट स्थापनाको गृहकार्यमा जुट्छौँ’, उनले भने ।

 

कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठ, एमाले नेता कृष्ण सुनार, हिरा एसी, माओवादी नेता वीरबहादुर कार्की लगायतले पत्रकारले सञ्चालन गरेको अभियानले राज्यको समेत आँखा खोलिदिएकामा प्रशंसा गरे ।