close

बाैरिँदै छ कोरोनाको हटस्पट बाँके (भिडियो खबर)

बाैरिँदै छ कोरोनाको हटस्पट बाँके (भिडियो खबर)

ADVERTISEMENT

बाँके- कोरोना भाइरसको संक्रमणको दोस्रो लहरले सबैभन्दा बढी संक्रमण बाँकेको नेपालगञ्जमा फैलियो । संक्रमण उच्च गतिमा फैलदा मृत्यु हुनेको संख्या पनि बढ्दै गयो ।  हरेक घरमा संक्रमित भेटिन थाले । अस्पतालमा थामि नसक्नुको भीड भयो । अक्सिजनको अभाव, चिकित्सकको अभाव हुँदै गयो ।

 

बाँकेले वैशाख सुरुका दिनमा भोगेको पीडाले सिंगो देशलाई नै महामारी रोकथाम गर्न पाठ सिकाइरहेको थियो । तर, पनि राज्यले समयमा नसुन्दा धेरैको मृत्यु भयो । अहिले पनि बाँकेमा संक्रमित थपिरहेका छन् । तर, केही सहज भएको छ । संक्रमित अस्पतालबाट घर फर्कने आश बोक्न थालेका छन् भने  निको भएर डिस्चार्ज हुने क्रम पनि बढेको छ । 

 

बाँकेको कोहलपुर नगरपालिका वडा नं १० का पुरुषोत्तम गिरी  प्रेम नगरमा अवस्थित अस्थाई कोरोना अस्पतालमा बसेर सोमबार मात्रै घर फर्किए । ५५ बर्षीय गिरीलाई कोरोना अस्पतालका डाक्टर र स्थानीय जनप्रतिनिधिको साथ, सहयोग र हौसलाले कोभिड सँग लड्न मद्दत गर्यो । डाक्टरको सल्लाह र आफ्नाको साथ र हौसला भए कोरोनालाई सजिलै जित्न सकिने उनको अनुभव छ ।

 

कोहलपुर–१५ का नारायण चौधरी वैशाख २६ बाट कोहलपुरको आईसोलेसन सेन्टरमा आएका हुन् । त्यसभन्दा अघि घरमै एकान्तवास बसेका चौधरी परिवारलाई नसरोस भनेर आईसोलेसनमा आएका हुन् । शान्त वातावरण र स्वास्थकर्मीको भरपर्दो उपचारले उनि चाँडै निको भएर घर फर्किनेमा ढुक्क छन् ।


नगरमा अहिले ११ सयभन्दा बढी संक्रमितहरु छन् । नगरले अहिले विभिन्न संघसंस्था सँग मिलेर पनिकोरोना परास्त गर्न लागि परेको छ । सामाजिक संस्था संग मिलेर नगरले अर्को एउटा एम्बुलेन्सको समेत व्यवस्था गरेको छ भने शवबाहनको समेत व्यवस्था भईसकेको छ । नगरले कोरोना परीक्षणको दायरा पनि बढाएको छ ।

 

स्वाब संकलन संगसंगै गत वैशाख २७ गते देखि एन्टिजेन परीक्षण सुरु गरेको थियो । नगरले गम्भीर प्रकारका बिरामीलाई मात्रै नेपालगन्ज मेडिकल कलेज कोहलपुर र भेरी अस्पताल नेपालगन्जमा रेफर गर्ने गरेको होम आईसोलेसनमा बसेका बिरामीको स्वास्थ अवस्था बारे चेकजाँच गर्न जाने गरेका स्वास्थ्यकर्मी सुजन बुढाथोकी बताउछन् ।

 

घरमै गएर उनीहरूको स्वास्थ्य चेकजाँचगर्दा संक्रमितले सकरात्मक हौसला प्राप्त गर्नुका साथै उनीहरू खुसीहुन गरेको सुजनको अनुभव छ ।अक्सिजनको आपूर्ति सहजभएको खण्डमा संक्रमितलाई आफुले उत्कृष्ट सेवा दिन सकिने कोहलपुर प्रेमनगर स्थित कोरोना अस्थाई अस्पतालका चिकित्सक सन्तोष केसीेको अनुभव छ । २५ शय्या भएको अस्थायी अस्पतालमा १५ वटा शय्या मात्रै भएकाले पनि कहिले काहीँ समस्या हुने गरेको छ । 

 

कोरोना भाइरसको दोस्रो लहर सुरु हुँदा सबैभन्दा धेरै प्रभावित बाँके भएको थियो । हटस्पट बन्न पुगेको बाँकेमा २ हजार २ सय भन्दा बढी मानिसहरु कोरोनाबाट प्रभावित भइसकेका छन् । नगरले हालसम्म ४२ जनाको मानवीय क्षति बेहोर्नु परेको छ । कोहलपुर नगरपालिकाले आफ्ना नागरिकलाई संक्रमण मुक्त बनाउनका लागि र उनीहरुको मनोबल उच्च पार्नका लागि हर सम्भव प्रयास गरिरहेको छ । अहिले नगरपालिकाले गम्भिर अवस्था भएका तथा होम आईसोलेसनमा बसेका संक्रमितको व्यवस्थापन गर्न बढी समय खर्चिरहेको छ । 

 

केहि समय अघि जनताका लागि एम्बुलेन्स नभएको तर, जनप्रतिनिधि र कर्मचारीले आफ्ना लागि भने क्रेटा खरिद गरेको भनेर विवादमा तानिएको कोहलपुर नगर सँग अहिले २ वटा एम्बुलेन्स छन् । पछिल्लो समय यहाँको स्थानिय सरकारले कोरोना नियन्त्रणका लागि आफुसँग भएका सबै श्रोत र साधनको भरपुर उपयोग गरिरहेको छ ।

अति आवश्यक बाहेकको सबै बजेटहरु पनि रकमान्तर गरेर कोरोना नियन्त्रणमा जुटिरहेको छ । बाँके विस्तारै कोरोनाको महामारीबाट बौरिँदै छ । आशा छ अन्य जिल्ला पनि यसरी नै कोरोनालाई जित्न सफल हुने छन् ।