close

काभ्रेका सबै पालिका सिल, मर्निङवाकमा समेत रोक

काभ्रेका सबै पालिका सिल, मर्निङवाकमा समेत रोक

Trulli
ADVERTISEMENT

काभ्रे- मण्डनदेपुर नगरपालिकाले नगर क्षेत्रलाई बुधबारदेखि १० दिन सिल गरेको छ । दोस्रो लहरको कोभिड-१९ नगरमा तीब्ररूपमा फैलिएकाले यस जोखिमपूर्ण अवस्थामा संक्रमणलाई नियन्त्रण, न्यूनीकरण तथा संक्रमणको शृङ्खला तोड्न नगरले अत्यावश्यकबाहेकका सेवा १० दिनका लागि सिल गरेको नगरपालिकाले जनाएको छ ।

 

औषधि र इन्धनबाहेकका सम्पूर्ण सेवा १० दिनलाई बन्द गरिएका नगरप्रमुख टोकबहादुर तामाङले पालिका खबरलाई बताए । नगरमा हाल ११८ पुरुषसहित १६९ सक्रिय संक्रमित रहेका छन् ।

 

संक्रमणको उच्च जोखिम रहेको जनाउँदै मण्डनदेउपुरसहित काभ्रेपलाञ्चोकका आठ स्थानीय तहले हाल आफ्नो क्षेत्र सिल गरेका छन् । बनेपा, धुलिखेल, पनौती, पाँचखाल र मण्डनदेउपुर नगरपालिकाकाे साथै रोशी, बेथानचोक र भुम्लु गाउँपालिकाले आफ्ना क्षेत्रमा स्वास्थ्यसम्बन्धी अत्यावश्यक सेवाबाहेक सबै पूर्णरूपमा बन्द गरेको जनाएका छन् ।

 

जिल्लामा सबैभन्दा बढी सक्रिय संक्रमित रहेकाले बनेपाले यही जेठ ४ गतेबाट गरेको सिलको समयावधि आजदेखि दोस्रोपटक पाँच दिन थपेको छ । नगरपालिकाले मर्निङवाकसमेत गर्न दिएको छैन । जेठ ८ गतेबाट सिल गरेको पनौती नगरले पनि पहिलोपटक पाँच दिन सिलको समयावधि थपेको छ ।


पाँचखाल नगरले भने बन्दमा मदिराजन्य पसल सञ्चालन गरे छ महिना अनुमति खारेज गरी ५० हजार रुपैयाँ जरिवानासमेत गर्ने जनाएको छ । साथै सिल गरिएका स्थानीय तहले फोहरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युत् सेवाप्रदायक निकायले न्यूनतम कर्मचारीमार्फत स्वास्थ्यका आधारभूत मापदण्ड अपनाएर सेवा प्रवाह गर्न प्रबन्ध मिलाउनसमेत निर्देशन दिएका छन् ।

 

सूचना विभागबाट जारी प्रेस पासबाहक सञ्चारकर्मीबाहेक नगरका अन्य व्यक्तिले अत्यावश्यक काममा मात्रै स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर बाहिर निस्कन पाइने स्थानीय तहद्वारा जारी सूचना एवं प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।