close

मेलापर्वले कोराना फैलाएपछि बराहपोखरीले लगायो रोक 

मेलापर्वले कोराना फैलाएपछि बराहपोखरीले लगायो रोक 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको बराहपोखरी गाउँपालिकाले समूहमा भेला भएर सामाजिक तथा सांस्कृतिक कार्य गर्न रोक लगाएको छ । पछिल्लो समय जमघटमा गरिने विवाह, व्रतबन्धजस्ता सामाजिक तथा सांस्कृतिक कार्यका कारण कोभिड-१९ को संक्रमण फैलिएको पाइएपछि गाउँपालिकाले भेला भएर कुलपूजा देवाली, साकेलालगायतका चाडपर्व मनाउन कडाइ गरेको हो ।

 

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को ११ जेठको निर्णयअनुसार गाउँपालिकाले मनाउनैपर्ने चाडपर्वलाई परिवारभित्रका सदस्य मात्रको सहभागितामा विधि फुकाउने व्यवस्था गर्न आग्रह गरेको छ । 

 

यस्तै, स्वास्थ्य सुरक्षाका मापण्ड अनिवार्य रूपमा पालना गरी विकास निर्माणसम्बन्धी कार्य सञ्चालन गर्ने÷गराउने, सोको अनुगमन स्थानीय तहले गर्ने, कोही कसैले उक्त निर्णयको बर्खिलाप गरे संक्रामक रोग ऐन, २०२० तथा प्रचलित कानुनबमोजिम कारबाही गर्नेसमेत निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले जारी गरेको सूचनामा उल्लेख छ । 


गत २१ वैशाखको गाउँकार्यपालिका बैठकले पनि पालिकाभित्र सभा, सम्मेलन, गोष्ठी, सेमिनार, उद्घाटन, चियापान, राजनीतिक दलका कार्यक्रम, मठमन्दिर, मस्जिद, गुम्बा, चर्च, विवाह, व्रतबन्धलगायत भीडभाड हुने कार्यक्रममा प्रतिवन्ध लगाउने निर्णय गरेको थियो ।

 

सोही निर्णयअनुसार हालसम्म गाउँपालिका र सबै वडा कार्यालयको अत्यावश्यकबाहेकका सेवा अर्को व्यवस्था नहुँदासम्म स्थगित छ । यस्तै, गाउँपालिकाभित्रका उपभोग्य पसल दैनिक बिहान ७ देखि ९ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । हाल गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालय तहका पठनपाठन र निर्धारित परीक्षासमेत स्थगित छ । 

 

दैनिक २ घन्टा एन्टिजेन टेस्ट

 

बराहपोखरी गाउँपालिकाले दैनिक २ घन्टा एन्टिजेन टेस्टको व्यवस्था मिलाएको छ । कोभिड-१९ को संक्रमण आशंका गरिएका स्थानीयको एन्टिजेन परीक्षणका लागि बालकन्य मावि धर्तुङमा स्थापना गरिएको १० बेडको अस्थायी कोभिड अस्पतालमा मेडिकल टिम व्यवस्था गरिएको छ ।

 

मंगलबारदेखि बिदाको दिनबाहेक दैनिक बिहान १२ देखि दिउँसो २ बजेसम्म एन्टिजेन परीक्षणका लागि डा. अजितराज पण्डित, सिनियर अहेब शत्रुधनप्रसाद गौतम, स्टाफ नर्स सलिना गौतम, ल्याब असिस्टेन्ट गीता राईलगायतलाई परिचालन गरिएको छ । 

 

कोभिड–१९ विरुद्धको अभियान सफल बनाउन गाउँपालिकाभित्रका प्रहरी चौकीलाई निगरानी गर्न र वडा कार्यालयलाई आवश्यक समन्वयकारी भूमिका निर्वाहका लागि जिम्मेवारी दिइएको गाउँपालिकाले जनाएको छ । 

 

रावाबेँसीलाई थप साता दिन सिल 

 

रावाबेँसी गाउँपालिकाको सीमानाका थप साता दिनका लागि सिल गरिएको छ । कोभिड-१९ को संक्रमण दर दिनानुदिन बढिरहेको सन्दर्भमा सोमबार बसेको गाउँपालिकाको निर्णयअनुसार मंगलबारदेखि आगामी १७ जेठसम्म पालिका प्रवेश गर्ने सीमानाका सिल गरिएको हो । 

 

संक्रमित फेला परेलगत्तै वैशाख अन्तिम सातादेखि सीमानाका सिल गरेको गाउँपालिकाले संक्रमणको दर बढिरहेको भन्दै अवधि लम्ब्याएको हो । स्थानीय कोरोना विपद् व्यवस्थापन केन्द्रको गत २६ वैशाखको निर्णयअनुसार गाउँपालिकाको सीमानाका हालसम्म सिल गरिएको अवस्था छ ।

 

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले आवश्यकताका आधारमा सिल अवधि थप गर्दै लगिएको जनाएको छ । यस अवधिमा पालिकाभन्दा बाहिरबाट अत्यवश्यक कामका लागि आउने नागरिकले ७२ घन्टाभित्रको पिसिआर रिपोर्ट पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । 

 

रातीको समय पारेर गाडी हिँडाएको पाइए रोकथामका लागि सुरक्षाकर्मीलाई अनुरोध गर्ने निर्णय गरिएको गाउँपालिकाले बताएको छ । 


गाउँपालिकाले १७ जेठसम्मका लागि पालिका र वडा कार्यालयको अति जरुरी र आकस्मिकबाहेक सम्पूर्ण कार्य बन्द गर्ने, स्वास्थ्यको आकस्मिक सेवाबाहेकका कार्य बन्द गर्ने, निर्माण सामग्री, खद्यान्न, इन्धन, स्वास्थ्य सामग्रीजस्ता सामग्री ढुवानी गर्नेबाहेकका गाडीका लागि आउजाउ पूर्ण बन्द गराएको जानकारी दिएको छ । 

 

प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर पाण्डेले सोमबार जारी गरेको सूचनामा गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालय १७ जेठसम्म बन्द गर्ने, कार्यालयको काम गर्ने कर्मचारीले परामर्श गरेर आउजाउ गर्नुपर्ने, खाद्यान्न र इन्धन पसल दैनिक बिहान ८ देखि १० बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म खुला गर्न दिने, चोक र चौतारामा भेला भएर गर्ने कुनै पनि कार्य नगर्ने÷नगराउने, नियमित सञ्चालन भइरहेका योजनाको हकमा भौतिक दूरी तथा स्वास्थ्यका मापदण्ड पूरा गरी सञ्चालन गर्ने÷गराउने उल्लेख छ ।

 

यस्तै, जनप्रतिनिधि, कर्मचारी, शिक्षक र स्वयंसेवकलाई कोभिड–१९ विरुद्धको जनचेतनामूलक क्रियाकलाप सञ्चालनमा परिचालन गर्ने, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि तयारी अवस्थामा राख्ने, पालिकाभित्र सकेसम्म कम उपस्थितिमा विवाह, देवाली, पुराण, व्रतबन्ध, साकेला मनाउन, कोभिड अस्पलाल, क्वारेन्टाइन तथा आइसोलेसनमा राखिने संक्रमितको सुरक्षाको जिम्मा नजिकको प्रहरी चौकीलाई दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।