close

जलजलाका अध्यक्षको पहलमा लाखौैँ मूल्यको स्वास्थ्य सामग्री जोरजाम

जलजलाका अध्यक्षको पहलमा लाखौैँ मूल्यको स्वास्थ्य सामग्री जोरजाम

Trulli
ADVERTISEMENT

म्याग्दी– पर्वतको जलजला गाउँपालिकामा कोरोना संक्रमितको उपचारका लागि लाखौँको मूल्यको स्वास्थ्य सामग्री व्यवस्थापन भएको छ । गाउँपालिका अध्यक्ष यामबहादुर मल्लको पहलमा सरकारी निकाय र दातृ संघ–संस्थाहरूले करिब २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री जुटेको हो । 

 

संक्रमितको उपचारमा स्वास्थ्य सामग्री अभाव भएपछि काठमाडौ पुगेका मल्लले सामग्री ल्याएर पालिकामा फर्किएका छन् । गाउँपालिकाले नाग्लीवाङको फर्से र मल्लाजमा सञ्चालन गरेको आइसोलेसन लागि सरकारका मुख्य सचिव शंकरदास वैरागीसँग अनुुरोध गरेर सामग्री व्यवस्थापन गरेको अध्यक्ष मल्लले बताए । 

 

१० वटा अक्सिजन सिलिन्डर, २ वटा अक्सिजन कन्सन्टे«टर, १४ थान शय्या, २०० वटा पिपिई, ५०० वटा एन ९५ मास्क, ५०० थान बढी ग्लोब्स, मास्क, चश्मा, फेस सिल्ड, गाउनलगायत सामग्री व्यवस्थापन गरिएको छ । 

 

कोरोना संक्रमितको शव व्यवस्थापनका लागि आवश्यक पर्ने सामग्री पनि जुटाइएको छ । थपिएकासहित जलजलामा ४० वटा अक्सिजन सिलिन्डर र ५ वटा अक्सिजन कन्सन्टे«टर छन् । थप ५ वटा अक्सिजन कन्सन्टे«टर आउँदै छ । एन्टिजेन किट, भिटिएमलगायत सामग्री पनि प्राप्त भएको छ ।

 

कोरोना संक्रमितको उपचारलाई प्रभावकारी र व्यवस्थित बनाउन सामग्री व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ । जलजलामा मंगलबार साँझसम्म २९० जना कोरोना संक्रमित भएकामा ९६ जना निको, १० जनाको मृत्यु र १८४ जना सक्रीय संक्रमित छन् । २२६ वटा स्वाब नमुनाको रिपोर्ट आउन बाँकी छ ।

 

यसैगरी जलजला गाउँपालिकाले कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागलाई पत्राचार गरेको छ । १५०० भायल खोप उपलब्ध गराउन पत्राचार गरेको छ । खोप उपलब्ध गराउन नसके पालिकालाई आफ्नै खर्चमा खोप खरिद अनुमति मागेको छ । जलजलाको मल्लाज क्षेत्र कोरोनाको केन्द्र बनेको छ । 

 

जलजला गाउँपालिकाले लक्षण देखिएका र शंकास्पदको स्वाब नमुना संकलन गरि परीक्षणका साथै संक्रमितको उपचारको व्यवस्था मिलाएको छ । संक्रमितको उपचारका लागि अस्पताल पुग्न अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्न थालिएको
छ । 

 

कोरोना नियन्त्रणका लागि विपद् व्यवस्थापन कोष स्थापना गरेर सहयोग संकलन अभियानलाई निरन्तरता दिइएको छ । स्वदेश तथा विदेशबाट विभिन्न दाताहरूले जिन्सी तथा नगद सहयोग गरिरहेका छन् ।