close

पानीको बहाव उर्लिएपछि अस्थायी बेलीब्रिजको नटबोल्ट फुकालिँदै

पानीको बहाव उर्लिएपछि अस्थायी बेलीब्रिजको नटबोल्ट फुकालिँदै

Trulli
ADVERTISEMENT

उदयपुर– सगरमाथा लोकमार्गको उदयपुर र खोटाङ सदरमुकाम जोड्ने सडकअन्तर्गत सुनकोसी नदीको फोक्सिनटारमा छैटौ पटक जडान गरिएको अस्थायी बेलीब्रिज पानीको बहाव बढेसँगै खोल्न थालिएको छ । दुवै जिल्ला सदरमुकाम जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा लगाइएको अस्थायी बेलीब्रिज झिक्न थालिएपछि उदयपुर र खोटाङ सदरमुकाम दिक्तेलबीचको सीधा यातायात बन्द
भएको छ ।

 

सगरमाथा लोकमार्गको दिक्तेल–गाईघाट सडक खण्डअन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका वडा नम्बर ९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर ५ आँपटारको फोक्सिनटार जोड्ने सुनकोसीमा जडान गरिएको अस्थायी बेलीब्रिज पानीको बहाव बढ्न थालेकाले झिक्न सुरु गरिएको हो ।

 

गाईघाट–दिक्तेल सडक योजना कार्यालयले सुनकोसीस्थित फोक्सिङटारमा गत मंसिरमा जडान गरिएको बेलीब्रिज हटाउन सुरु गरेको हो । करिब ८४ लाख रुपैयाँमा रेग्मी निर्माण सेवा गाईघाटले अस्थायी बेलीब्रिज जडान गरेको थियो ।

 

सडक योजनाले लगाएको ठेक्का सम्झौताअनुरूप ११ जेठदेखि अस्थायी बेलीब्रिज खोल्ने काम भएको निर्माण कम्पनीका प्रतिनिधि अमृत खड्काले जानकारी दिए । उनका अनुसार बेलीब्रिज खोल्न कम्तीमा ३÷४ दिने लाग्नेछ ।

 

सुनकोसी नदीमा पानीको बहाव घटेसँगै हिउँदभर सञ्चालन गर्ने र वर्षामा झिक्ने गरी फोक्सिङ्टारमा ५० मिटर लम्बाइ भएको अस्थायी बेलीब्रिज जडान गरिएको छ । 

 

गाईघाटबाट १०१ किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङ्टारमा बेलीब्रिज सञ्चालनमा आएसँगै दिक्तेलबाट सीधै गाईघाट हुँदै धरान, विराटनगरलगायत सहर जाने सीधा र छोटो बाटोमा पर्ने सुनकोसीको अस्थायी बेलीब्रिज हटाएसँगै खोटाङबाट सीधा र छोटो बाटो बन्द हुन पुगेको छ । 

 

अस्थायी बेलीब्रिजका कारण उदयपुरबाट खोटाङसम्म सीधा यातायात सञ्चालन हुँदै आएको थियो । बेलीब्रिजले सस्तोमा दैनिक उपभोग्य सामान सीधै पुग्ने गरेकामा अस्थायी पुल खोलिएसँगै महँगिने स्थानीय बताउँछन् । 

 

फोक्सिङ्टारमा बेलीब्रिज नहुँदा खोटाङबाट घुर्मी–कटारी हुँदै तराई झर्नुपर्ने बाध्यता थियो । समयमा पक्की पुल निर्माण हुन नसक्दा फोक्सिङ्टारमा छैटौँ पटक अस्थायी बेलीब्रिज राख्ने र हटाउने काममा सरकारको अहिलेसम्म ४ करोड रुपैयाँ बढी खर्च भइसकेको छ । 

 

२ जिल्ला सदरमुकाम जोड्ने उद्देश्यले निर्माण सुरु गरिएको सो सडकअन्तर्गतको सुनकोसीमा स्थायी पक्की पुल निर्माण नहुँदा हिउँद समय बेलीब्रिजबाट सवारी आवागमन सुचारु गर्ने गरिएको छ । 

 

सुनकोसी नदीमा पानीको बहाव घटेसँगै करिब ५ महिनासम्म सञ्चालन हुने गरी बेलिब्रिज जडान गरिन्छ । सुनकोसी नदीमा स्थायी पक्की पुल अभावमा जोडिन नसकेका खोटाङ र उदयपुरलाई हिउँद याममा जोड्न बेलीब्रिज निर्माण गरिएका हुन । 

 

गाईघाट–दिक्तेल सडकको उदयपुर खण्डको ५२.५ किलोटिरको दूरीमा बेलीब्रिज निर्माण गरिएको र यसबाट सर्वसाधारणलाई गाईघाटदेखि दिक्तेलसम्मको आउजाउमा सवारी साधनको प्रयोग गर्न सहज भएको हो । 

 

फोक्सिनटारमा स्थायी पुल निर्माण जिम्मा पाएको ठेकेदारको लापरबाहीका कारण पुल नबनेको स्थानीयको आरोप छ । सुनकोसीमा पुल नबल्दा खोटाङ र उदयपुर सीधा यातायात बर्खाको समय ठप्प हुने र हिउँदमा बेलीब्रिज पुल सञ्चालनपछि पुनः सञ्चालन हुँदै आएको छ । 

 

निर्माण कम्पनीले २०७४ असार मसान्तभित्र सक्ने गरी ठेक्का सम्झौता गरेको थियो । पुल निर्माणको जिम्मा गौरा, पार्वती जेभी प्रालि काठमाडांैले लिएको छ । समयमा पक्की पुल निर्माण हुन नसक्दा खोटाङबासीले बर्सेनि सास्ती खेप्नुपरेको छ । सुनकोसीमा पानीको बहाव घटेपछि लगाइने र बर्खायाम सुरु भएपछि झिकिने बेलीब्रिजले हिउँदमा मात्र सीधा यतातयात सञ्चालन हुन्छ । 

 

उदयपुर सदरमुकाम गाईघाटदेखि खोटाङ सदरमुकाम दिक्तेलसम्म बेलीब्रिज जडानपछि ५ महिनाका लागि यातायात सञ्चालन हँुदै आएको छ । गाईघाटबाट दिक्तेलसम्म सीधा यातायात सञ्चालन हुने गरी फोक्सिङ्टारमा अस्थायी बेलीब्रिज जडान गरिएको गाईघाट–दिक्तेल सडक योजना कार्यालय उदयपुरका प्रमुख इञ्जिनियर गोपालप्रसाद खकुरेलले बताए । 

 

दिक्तेलबाट फोक्सिङ्टार पुगेका यात्रुलाई रसुवाघाटस्थित झोलुंगे पुल तर्नुपर्ने या डुंगाको सहारा लिएर वारपार गर्नुपर्ने बाध्यता छ ।  खोटाङलाई पूर्वी सहरसँग जोड्ने छोटो दूरीको सडक खण्डमा पर्ने बेलीब्रिज निकाल्न थालिएसँगै दिक्तेल–गाईघाट सीधा यातायात बन्द भएको छ । खोटाङबाट फोक्सिङटारको बेलीब्रिज निकालेपछि पूर्वी सहर आउजाउका लागि एक मात्र घुमाउरो बाटो दिक्तेल–हलेसी–जयराम–घुर्मी–कटारी सडक प्रयोग गर्नुपर्ने बाध्यता  सुरु भएको छ ।

 

फोक्सिङटारमा पक्की पुल निर्माण भए बाह्रैमास दिक्तेलबाट पूर्वी सहर आउजाउ गर्ने छोटो मार्ग खुल्नेछ । निर्माण कम्पनीको ढिलासुस्तीले बेलीब्रिज जडानमा राज्यलाई लाखौँ रकम प्रत्येक वर्ष घाटा हुने गरेको छ । 

 

फोक्सिङटारमा बेलीब्रिज नहुँदा दिक्तेलबाट रसुवाघाट र गाईघाटबाट फोक्सिङटारसम्म मात्र यातायात सञ्चालन हुँदै आएको थियो । बेलीब्रिज निकालेपछि गाईघाट हुँदै फोक्सिङटारबाट प्रतिकिलो साढे ३ देखि ४ रुपैयाँमा खोटाङ भित्रिने निर्माण सामग्री कटारी हुँदै जयराम घाटबाट भित्र्याइँदा प्रतिकिलो ५ देखि साढे ५ रुपैयाँ पर्ने व्यवसायीहरू बताउँछन् ।

 

खोटाङको खोटेहाङ, जन्तेढुंगा र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका स्थानीयले तराई झर्ने र उपभोग्य सामान ल्याउने एक मात्र बाटो फोक्सिङटारको बेलीब्रिज प्रयोग गर्दै आएका छन् । पूर्वी सहरबाट भित्रिने सिमेन्ट, रड, जस्तापाता, इँटालगायत निर्माण सामग्री तथा दैनिक उपभोग्य वस्तु सोही मार्ग भएर खोटाङका विभिन्न पालिका पुग्ने गथ्र्यो ।