close

प्रदेश सरकारको बेवास्ताका कारण स्वास्थ्य बीमा कार्यक्रम प्रभावित

प्रदेश सरकारको बेवास्ताका कारण स्वास्थ्य बीमा कार्यक्रम प्रभावित

Trulli
ADVERTISEMENT

नवलपुर- आवश्यक तयारी पूरा हुन नसक्दा नवलपुरमा स्वास्थ्य बीमा कार्यक्रम शुरु हुनसकेको छैन । चैत मसान्तसम्ममा स्वास्थ्य बीमा गरेकाहरुले सेवा लिने अवधि जेठ १ गतेबाट शुरु भए पनि स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालयले नवलपुरमा स्वास्थ्य बीमा कार्यान्वयनका लागि छनोट भएका स्वास्थ्य संस्थासँग बीमा कार्यान्वयन सम्झौता गर्न ढिलाइ गरेका कारण कार्यक्रम कार्यान्वयन हुन नसकेको हो ।


कार्यक्रम कार्यान्वयनका लागि छनोट भएकामध्ये मध्यविन्दु जिल्ला अस्पताल नवलपुरबाहेकका स्वास्थ्य संस्थासँग केही दिन अगाडि मात्रै सम्झौता भएको स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालय गण्डकी प्रदेशले जनाएको छ । तर, सम्झौता गरेका स्वास्थ्य संस्थामा पनि आवश्यक पूर्वधार तयारी र जनशक्ति व्यवस्थापन हुन नसक्दा कार्यान्वयन हुनसकेको छैन ।


मध्यविन्दु जिल्ला अस्पताल चोरमारा प्राथमिक स्वास्थ्य केन्द्र, देउराली अस्पताल हुप्सेकोट, बुलिङटार प्राथमिक स्वास्थ्य केन्द्र, रकुवा डेडगाउँ प्राथमिक स्वास्थ्य केन्द्र, गैँडाकोट नगर अस्पताल र दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनका लागि छनोट गरिएको थियो ।


कोभिड संक्रमणका कारणले समेत स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा समस्या भएको मध्यविन्दु जिल्ला अस्पताल बताउँछ । 


नवलपुरमा गत फागुन १ गतेदेखि दर्ता सहयोगीमार्फत जिल्लाका स्थानीयवासीको स्वास्थ्य बीमा गरिएको थिया तर, स्वास्थ्य बीमा गराएकाहरुको यकिन तथ्याङ्क भने अझै प्राप्त हुनसकेको छैन । प्रारम्भिक तथ्याङ्कअनुसार जिल्लामा करिब ३० हजार जनाले पहिलो चरणमा स्वास्थ्य बीमा गराएका छन् । 

 

बीमा गरेका ३० हजार घरपरिवारले जेठ महिनाबाट सेवा प्राप्त गर्नुपर्ने भए पनि उनीहरु सेवा लिनबाट बञ्चित भएका छन् ।