close

निषेधाज्ञा बर्खिलाप गर्नेलाई ५ लाखसम्मको जरिमाना

निषेधाज्ञा बर्खिलाप गर्नेलाई ५ लाखसम्मको जरिमाना

Trulli
ADVERTISEMENT

तनहुँ– कोरोना महामारी रोक्न गरिएको निषेधाज्ञा अटेर गर्नेलाई तनहुँ प्रशासनले ५ लाख रुपैयाँसम्म जरिमाना गर्ने भएको छ । बिहीबार सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई १ लाख र संस्थालाई ५ लाख रुपैयाँसम्म जरिमाना गर्ने जनाएको हो ।

 

निषेधाज्ञा अटेरी गर्दा कोरोना संक्रमणको जोखिम बढेपछि कडाइ गर्नु परेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए । हालै जारी कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ बमोजिम कारबाही हुने उनको भनाइ छ ।

 

अध्यादेशबमोजिमका कुनै काम गर्न बाधा अवरोध सिर्जना गरे १ वर्षसम्म कैद वा ५ लाख रुपैयाँ जरिमाना वा दुवै सजाय हुने व्यवस्था रहेको बरालले जानकारी दिए । उनका अनुसार कसैले अध्यादेशबमोजिम जारी भएका मापदण्डको पालना नगरे ६ महिनासम्म कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना अर्थात् दुवै सजाय हुनेछ ।

 

मास्क नलगाई हिँड्नेलाई पटकैपिच्छे १ सय रुपैयाँ, बिनाअनुमति बिरामी बोक्ने प्रयोजनबाहेक सवारी साधन चलाए २ पांग्रेको २ हजार र अन्यको ५ हजार रुपैयाँ जरिमाना लाग्ने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

 

२२ वैशाखदेखि तनहुँमा निषेधाज्ञा जारी छ । ३१ वैशाखमा समय सकिएपछि पुनः दोस्रो चरणमा १५ जेठसम्म निषेधाज्ञा लम्बाइएको छ ।शनिबार दोस्रो चरणको निषेधाज्ञा सकिँदै छ । कोरोना संक्रमण दरमा अपेक्षाकृत कमी नआएकाले निषेधाज्ञा अझै थप्ने तयारीमा प्रशासन रहेको छ ।