close

कोरोना नियन्त्रणमा हरिवन माेडल (भिडियो खबर)

कोरोना नियन्त्रणमा हरिवन माेडल (भिडियो खबर)

ADVERTISEMENT

सर्लाही- कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न अहिले सबैभन्दा महत्वपूर्ण भूमिका स्थानीय सरकारको छ । चार वर्षे कार्यकाल सकिनै लाग्दा स्थानीय सरकारले गरेका कामको लेखाजोखा हुन थालेको छ । कोरोना नियन्त्रणमा गरिएका र भएका कामले नै स्थानीय सरकारको अस्तित्व देखाउने हुँदा पालिकाहरू रात दिन नभनी काममा खटिइरहेका छन् । हुन पनि स्थानीय सरकारको महत्व अहिले महामारीमा देखिएको छ ।

 

प्रदेश २ का पनि कतिपय स्थानीय तह आफ्नो भूमिकामा अब्बल सावित भइरहेका छन् । प्रदेशकै सर्लाही जिल्लाको हरिवन नगरपालिकाले त संक्रमण रोक्न अपनाएका मापदण्ड र गरेको पूर्वतयारीको प्रशंसा चुलिएको छ । जनताको लागि काम गर्ने जनप्रतिनिधिको उदाहरण बनिरहेको छ, सर्लाहीको हरिव नगरपालिका ।

 

जनताको दुःख, सुखको सारथि नै स्थानीय सरकारको हो भन्ने भनाइको चरितार्थ गरिरहेको छ, नगरपालिकाले । अहिले माहामारीको समयमा त झन् हरिवनले गरिरहेको कामको लेखाजोखा नागरिकस्तरबाट प्रशंसा योग्य छ । नगरपालिकाले आफ्नै पहलमा संक्रमितलाई अस्पताल लैजाने र उपचार गराउने गरेको छ ।

 

गत साता एक जना कोरोना संक्रमितको अवस्था गम्भीर भयो । उनलाई आइसोलेसनसम्म लैजान एम्बुलेन्स तयारी अवस्थामा थियो, तर चालक भने थिएनन् । यो थाहा पाएपछि नगरप्रमुख गणेश प्रसाइँले संक्रमितलाई एम्बुलेन्समा राखेर आफैंले आइसोलेसन पुर्‍याए । अहिले ती संक्रमितको स्वास्थ्यमा सुधार छ । यो त एक उदाहरण मात्र हो, नगरप्रमुख प्रसाइँ आफै खटिएर महामारी नियन्त्रण गर्न लागिपरेका छन् । नगरप्रमुख मात्रै होइन अन्य जनप्रतिनिधिको सक्रियता पनि लोभलाग्दो छ ।

 

कोरोना संक्रमितको मृत्युपछि एम्बुलेन्स र शव वाहन चालकले गाडी कुदाउन नमानेपछि जनप्रतिनिधि आफै शव नदी किनारसम्म लैजाने गरेका छन् । गत साता हरिवनको वडा नम्बर ११का वडाध्यक्ष शेष महबुब रेजाले संक्रमितको शव नदी किनारसम्म आफैं पुर्‍याए । त्यतिमात्र नभई नगरपालिकाले यस आर्थिक वर्षमा मात्र १ करोड बजेट छुट्याएको छ । जसका कारण कोभिड नियन्त्रण र रोकथाममा हरिवन जिल्लाभरि नै उत्कृष्ट मानिएको छ ।

 

नगरले अक्सिजनसहित सय बेडको आइसोलेसन निर्माण भएको छ । पालिकाले कोरोना लक्षण देखिएका नगरवासीको स्वाब संकलनलाई प्राथमिकतामा राखेको छ । कन्ट्याक्ट ट्रेसिङ पनि भइरहेको नगरले जनाएको छ । हरिवन मात्र होइन गोडैता नगरपालिकाले पनि यस वर्ष कोरोनासँग जुध्दै विकास निर्माण अगाडि बढाइरहेको छ ।

 

चालु आर्थिक वर्षमा विकास निर्माणमा विनियोजित २४ करोड रकममध्ये ९० प्रतिशत खर्च भइसकेका छ । कोभिड नियन्त्रणका लागि पहिलादेखि नै ३५ लाख रकम विनियोजन गरेर रोकथामको प्रयासमा लागेको जानकारी दिए । नगरले २५ वेडको अक्सिजनसहितको आइसोलेसन निर्माण गरेको छ । यहाँ स्वाब संकलन र कन्ट्याक्ट ट्रेसिङ पनि भइरहेको छ ।

 

गौडेतामा २० जना र हरिवनमा १०४ जना सक्रिय संक्रमित छन्  । जिल्लामा १ हजार ५८ सक्रिय संक्रमित हालसम्म सक्रिय छन् । जिल्लामा कोरोना महामारीका बेला जनप्रतिनिधिको भूमिका सहयोगी नभएको भन्दै आलोचना बढिरहेका बेला सर्लाहीका दुई पालिकाका जनप्रतिनिधिले भने मन जित्ने काम गरेका छन् ।

 

हुन पनि स्थानीय सरकार भनेकै स्थानीयका लागि हो । जनप्रतिनिधि भनेकै जनताको स–साना विषयमा देखिएको समस्या समाधान गर्ने पात्र हुन् । अन्य समयमा जसले पनि सहयोग गर्छ तर खास सहयोग महामारी र विपद्मा देखिन्छ । जसको प्रतिनिधि पात्र हरिवन र गौडेताका जनप्रतिनिधि देखिएका छन् । अन्य पालिकाले पनि विपद्को यो घडीमा केही सिक्ने कि ?