close

पोखरा महानगरमा जनप्रतिनिधि आएको चार वर्ष पूरा, विकास र समृद्धिमा सामान्य सुधार (भिडियाे खबर)

पोखरा महानगरमा जनप्रतिनिधि आएको चार वर्ष पूरा, विकास र समृद्धिमा सामान्य सुधार (भिडियाे खबर)

ADVERTISEMENT

कास्की- कास्कीको पोखरा महानगरपालिकामा जनप्रतिनिधिले पदस्थापन गरेको शुक्रबार चार वर्ष पूरा भएको छ । संघीयता कार्यान्वयनपछि भएको स्थानीय तहकोे निर्वाचनबाट १ सय ७० जनप्रतिनिधि निर्वाचित भए । जनप्रतिनिधि निर्वाचित भएपछि पोखराले विकास र समृद्धीमा सामान्य सुधार गरेको छ । 


केहि योजना बनाएको छ, विकास निर्माण नियमित भएका छन् । तत्कालीन समयमा १७ वटा गाविस र लेखनाथ नगरपालिका समेटिएर पोखरा महानगरपालिका बनेको अधिकांश भुगोल ग्रामीण छ । न भौतिक संरचना, न गतिलो सडक । ति गाविसहरु विकासका हिसावले निकै पछाडी परेका थिए । अहिले पोखराले विकट वडाहरुमा विकासको पूर्वाधार विस्तारै बनाउन थालेको छ । 


बोलेरो जीप सकि नसकी उक्लिन्छ । सिमसिमे पानी पर्‍यो भने फोर ह्वील लगाउनुपथ्र्यो, गाडीमा । अहिले पोखराका गाउँगाउँमा स्तरीय सडक बनेको छ । पोखरा महानगरले शहरी क्षेत्रको सडकलाई अस्फाल्ट कंक्रिट मार्फत स्तरीय कालोपत्रे गरिरहेको छ । चार वर्षको अवधिमा २ सय ३१ किमी सडक ग्राभेल, १३७ किमी सडक कालोपत्रे, ८३ किमी साना तथा मझौला सडक ढलान, ३७ किमी सडक मर्मत एवं स्तर उन्नति गरिएका छन् । कनेक्टिङ सडक योजना अन्तर्गत पोखराले २७ वटा सडक योजना कार्यान्वयनमा लगेको छ । 


१० वटा नयाँ वडा भवन निर्माण गरिएको छ, ११ वटा मर्मत र थप ६ वटा निर्माणको चरणमा अघि बढेको छ । वडा तहमा पार्क तथा खुला व्यायामशाला निर्माण भएका छन् । गाउँगाउँमा सडक पुगेपछि गाउँलेहरु पोखरासँग जोडिन पाएकोमा खुसी छन् । 


महानगरले फेवातालको दीर्घकालीन संरक्षणका लागि जलाधार क्षेत्रबाट बगेर आउने मुख्य ५ वटा खोलामा प्रदेश सरकारसँगको सहकार्यमा सिल्टेसन ड्याम निर्माण गरेको छ । फेवातालसँगै वेगनासताल, रुपाताल, खास्टेताल, न्युरेनी, मैदी, दीपाङ, गुँदे तालको सिमांकन गर्नुका साथै तालहरुको विशेषता अनुसार सौन्र्दयकरण र दीर्घकालीन संरक्षणको योजना तयार पारेको छ । लामो समयदेखि विना सीमांकन रोक्का राखिएका जग्गा फुकुवा गर्न पहल सुरु भएको छ । 

 

साँघुरो भवनबाट काम चलाउनुपर्ने, ठाउँठाउँमा कार्यालय चहार्दा नागरिकलाई परेको सास्ती निराकरण गर्न तथा एकीकृत सेवा दिनका लागि महानगरपालिकाका महाशाखाहरु एकै ठाउँमा राख्ने गरी पोखरा ८ को पुरानो दमकलको जग्गामा नयाँ भवन निर्माणको प्रक्रिया सुरु भएको छ । पोखरा १२ माटेपानीमा महानगरको प्रशासकीय भवन निर्माण गर्न जग्गा प्राप्ती प्रक्रिया सकिएर निर्माणका लागि डिपिआर अघि बढाएको छ । 

 

पोखराले बढ्दो कोभिड संक्रमण र महामारीबाट नागरिकको सुरक्षाका लागि महानगरले आफ्नो छुट्टै कोभिड उपचार युनिट स्थापना गरेको छ । १५ शय्याको शिशुवा अस्पतालमा शैय्या थपेर ५० शैय्या बनाईएको छ भने ५० शैय्याको छुट्टै कोभिड अस्पताल निर्माण सम्पन्न गरेर सन्चालनमा ल्याएको छ । 


शिक्षाको गुणस्तर विकास गर्न गण्डकी बहुप्राविधिक शिक्षालय स्थापना गरी डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन अटोमोवाइल इन्जिनियरिङको पढाई सुरु गरेको छ । स्थानीय पाठ्यक्रम तयार गरी १ देखि ५ कक्षासम्म लागू गरेको छ । १० वर्षे महानगर शैक्षिक योजना तयार गरी कार्यान्वयनको चरणमा छ । पोखराको दीर्घकालीन विकासका लागि आवधिक योजना निर्माणको थालनी भएको छ । जे होस् महानगरले ४ वर्षको अवधीमा विकासको बलियो जग बसाएको छ ।