close

जमिन भासिँदा तिल्केचौर बस्ती पहिरोको चपेटामा

जमिन भासिँदा तिल्केचौर बस्ती पहिरोको चपेटामा

Trulli
ADVERTISEMENT

उदयपुर– बस्तीभन्दा २०० मिटरमाथिको पहाड धाँजा परेर जमिन भासिन थालेपछि तिल्केचौरका १३ घर उच्च जोखिममा परेका छन् ।उदयपुरको कटारी नगरपालिका वडा नम्बर १० तिल्केचौर बस्ती पहिरोको उच्च जोखिममा परेको हो । 

 

बस्तीमाथिको जमिन धाजा परेर भासिँदै गएपछि तिल्केचौर पहिरोको उच्च जोखिममा रहेको छ । बस्तीभन्दा करिब २०० मिटरमाथि लामो धाँजा परेर जमिन भासिएको छ । जमिन भासिँदै जाँदा तिल्केचौरका १३ परिवार त्रासमा छन् ।

 

जमिन भासिँदा स्थानीय डाकबहादुर थापा, दिलबहादुर थापा, बालकृष्ण थापा, मानकुमारी कार्की, मीनबहादुर थापा, भूपेन्द्र बगाले थापा, केशब बस्नेत, लालबहादुर थापा, यज्ञबहादुर थापा, दुर्गाबहादुर थापा, रमेश थापा, लीलबहादुर थापा र अशोक विष्टको घर उच्च जोखिममा रहेको वडा नम्बर १० का वडाध्यक्ष लीलानाथ भट्टराईले जानकारी दिए ।

 

‘तिल्केचौरमा १३ घर रहेको बस्ती जताततै भासिएको छ,’ वडाध्यक्ष भट्टराईले भने, ‘त्यसमध्ये पनि बालकृष्ण, डाकबहादुर, मीनबहादुर, यज्ञबहादुर र भूपेन्द्रको घर पूर्ण जोखिममा छ ।’ बस्तीभन्दा माथिबाटै जमिन भासिएकाले पहिरोको जोखिम बढेको उनले बताए ।

 

‘जमिन भासिँदा सिंगो बस्ती पहिरोको उच्च जोखिममा छ,’ वडा सदस्यसमेत रहेका दिलबहादुर थापाले भने, बर्खाअघि नै पानी परिरहेका कारण पहिरोको उच्च जोखिम बढेको हो ।’ कुनै पनि समय पहिरो जान सक्ने अवस्था रहेको उनले जानकारी दिए ।

 

केही दिनअघिको नगर कार्यपालिका बैठकले वडा नम्बर १० मा १३ घर धुरी विस्थापित हुने अवस्थामा पुगेकाले भूगर्भविद् झिकाएर बस्न नसक्ने अवस्था आए नगरपालिकाले उपयुक्त स्थानमा बसोबासको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

 

झरी परेकाले तिल्केचौरबासी अहिले त्रासमा छन् । नगरपालिकाले तत्काल भूगर्भविद् झिकाएर अध्यायन गराउने अवस्थासमेत कोरोना कहरले सम्भब छैन । तिल्केचौरबासीमा एकतिर कोरोना कहर र अर्कातिर पहिरोको त्रास कायम रहेको वडाध्यक्ष भट्टराई सुनाउँछन् ।नगरपालिकाले भूर्गभविद् ल्याउने निर्णयसँगै बस्ती स्थानान्तरणका लागि सुरक्षित स्थानको खोजी गरिरहेको जनाएको छ ।