close

अस्पतालकाे सेवा प्रभावकारी बनाउन उच्चस्तरीय समिति

प्रतिवेदन बुझाउन समितिलाई चार दिनकाे समयसीमा

अस्पतालकाे सेवा प्रभावकारी बनाउन उच्चस्तरीय समिति

प्रतिवेदन बुझाउन समितिलाई चार दिनकाे समयसीमा

Trulli
ADVERTISEMENT

धनुषा- प्रादेशिक अस्पताल जनकपुरधामको समग्र सेवा सुविधासम्बन्धी प्रतिवेदन तयार गर्न प्रदेश सरकारले उच्चस्तरीय तीन सदस्यीय समिति गठन गरेको छ । अस्पतालबाट प्रवाह हुने सेवा सुविधामा समस्या रहेको जनगुनासो बढेपछि मुख्यमन्त्री लालबाबु राउतले उक्त निर्णय गरेका हुन् ।

 

अस्पतालको अवस्थाबारे जानकारी लिन सरोकारवालासहित अस्पतालका वरिष्ठ चिकित्सकलाई मुख्यमन्त्री राउतले अस्पताल कहिलेसम्म र कसरी सुध्रिने भन्ने प्रश्नको जवाफ मागेका थिए । मुख्यमन्त्रीको प्रश्नमा मेडिकल सुपरिटेन्डेन्ट लगायतका चिकित्सकले अस्पतालको वर्तमान समस्या र त्यसका समाधानका उपायबारे आ-आफनो धारणा राखेका थिए ।

 

चिकित्सकहरूले दिएको सुझावहरू सङ्कलन गर्दै अस्पतालको समग्र सुधारका भावी कार्ययोजनासम्बन्धी प्रतिवेदन तयार गर्न प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.रामकेवल साहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।

 

सामाजिक विकास मन्त्रालयका सचिव इमनारायण श्रेष्ठ र प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा सदस्य रहेको उक्त समितिलाई अस्पतालका वरिष्ठ चिकित्सकको सल्लाहमा प्रतिवेदन तयार गर्ने  जिम्मेवारी दिइएको छ । चार दिन समयसीमा पाएको समितिले अस्पतालको उपचार, कर्मचारी व्यवस्थापन, प्रतिष्ठानअन्तर्गत गएपछि गरिनुपर्ने संरचनागत परिवर्तनलगायत अन्य सुविधालाई समेटेर प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएको छ ।