close

उदयपुरका स्थानीय सरकारको बजेट ३ अर्ब ५९ करोड नजिक

उदयपुरका स्थानीय सरकारको बजेट ३ अर्ब ५९ करोड नजिक

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरका ८ वटा स्थानीय तहका निम्ति सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ मा ३ अर्ब ५८ करोड ४९ लाख रुपैयाँ विनियोजन गरेको छ । संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी ४ प्रकारका अनुदान प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।

 

उदयपुरका ४ नगरपालिका र ४ गाउँपालिका गरी ३ अर्ब ५८ करोड ४९ लाख बजेट विनियोजन भएको हो । ४ वटा नगरपालिकामा २ अर्ब २५ करोड १७ लाख विनियोजन भएको छ भने गाउँपालिकामा १ अर्ब ३३ करोड ३२ लाख रुपैयाँ विनियोजन भएको छ ।

 

उदयपुरमा सबैभन्दा बढी त्रियुगा नगरपालिकामा बजेट विनियोजन भएको छ । नगरपालिकामध्ये सबैभन्दा कम बेलका नगरपालिकामा बजेट विनियोजन भएको छ । गाउँपालिकामध्ये सबैभन्दा बढी उदयपुरगढीमा बजेट विनियोजन भएको छ भने सबैभन्दा कम लिम्चुङबुङले पाएको छ ।

 

उदयपुरमा कुन पालिकामा कति बजेट ?

 

त्रियुगा नगरपालिकामा वित्तीय समानीकरण अनुदान शीर्षकअन्तर्गत २२ करोड २५ लाख र ससर्त अनुदान शीर्षकअन्तर्गत ५२ करोड ८० लाख, विशेष अनुदान २ करोड ४९ लाख र समपुरक अनुदान पुँजीगततर्फ १ करोड ५३ लाख गरी ७९ करोड ७ लाख विनियोजन भएको
छ । चालू आर्थिक वर्षको तुलनामा २० करोड बढी हो ।

 

बेलका नगरपालिकामा वित्तीय समानीकरण अनुदान शीर्षकअन्तर्गत १३ करोड ८३ लाख, ससर्त अनुदान शीर्षकअन्तर्गत २९ करोड ४ लाख, विशेष अनुदानतर्फ २ करोड ४९ लाख र समपुरक अनुदान पुँजीगततर्फ २ करोड ८ लाख गरी ४८ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । चालू आर्थिक वर्षको भन्दा १६ करोड रुपैयाँ बढी हो ।

 

चौदण्डीगढी नगरपालिकामा वित्तीय समानीकरण अनुदान शीर्षकअन्तर्गत १५ करोड ६ लाख, ससर्त अनुदान शीर्षकअन्तर्गत ३१ करोड ९३ लाख र विशेष अनुदानतर्फ १ करोड २५ लाख गरी ४८ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । विनियोजित बजेटमध्ये बेलका नगरपालिकाको बजेटको तुलनामा ३ करोड रुपैयाँ कम हो । चालू आर्थिक वर्षको भन्दा करिब ९ करोड बढी हो ।

 

कटारी नगरपालिकामा वित्तीय समानीकरण अनुदान शीर्षकअन्तर्गत ११ करोड ५५ लाख, ससर्त अनुदान शीर्षकअन्तर्गत ३८ करोड ४ लाख गरी ४९ करोड ५९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । चालू आर्थिक वर्षको भन्दा ९ करोड ६५ लाख रुपैयाँ मात्रै बढी हो ।

 

उदयपुरगढी गाउँपालिकामा वित्तीय समानीकरण अनुदान शीर्षकअन्तर्गत १६ करोड ४ लाख, ससर्त अनुदान शीर्षकअन्तर्गत २५ करोड ४३ लाख गरी ४१ करोड ४७ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । चालू आर्थिक वर्षको भन्दा ८ करोड ३६ लाख रुपैयाँ बढी हो ।

 

ताप्ली गाउँपालिकामा वित्तीय समानीकरण अनुदान शीर्षकअन्तर्गत ७ करोड ९४ लाख, ससर्त अनुदान शीर्षक अन्तर्गत १६ करोड ४६ लाख, विशेष अनुदानतर्फ १ करोड ३७ लाख र समपुरक अनुदान पुँजीगततर्फ ५६ करोड गरी २६ करोड ३३ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । चालू आर्थिक वर्षको तुलनामा ६ करोड ६० लाख रुपैयाँ बढी हो ।

 

रौतामाई गाउँपालिकामा वित्तीय समानीकरण अनुदान शीर्षकअन्तर्गत १० करोड १९ लाख, ससर्त अनुदान शीर्षकअन्तर्गत २५ करोड ६७ लाख, विशेष अनुदानतर्फ १ करोड ४९ लाख र समपुरक अनुदान पुँजीगततर्फ २ करोड ४८ लाख गरी ३९ करोड ८३ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । चालू आर्थिक वर्षको तुलनामा १२ करोड १५ लाख रुपैयाँ बढी हो ।

 

लिम्चुङबुङ गाउँपालिकामा वित्तीय समानीकरण अनुदान शीर्षकअन्तर्गत ७ करोड ३२ लाख, ससर्त अनुदान शीर्षकअन्तर्गत १४ करोड ६३ लाख, विशेष अनुदानतर्फ २ करोड ४९ लाख र समपुरक अनुदान पुँजीगततर्फ १ करोड २५ लाख गरी २५ करोड ६९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । चालू आर्थिक वर्षको तुलनामा ७ करोड २४ लाख रुपैयाँ बढी रहेको छ ।