काेराेना र सन्तानले थिचेका 'अभागी बाउ' !


  • change font
  • change font
  • change font

महोत्तरी- तराईको टन्टलापुर घाम । हुनेखानेहरू एसी, पंखामा बसिरहेका हुन्छन् । दैनिक गर्जो टार्नेहरूलाई भने हातैले पसिना पुछ्दै बस्नुपर्ने बाध्यता हुन्छ ।  मजदुरी गरेर भरपेट चलाउँदै आएका एक वृद्ध वर्षौंदेखि छोराको खोजीमा भौतारिरहेका छन ।

 

खुट्टा खोच्याएर हिँडदा उनलाई हिँडडुल गर्न पनि समस्या छ । हातमा मोबाइल बोकेका छन् । मोबाइलमा घरी-घरी नियाल्छन् । लाग्छ, उनले मोबाइलबाट केही देखाउन खोज्दै छन् ।

 

नजिकै आएर उनले मोबाइल खोले र एक अधबैंसे पुरुषको फोटो देखाए । उनले भने, ‘यो मेरो छोरा हो अनि म अभागी बाउ !’

 

उनले आफ्नो परिचय आफैले दिए- नाम चतुरमान विक । घर-महोत्तरी बर्दिबास वडा नम्बर ३ । ‘मेरो छोरा नरबहादुर विक हो । हराएको ५ वर्ष भयो । अहिलेसम्म फेला परेन’, वृद्ध निराश सुनिन्छन् । 


हरेक वाबु-आमाको सपना छोराछोरीले राम्रो गरुन् र बुढेसकालको सहारा बनून् । तर, भनेको कहाँ हुन्छ ! कतिपय घटनाले बाबु-आमाहरूलाई छोराछोरीप्रतिको अपेक्षामाथि पत्यार नै लाग्न छाडेको छ । कहिले छोराबुहारीकै कारण घर छाडनुपर्ने, कहिले सम्पत्तिकै लागि वृद्धाश्रममा पुग्नुपर्ने बाध्यता छ, समाजमा ।

 


भोक-भोकै बसेर भए पनि छोराछोरीलाई पालनपोषण, शिक्षादीक्षा दिलाउन कठिन संघर्ष गरेका जोकोही बाबु-आमाहरूका घरघरमा छुट्टाछुट्टै कथा-व्यथा असरल्ल छन् ।

 

यस्तै कथा बनेको छ, ६५ वर्षीय चतुरमान विकको पनि । आर्थिक स्थिति कमजोर भएका चतुरमानलाई औसत बाबु-आमाले जस्तै आफ्ना छोरा नरबहादुर विकलाई हुर्काउन, बढाउन निकै कष्ट गर्नुपर्‍यो । 

 

उमेर हुँदासम्म विकलाई न हराएको छोराको सम्झना आयो, न त भविष्यबारे । काम गरिन्छ, खाइन्छ भन्दाभन्दै विकलाई बुढ्यौलीले छोएको पत्तै भएन ।


उमेरसँगै शारीरिक रूपमा समेत असक्त बन्दै गएपछि आजकाल ५ वर्षदेखि हराएको छोराको यादले भतभति पोल्न थालेको छ, बाबुलाई ।

 

‘बुढेसकालको सहारा भन्थे । यही उमेरमा महसुस हुँदो रहेछ । अहिले मलाइ यस्तै महसुस भएको छ’, विकले भने ।


दाउरा बेचेरै भए पनि चतुरमानले छोरा नरबहादुरलाइ शिक्षा दिन खुब मिहिनेत गरे । पढेर ठूलो मान्छे बनिदेओस्, पारिवारिक मनमर्दनमा अग्रणी बनोस् । 


अर्थात्, आफुले भोगेको जिन्दगीभन्दा छोराको जिन्दगी फरक बनिदेओस् भन्ने शुभेच्छा चतुरमान दम्पतीले सधैँ सजाइराखे ।

 

तर, चतुरमान दम्पतीले सजाएको आशा र भरोसा एकपछि अर्को गर्दै टुक्रिँदै गयो । छोरा नरबहादुरले आँखै अगाडि ३ वटा विवाह गरे । श्रीमतीको लफडामै परेर १ दशक बिताइसकेपछि ५ वर्षदेखि नरबहादुर बेपत्ता भए । 

 

पेसाले नरबहादुर ड्राइभर थिए । गाउँमा ट्रयाक्टर, ट्रक चलाउनेदेखि ड्राइभिङसम्बन्धी सम्पूर्ण काम गर्दै आएका थिए । 


चतुरमान दम्पतीमा श्रीमतीहरूको विवाद मिलाइसकेपछि छोराले अब केही गर्ला भन्ने आश हुर्कंदै गयो । तर, ५ वर्षदेखि छोरा बेपत्ता भएपछि उनीहरू को आशा, भरोसा भताभुंग भएको छ ।

 

छोरालाई ड्राइभर बनाउन चतुरमान दम्पतीको मिहिनेत खर्चिएको थियो । जिन्दगीमा सम्पत्तिको नाममा जोडेको करिब १ तोलाको सुनै बेचेर लाइसेन्स निकालिदिँदाको क्षण अहिले पनि चतुरमानलाई झलझली याद आइरहन्छ ।

 

बर्दिबास वडा नम्बर ३ पाटुका चतुरमान पुराना बासिन्दा हुन् । केही वर्षअघिसम्म विकसँग २-४ कठ्ठा घरघडेरी पनि थियो । तर, छोराछोरीकै आवश्यक्ता पूर्ति गर्ने क्रममा विकले ३ कठ्ठा जग्गासमेत बेच्नुपर्‍यो । अहिले विकको नाममा जग्गा छैन । केवल घर बसालेको १ कठ्ठा ओलानी जग्गा । 

 

वर्षौंदेखि गोठमा गुजारा गर्दै आएका चतुरमान दम्पतीले छोरा हुर्किएर काम गर्न थालेपछि टिनको छाना भएको सानो घर बनाउला कि भन्ने आशा पनि थियो । तर, एक्कासि छोरै हराएपछि त्यो उनीहरूका लागि एकादेशको कथा बनिदियो । 


जनता आवासअन्तर्गत प्रदेश सरकारले छुट्टै बसेकी बुहारी मेनुका विकका लागि गत वर्ष २ वटा २ कोठे घर करिब ३ लाख रुपैयाँमा बनाइदियो । अहिले उनीहरूले गोठबाट भने मुक्ति पाएका छन् ।


‘घरले मात्र खान पुग्दो रहेनछ हजुर । पैसा नभई केही हुँदो रहेनछ । अब हामी बूढाबूढी भयौँ । काम गर्न सक्दैनौँ । त्यसैले बेपत्ता छोरा आइदिए हुन्थ्यो भन्ने आशा लाग्छ,’ चतुरमानले भने । चतुरमानले सानो मोबाइल सधैँ साथमा राख्ने गर्छन् । छोराले बुबा के छ हालखबर भनेर सोधी पो हाल्छ कि भनेर । 


चारैतिर कोरोना महामारी छ । चतुरमान पनि कोरोनाले कति मान्छे मरे, कति निको भए, अहिले अवस्था कस्तो छ भन्ने विषयमा त्यही मोबाइलबाट दिनहँु रेडियो सुनिरहन्छन् । 


‘मान्छे मरेको समाचार सुन्दासुन्दै नराम्रो लागेर आउँछ । मलाई पनि जिउ दुख्ने, ज्वरो आउने भइरहेको थियो । धेरै डर लाग्छ । २-४ वर्ष बाँच्नै पाए हुन्थ्यो भन्ने लाग्छ । काम नगरी ओछ्यानमै थलिँदा छोराको खुब याद आउँछ’, चतुरमान दुखी सुनिए ।

 

अचेल चतुरमान रोगले भन्दा पनि त्रासले बिरामी बनेका छन् । ‘घरमा छोरा छैन । फोन गरौँ अत्तोपत्तो छैन । भोलि कोरोना लाग्यो भने कसरी पो बाँच्ने होला भनेर यो छोराको खुब याद गरिरहेको छु’, चतुरमानले भने ।


चतुरमान जनता आवासअन्तर्गत प्रदेश सरकारले बनाइदिएको घरमा श्रीमतीसँगै बस्दै आएका छन । उनकी श्रीमती पनि उमेरले डाँडा काट्दै छन् । दुवै जना काम गर्न सक्ने अवस्थामा छैनन् ।


घरमा जग्गाजमिन नहुँदा उनीहरूलाई रोगभन्दा पनि भोकको समस्याले पिरोल्दै गएको छ । कोरोना महामारीले सबै बन्द हुँदा अहिले चतुरमान दम्पतीलाई बिहान-बेलुका छाक कसरी टार्ने भन्ने पिरलो छ ।