close

बेलचौताराको आइसोलेसनलाई शुक्लागण्डकी जेसिजले दियो अक्सिजन 

बेलचौताराको आइसोलेसनलाई शुक्लागण्डकी जेसिजले दियो अक्सिजन 

Trulli
ADVERTISEMENT

तनहुँ- कोरोना संक्रमितले अक्सिजन अभावमा मृत्युवरण गर्न नपरोस् भन्दै शुक्लागण्डकी जेसिजले आइसोलेसनलाई अक्सिजन सहयोग गरेको छ ।


जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आइसोलेसनलाई २५ वटा ठूलो सिलिन्डरमा अक्सिजन भरेर सहयोग गरेको शुक्लागण्डकी जेसिजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले बताए । पोखरास्थित कालीगण्डकी अक्सिजन प्रालिबाट अक्सिजन भरेर ल्याइएको हो ।


कोरोनाले मुलुक संकटमा फसेका बेला नियन्त्रणका लागि सबैले आ-आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनी बताउँछिन् । उनले भने, ‘सक्नेले आर्थिक सहयोग गरौँ । नसक्नेले घरमै बसेर निषेधाज्ञा पालना गरी कोरोना नियन्त्रणमा सघाऔँ ।’ 

 

यो समय अक्सिजनको ठूलो महत्त्व रहेको अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले बताए । अस्पतालमा रहेको आइसोलेसनलाई सरकारसँगै सामाजिक संघ-संस्थाले पनि अक्सिजन सहयोग गर्न थालेको उनले जानकारी दिए । 

 

वैशाख तेस्रो साता अस्पतालले आइसोलेसन सञ्चालनमा ल्याउँदा ८ वटा ठूला र २४ वटा साना अक्सिजन सिलिन्डर थिए । डा. श्रेष्ठका अनुसार हाल ४८ वटा ठूलो अक्सिजनका सिलिन्डर थपिएका छन् ।

 

दोस्रो लहरको कोरोनाको महामारी फैलिएपछि तनहुँका १० वटै स्थानीय तह मिलेर बनाइदिएको भवनमा अस्पतालले ३० बेडको आइसोलेसन सञ्चालन ल्याएको छ । प्रत्येक बेडमा अक्सिजन पाइप जडान गरिएको छ ।


जिपीको आइसोलेसनमा हालमा २६ जना संक्रमित उपचाररत छन् । श्वासप्रश्वासका समस्या भएर अक्सिजन दिनुपर्ने अवस्थाका संक्रमितलाई मात्रै यहाँको आइसोलेसनमा राख्ने गरिन्छ ।